सरकारी स्वामित्वमा सञ्चालित अस्पतालहरुमध्ये स्तरीय सेवा दिने अस्पतालको परिचय बनाएको छ, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले। यो अस्पतालबाट हरेक दिन ७० जनाभन्दा बढी नयाँ बच्चाले संसार देख्छन्। पछिल्लो तथ्यांक हेर्ने हो भने एक वर्षमा करिब २३ हजार बच्चाले यो अस्पतालमा जन्म लिन्छन्। प्रसूति मात्र नभएर स्त्रीसँग सम्बन्धित रोगहरुको पनि यो अस्पतालमा उपचार हुन्छ। अस्पतालको सेवा विस्तार, भइरहेका काम, समस्या र आगामी योजनाबारे अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमसँग स्वास्थ्य खबरका लागि कल्पना पौडेलले गरेको कुराकानी :
प्रसूति गृहको निर्देशक भएर आएपछि अस्पतालमा केके सुधार गर्नुभयो?
म यहाँ निर्देशक भएर आएपछि अस्पतालले दिने सेवाको गुणस्तरमा काम भयो। जस्तो अस्पतालमा फोहोरमैला व्यवस्थापन वैज्ञानिक तरिकाले गर्न सुरु गरियो।
अर्को, नेपालमा स्त्रीरोगको उपचारमा ल्याप्रोस्कोपी सेवा सुरु गर्यौँ। नेपालमा स्त्रीरोग उपचारमा ल्याप्रोस्कोपीको ठूलो भूमिका छ। जसबाट पाठेघर, डिम्बासय निकाल्ने लगायतको काम हुन्छ।
एक जना दाताले सात–आठ करोड रुपैयाँ पर्ने भवन दिनुभएको थियो, आफू जन्मेको अस्पताल भनेर। त्यसलाई हामीले स्त्रीरोग, प्रसूति, बालरोगको उपचारमा ओपिडी सेवा सुरु गरेका छाँै भैंसेपाटीमा। त्यहाँ ल्याब, अल्ट्रासाउन्ड सेवा पनि छ। त्यसलाई विस्तारित सेवाको रुपमा विस्तार गरेको छौँ।
त्यसबाहेक अस्पतालको आफ्नै जमिनमा टेस्टट्युब बेबी र प्रमाणपत्र तहको मिडवाइफ्री नर्सिङ कलेजका लागि ३० करोड रुपैयाँको लागतमा भवन निर्माण गरेका छौँ। त्यो सञ्चालन हुने क्रममा छ। मेमोग्राम, सिटीस्क्यान उपकरण ल्यायौँ। स्त्री क्यान्सरको सबैखाले उपचार यहाँबाट हुन्छ।
त्यसबाहेक शैक्षिक कार्यको रुपमा आफ्नै नर्सिङ कलेज सुरु गरेका छौँ। अनुसन्धानको कामलाई पनि प्राथमिकता राखेको छु।
तपाईं यसअघि पनि यो अस्पतालको निर्देशक बन्नुभएको थियो। लामो समयदेखि अस्पतालमा सेवा विस्तार गर्न केके समस्या छन्?
