गत कात्तिकको अन्तिम साता एसिया प्यासिफिक पिस रिसर्च एशोसिएसन्को निमन्त्रणामा थाइल्याण्डको राजधानी बैंकक जाने अवसर मिल्यो। कार्यक्रमको टुङ्गो लाग्ने बित्तिकै मैले बैंककको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय निजी अस्पताल बमरुङगार्डको अवलोकन गर्ने चाहनाले नेपालस्थित अस्पतालको सम्र्पक कार्यालयमार्फत पहल गरें। १४ नोभेम्वरको दिन साढे १० बजे अस्पतालको भुई तल्लामा रहेको स्टारबक्स कफिसपमा भेटघाट तय गरिएको जानकारी मैलें बैंकक पुगेपछि इमेलमार्फत् पाएँ।
दिएकै समयमा त्यहाँ पुग्दा अस्पतालकी इन्टरनेशनल मार्केटिङ्ग म्यानेजर पोनटिवा सान्टिपोनविट स्टारबक्समा मलाई नै पर्खिरहेकी थिइन्। कफीसँगै मेरो अस्पताल भ्रमणको उद्देश्यबारे कुरा गरें। उनले अस्पतालका मार्केटिङ्ग डाइरेक्टर केनिथ मेजसँग पनि भेटको समय लिएकाले उनीपनि हाम्रो मिटिङ्गमा आउने कुरा बताइन।
एकैछिनमा केनिथ आइपुगेपछि हामी तीनैजना कफी पिउँदै कुरा गर्न थाल्यौं। अस्पतालबारे केनिथले भन्दै गए– १९८० मा केही चिकित्सकको पहलमा स्थापना भएको यो अस्पताल शुरुमा १५० शैयाको थियो। क्षमता वृद्धि गर्दै जाँदा अहिले ५३८ शैयाको पुर्याइएको छ। यो थाइल्याण्डको पहिलो प्राइभेट अस्पताल पनि रहेछ। तर अहिले पव्लिक लिमिटेड कम्पनी भएको छ। ८० प्रतिशत शैया सधै भरिने यस अस्पतालमा हरेक दिन ३ हजार बिरामीले ओपीडी सेवा लिने रहेछन्।
स्टार होटेलजस्तो सुविधासम्पन्न यो अस्पतालमा १२ सय चिकित्सक, ९ सय नर्ससहित ४ हजार ७ सय कर्मचारी पूर्णकालिन रहेछन्। ६० भन्दा बढी रोगको सुपरस्पेशियालिटि केन्द्र रहेको यस अस्पतालमा प्रायः पछिल्ला र अत्याधुनिक सर्जरी प्रविधिबाट बिरामी छिटो घर फर्कन सक्ने गरी उचित खर्चमा उपचार गरिरहेको कुरा केनिथले बताएका थिए।
अन्तर्राष्ट्रिय अस्पताल भएकाले त्यहाँ म पुग्दा धेरै रङ्ग र पहिरनका मानिस देखिरहेको थिएँ। केनिथ थप्दै गए– ‘२०१२ मा अस्पतालले ११ लाख बिरामीलाई सेवा दिएको थियो, जसमा १९० देशका ५ लाख २० हजार बिरामीले सेवा लिएका थिए।’ तीमध्ये २ हजार १ सय नेपाली बिरामीले पनि सेवा लिएको कुरा उनले छुटाएनन्।
२०१२ मा अस्पतालले ४ सय ६८ मिलियन (४६ करोड ८० लाख) अमेरिकी डलर करोवार गरेको रहेछ। यति ठूलो अन्तरराष्ट्रिय अस्पतालमा कति बिदेशी चिकित्सक कार्यरत छन् भन्ने मेरो प्रश्नमा केनिथले हाँसोसहित जवाफ दिए– १ जना मात्र जापानी चिकित्सक छन्। यहाँ ‘केस म्यानेजमेन्ट एण्ड कोअर्डिनेशन ग्रुप’ मा केही विदेशी चिकित्सक र नर्ससहित ५० देखि ६० जना रहेका छन् । जसले विदेशी बिरामीसँग उनिहरुकै भाषामा कुरा गर्छन्। तर उपचारमा आवद्ध चिकित्सक सबै थाई नै छन्। जो अन्तरराष्ट्रिय यूर्निभसिटीका उत्पादन, तालिम प्राप्त र अंग्रेजी बोल्ने छन्।
