काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमश सुधार आइरहेको वीर अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा शनिबार भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले सोमबार विज्ञप्ति निकालेको हो।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न छन्।
'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको र हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन्।
उनी यसअघि पनि बिरामी परेका थिए। केही दिन घरमा आराम गरेर निको भएपछि उनी नियमित काममा हिँडेका थिए।