सबैभन्दा ठूलो समस्या यहाँ ठाउँको थियो। भूकम्पबाट यहाँको सबैभन्दा ठूलो भवन भत्कियो। २ सय ७० वेड चलिरहेको भवन भत्किँदा समस्या भयो। त्यसलाई पुनःनिर्माण गर्न तीन वर्ष लाग्यो। अहिले भवन बनिसकेर सेवा सञ्चालनमा ल्याएका छाँै। यही असार २७ गते औपचारिक उद्घाटन हुँदै छ। यति हुँदा पनि हामीलाई ठाउँ पुगेको छैन।
यो अस्पताल धेरै सुत्केरी गराउने अस्पतालमध्ये पर्छ। म चार वर्षअघि अस्पतालमा आउँदा वर्षमा १८ हजार डेलिभरी हुन्थ्यो। अहिले त्यो संख्या बढेर वर्षको २३ हजार पुगेको छ। यो ठूलो संख्या हो। ठूलो संख्यामा सुत्केरी हुने अस्पताल भएकाले हामीलाई थप जनशक्तिको अत्यन्तै खाँचो छ।
तालिमप्राप्त जनशक्तिका साथै बजेटको पनि कमी छ। जस्तो सरकारले यो वर्ष हामीलाई तलबभत्ता शीर्षकमा १६ करोड रुपैयाँ दिएको छ। अहिले तलब बढेको छ। त्यसलाई व्यवस्थापन गर्न अर्को १२ करोड रुपैयाँ चाहिन्छ। २८ करोड रुपैयाँ त तलबमै जान्छ।
थप रकम व्यवस्थापन गर्न ठूलो कुरा थिएन, यदि हामीले हाम्रो किसिमले शुल्क तोकेर सेवा दिने हो भने त ५० करोड रुपैयाँ पनि व्यवस्था हुन्छ। तर हामी त्यसो गर्न सक्दैनौँ। सरकारले शल्यक्रिया गरी सुत्केरी गराएवापत् सात हजार रुपैयाँ दिन्छ। तर १० हजार रुपैयाँ त अस्पतालकै खर्च हुन्छ। नर्मल डेलिभरी गराउँदा १५ सय रुपैयाँ दिन्छ। तर हाम्रै २५ सय रुपैयाँ खर्च हुन्छ। जति शल्यक्रिया, सुत्केरी गरायो उति घाटा छ। तर पनि मानिसले सेवा पाउन् भनेर काम गरिरहेका छौँ।
हामीले अस्पतालको आर्थिक भार अन्य तरिकाबाट कम गरिरहेका छौं। सटरहरु भाडामा दिएका छौं। अल्ट्रासाउन्ड, ल्याबमा पर्याप्त बिरामी छन्। त्यसबाट आम्दानी हुन्छ। नर्सिङ कलेजहरुबाट यहाँ विद्यार्थीहरु प्राक्टिकलका लागि आउँछन्। उनीहरुले पैसा तिर्छन्। यसरी आम्दानी हुन्छ। कुपन्डोलमा यस पटक मात्रै २९ वटा सटर बनाएर भाडाको प्रक्रिया सुरु गरेका छाँै। यी आम्दानीका स्रोतबाट हामीले डेलिभरीमा हुने रकमको कमी परिपूर्ति गर्छौं। यसैबाट तलबभत्ताको कमी पनि पूरा गर्छौं। म त चाहन्छु, सरकारले तलब भत्ताको पूरै रकम देओस्।
प्रसूति गृहमा कति सरकारी जनशक्ति छ, कुनकुन समूहका कति जनशक्ति आवश्यक छ?
हामीकहाँ आठ सय कर्मचारी छन्। तीमध्ये सरकारी कर्मचारी ६८ जना मात्र छन्। अरु सबै समितिका हुन्। यो अस्पतालमा दरबन्दी बन्दा ‘आइटी’को जमाना थिएन। अहिले आइटीबिना काम नै हुँदैन। अहिलेसम्म यहाँ आइटीसम्बन्धी जनशक्तिको कुनै दरबन्दी छैन।
वर्षको २३ हजार डेलिभरी हुने अस्पतालमा नर्सिङ स्टाफको कमी छ। पहिले ५० जनाको अल्ट्रासाउन्ड हुन्थ्यो। दरबन्दी पनि सोही अनुसार नै छ। तर अहिले दिनमा २ सय ५० भन्दा बढी अल्ट्रासाउन्ड हुन्छ तर सो अनुसार जनशक्ति छैन। हामीले सिटी स्क्यान, मेमोग्राम सेवा थपेका छौँ। तर जनशक्ति छैन। अब आमआरआई थप्ने प्रक्रियमा छौँ। ल्याबलाई स्तरोन्नोति गरेका छौँ। थप प्थाथोलोजिस्ट, टेक्निसिएन, टोक्नोलोजिस्टको दरबन्दी छैन। नर्सिङ कलेज चलाएका छाँै। हामीलाई स्नातकोत्तर, स्नातक गरेका शिक्षक चाहिएको छ तर दरबन्दी छैन। प्रशासनको राम्रो ज्ञान भएका कर्मचारी आवश्यक छ। अनुसन्धानमा काम गर्ने मान्छे चाहिन्छ।
अर्को महत्वपूर्ण कुरा, नेपालको सबैभन्दा धेरै डेलिभरी हुने अस्पतालमा चिकित्सकको दरबन्दी ३५ जना मात्र छ। अहिले १०० जनाभन्दा बढी छाँै। समितिबाट सेवा करारमा बाँकी चिकित्सक राखेका छौँ।
नेपालमा दक्ष प्रसूतिकर्मीको अवधारणा आइसकेको छ, त्यसका लागि पनि केही पहल गर्नुभएको छ?