‘त्यसो भए यहाँ बिरामी किन आउने त ?’ केनिथलाई मैले प्रश्न गरें। उनले भने, ‘उत्कृष्ठ बिशेषज्ञ चिकित्सक, उत्कृष्ठ सेवा, तुुलनात्मक रुपमा सस्तो सेवा नै हाम्रो बलियो आधार भएकाले अन्र्तराष्ट्रिय बिरामीको रोजाई भएको हामीले महसुस गरेका छौं। यहाँ अमेरिकाभन्दा ५० प्रतिशत र सिंगापुरभन्दा ३० प्रतिशत सस्तो छ, गुणस्तर र सेवाका हिसावले यो अस्पताल महङ्गो छैन।’
१६ देशमा सम्पर्क कार्यालय रहेको यस अस्पतालमा १ सय ५० दोभाषे, प्राय देशका मेनु भएको रेष्टुरेन्ट, प्रार्थना कोठा, बिरामी र कुरुवाका लागि आवश्यक ट्राभल सेन्टर, बैंक, अपार्टमेन्ट, बुक सप, फुल पसल अस्पताल हाताभित्रै छन्। अस्पतालका विभिन्न डिर्पाटमेन्ट हेरेपछि अन्तर्राष्ट्रिय मार्केटिङ्ग म्यानेजर पोनटीवाले मलाई भिसा सेन्टरपनि पुर्याईन्। जहाँ बिरामी र कुरुवाको सेवाका लागि हरेक शनिवार अध्यागमन अधिकारी आई आवश्यकता अनुसार त्यही भिसा थपिदिने रहेछन्। ११ देखि २० तलासम्म अन्तर्राष्ट्रिय क्लिनिक सेन्टरको हरेक तलामा रजिष्ट्रेसन, क्यास काउण्टर र फार्मेसी उपलब्ध छन्।
करिब एक घण्टाको अस्पताल भ्रमणपछि मलाई नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना बारे याद आयो। नेपालका अस्पतालहरुको दृश्य सम्झदै यो सम्भावनालाई यथार्थमा बदल्न अझै धेरै कुरामा उदार हुनुपर्ने लाग्यो। त्यो अस्पताल निरीक्षण गर्दा नेपालका अस्पतालमा फोहर व्यवस्थापन, उच्च गुणस्तरीय सेवा, बिरामीलाई गर्नुपर्ने व्यवहार, पूर्णकालिन चिकित्सकको अभाव, सेवाको विश्वसनीयता, उपचार प्रक्रियाका जटिलता, बिरामी तथा डाक्टरबीच सञ्चार अभाव, लगानी, व्यवस्थापन, जनशक्ति, उपकरणलगायतका बारेमा मनमा निकै कुरा खेले।
उपचारमा खर्च गर्नसक्ने बिरामी नेपालमा कम भएपनि स्वास्थ्य पर्यटनको संभावना भने नेपालमा पनि निकै छन्। नेपालको भौगोलिक वातावरण, शुल्क र गुणस्तरीय चिकित्सकका कारण नेपालमा पनि धेरै संभावना रहेको मेरो अनुभव छ। थाइल्याण्डको स्वास्थ्य प्रणाली र व्यवस्थापनका बारेमा नेपालका अस्पतालले पाठ भने सिक्नुपर्छ। सेवालाई प्राथमिकतामा राखे सफल हुन सकिने उदाहरण थाइल्याण्डले सिकाएको छ।