अहिलेसम्म नर्सहरुले नै सेवा दिनुभएको छ। तर हामीलाई दक्ष प्रसूतिकर्मी आवश्यक छ। सो अनुसार नेपालमा यसको पढाइ पनि स्नातक तहको सुरु भइसकेको छ। पहिलो ब्याज हामीकहाँ प्राक्टिकलमा आइसक्नुभएको छ।
हाम्रो भनाइ के हो भने हामीलाई प्रमाणपत्र तह (पिसिएल)को दक्ष प्रसूतिकर्मी चाहिन्छ।
माथिल्लो तह पढेका जनशक्ति गाउँगाउँ गएर सेवा दिने क्रम घट्दो छ। धेरै विदेश पलायन हुने डर कायम छ। त्यसैले पिसिएल लेबलका मिडवाइफ अर्थात् दक्ष प्रसूतिकर्मी चाहिन्छ। त्यसको प्रस्ताव मन्त्रालयमा मैले नै राखेको थिएँ।
पिसिएल लेबलको मिडवाइफ कार्यक्रम सञ्चालन गर्ने अन्तिम चरणमा प्रसूति गृह छ। नेपाल नर्सिङ काउन्सिलबाट सहमति पाइसकेका छौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्वीकृति लिन बाँकी छ। त्यहाँबाट स्वीकृति पाउनासाथ भर्ना प्रक्रिया सुरु गर्छौँ। पहिलो ब्याजको मिडवाइफ्री कार्यक्रम सञ्चालनका लागि ३० सिट पाएका छौँ। कोर्ष डिजाइन, भवन, जनशक्ति तयार भइसकेको छ। हामीले दक्ष जनशक्ति उत्पादन गरेर उदाहरणको रुपमा देखाउन चाहन्छौँ।
टेस्टट्युव बेबी सेवा बन्द भएपछि धेरै निःसन्तान दम्पति सेवा पाउनबाट बन्चित हुनुभएको छ? यो सेवा कहिलेबाट सुरु हुन्छ?
दुर्भाग्य, २०७२ मा महाभूकम्प गयो। त्यसले गर्दा हामीले सेवा दिइरहेको भवन भत्कियो। भवन भत्किएपछि सेवा रोकियो। पछि हामीले ओपिडी भवनमा सेवा सञ्चालन गरेका थियाँै। तर दुई ब्याज सफल भएन। मापदन्ड र स्थान नपुगेर हो कि भनेर केही समय सेवा रोकिएको हो।
अहिले कुपन्डोलमा भवन तयार भइसकेको छ। एक जना चिकित्सक भारतको चेन्नइबाट फेलोसिप आउँदै हुनुहुन्छ। एकदुई हप्तामा आइपुग्नुहुन्छ।
दुईतीन महिनाभित्र कुपण्डोलबाट सेवा सुरु हुन्छ। २४सै घन्टा ३ सय ६५ दिन नै सेवा दिइने छ। यति ठूलो केन्द्रीय अस्पतालले सस्तो र गुणस्तरीय सेवा नदिए कसले दिन्छ? निजी अस्पतालमा यो सेवा महँगो हुन्छ। सस्तो र सुलभ सेवा दिन आन्तरिक तयारी पनि भइरहेको छ।
अस्पतालमा किशोरकिशोर मैत्री सेवा पनि सुरु भएको थियो, त्यो सेवा अहिले कसरी विस्तार भएको छ?
हामीले अस्पतालबाट किशोरकिशोरीको लागि विशेष सेवा दिइरहेका छौँ। सेवा मात्र होइन किशोरकिशोरीमैत्री सेवा दिने स्वास्थ्यकर्मीलाई तालिम पनि दिँदै आएका छौँ। अहिलेसम्म देशभरका ५० ब्याज स्वास्थ्यकर्मीलाई तालिम दिइसकेका छाँै। अहिले प्रदेशमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा दिन तालिम भइरहेको छ।
अस्पतालको बलियो पक्ष के हो?
यस अस्पतालको सबल पक्ष प्रसूति तथा स्त्रीरोग विभाग नै हो। जसको सिनियर मान्छे म नै हुँ। म आफैं स्त्रीरोग विशेषज्ञ हुँ। शल्यक्रिया पनि गर्छु। नेपालमा सरकारी अस्पतालमा ल्याप्रोस्कोपी शल्यक्रिया सुरु गर्ने व्यक्तिमध्ये एक हुँ। यो अस्पतालमा महिनामा १० जनाको ल्याप्रोस्कोपी शल्यक्रिया हुन्छ। यो सबैभन्दा बलियो पक्ष हो।
अन्य चिकित्सकलाई पनि तालिमका लागि बाहिर पठाएका छौँ। थप जनशक्ति उत्पादन गरिरहेका छौँ। पाँच–सात वर्षअघि ल्याप्रोस्कोपी सुन्नै पाइन्नथ्यो। अहिले सेवा दिइरहेका र्छौँ। आशा छ, केही वर्षपछि थोरै काटेर पाठेघरको शल्यक्रिया हुने अवस्था आउँछ। त्यसका लागि हामी तयारी गर्दैछौँ।
पछिल्लो समय शल्यक्रिया गरी सुत्केरी हुने क्रम बढेको छ। अस्पतालहरुले पनि नर्मलभन्दा शल्यक्रिया गरी सुत्केरी हुन उक्साउँछन् भनिन्छ। प्रसूति गृहमा पनि शल्यक्रिया गरी सुत्केरी हुने दर बढी छ नि?
नेपालमा मात्र होइन, संसारभर शल्यक्रिया गरी सुत्केरी हुने दर बढ्दो छ। नेपालमा यो क्रम बढेको पक्कै छ। केही समय पहिले र अहिले पनि कतिपय स्थानमा शल्यक्रियाको सुविधा नपाएर धेरै गर्भवतीले ज्यान गुमाउनुपरेको अवस्था छ। हाम्रो अस्पतालमा पहिले १६ प्रतिशतसम्म शल्यक्रिया हुन्थ्यो। अहिले २९ प्रतिशतले शल्यक्रिया गरी बच्चा जन्माउँछन्। अहिले जिल्लाजिल्लामा यो सेवा दिइन्छ। म के भन्छु भने, आज पनि यो सेवा नपाएर मर्ने महिलाको संख्या धेरै छ।
अर्को कुरा गर्भवती आफै पनि नर्मल डेलिभरी हुन चाहँदैनन्। उनीहरु सुत्केरी व्यथा सहन चाहँदैनन्। गर्भवती तयार भएपछि हामीले शल्यक्रिया गराउँनैपर्छ। हामीले बेस्ट सर्भिस दिएका छौँ। तर शल्यक्रियालाई कन्भिन्स गर्दैनाँै। हामीकहाँ शल्यक्रिया गराउने महिलाको संख्या २९ प्रतिशत छ, यो धेरै होइन। बिरामीले मागेअनुसार सेवा दिए त अझ बढ्छ।
केही २५ वर्ष अगाडि नेपाली बच्चाको सरदर तौल २ दशमलव ४९ किलोग्राम थियो। तर अहिले ३ दशमलव ४ केजी भएको छ। बच्चा ठूलो भएपछि शल्यक्रिया गरी बच्चा जन्माउने दर बढ्छ।
अस्पतालको फार्मेसीमा चिकित्सकले सिफारिस गरेका औषधि सबै हुँदैनन्। बाहिरका फार्मेसीमा महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। किन आवश्यक सबै औषधि राख्नुहुन्न?
अघिल्लो वर्ष यस्तो समस्या थियो, अहिले छैन। हामीले सुरुवाती वर्षमा कम आइटम राखेकै हो। त्यो समयमा अर्कै निर्देशक हुनुुुहुन्थ्यो। उहाँ सिक्दै पनि हुनुहुन्थ्यो। त्यसैले धेरै कुरामा उहाँलाई थाहा नहँुदा यस्तो समस्या भएकै हो। यो वर्ष त्यस्तो समस्या छैन। अर्को कुरा, बाहिरका हाम्रा भवनका सटरमा निजी औषधि पसल हटाएका छौँ। सुरुवाती वर्षमा हाम्रो दैनिक बिक्री ४० हजार थियो। अहिले दैनिक दुई लाख रुपैयाँ हुन्छ। अहिले फार्मेसीमा औषधि नपाइने समस्या छैन।
अस्पताल सुधारका लागि यहाँले सुरु गरेका अन्य काम केके हुन्?
हामीले बिरामीका आफन्तलाई सजिलो होस् भनेर कुरुवा घर बनायौँ। नयाँ भवन सञ्चालनमा ल्याइसकेकाले अब छिट्टै कुरुवा घर सञ्चालन हुने छ। भूकम्पपछि त्यहाँ अरु सेवा सञ्चालन भइरहेको थियो। अब त्यहाँका सेवा अन्यत्र सारेर कुरुवा घर नै सञ्चालन हुन्छ।
अहिले (प्राइभेट क्लिनिक) इएचएस सेवा पनि नियमित चलाएका छौँ। जसले नियमित सेवा लिन चाहँदैन, पैसा तिरेर सेवा लिन चाहन्छ, उनीहरुका लागि प्राइभेट क्लिनिक छ। स्वास्थ्य मन्त्रालयले यसको आउट लाइन बनाएपछि हामीले नियमति सेवा दिएका छौँ।
नयाँ भवन बनिसकेको अवस्थामा अब प्रसूति गृहले केके सेवा विस्तार गर्छ?
हाम्रो कन्सेप्ट अनुसार जाइकाले भवन बनाइदिएको छ। पहिले लेबर रुम एकातिर, शल्यक्रिया कक्ष अर्र्कैतिर थियो। त्यसले गर्दा समयको समस्याले लेबर रुमबाट ओटी सर्दासार्दै कतिले ज्यान गुमाउनुपर्ने अवस्था थियो। अहिले नयाँ भवनमा आकस्मिक कक्ष, त्यहाँ भित्र लेवर रुम छ। आकस्मिक शल्यक्रिया कक्ष छ। पोस्टअप वार्ड त्यहीँ बर्थिङ सेन्टर, एनआइसियु, आमआइसियु, स्पेसल, बेबी केयर युनिट र अडिटोरियम छ। त्यहाँ नै ब्लड बैंक छ। आकस्मिक ल्याब छ। अर्थात् सबै सेवा एकै भवनमा छ।
हाम्रो अस्पताल ४ सय शय्याको हो। तर भवन भत्किएपछि ३ सय ५० मा झरेको थियो। हामीले करिडोर बारेर, शैक्षिक भवनमा पनि सेवा सञ्चालन गरेका थियौँ। नयाँ भवनमा अब ४ सय १५ बेडको स्वीकृति हो। यसलाई ५ सय शय्या पु¥याउने प्रक्रियामा छौँ। ५ सय सय भएपछि हाम्रो आवश्यकता पूरा हुनसक्छ। त्यसका लागि मन्त्रालयसँग कुरा भइरहेको छ।
अब एनआइसियु १८ बाट बढाएर ४० शय्या बनाउँदै छौँ। एमआइसियु ६ बेड थियो १२ बनाउँदैछौँ। एन्टिनेटल वार्डमा १५ वेड थियो ४५ वेड बनाउँदै छौं। शल्यक्रिया कक्ष एउटै थियो। सुत्केरी र स्त्री रोगको उपचारका लागि एउटै थियो। अब छुट्याएका छौँ। आकस्मिक शल्यक्रिया कक्ष बनाएका छौँ।
सेवा विस्तार भएपछि अहिलेका कर्मचारीले पुग्दैन। राम्रोसँग चलाउन अस्पतालको पुनर्संरचना गर्नुपर्छ। राज्यले आफ्नो दायित्व बढाएर कर्मचारी संख्या बढाउँदै जानुपर्छ। लोकसेवाबाटै स्थायी कर्मचारी राख्नुपर्छ। समितिले राखेका कर्मचारीलाई पनि स्थायी बनाउने प्रक्रियामा जानुपर्छ।
केही थप कर्मचारी करारमा राखेर पनि भए पनि सेवा सञ्चालन गर्न गर्छौँ। आशा छ, सरकारले पनि थप सहयोग गर्छ।