काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले उपभोक्ता अदालतबाट उपचारका विषयलाई लिएर भइरहेको आदेश एकपक्षीय भएको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ।
संघले बुधबार न्याय परिषद्को सचिवालयलाई पत्र बुझाउँदै उपभोक्ता अदालतको निर्णय गलत मनसायबाट अघि बढेको भन्दै ध्यानाकर्षण गराएको हो।
संघका अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुलीद्वारा हस्ताक्षरीत उक्त पत्रमा मुख्य प्रमाणहरु बिना नै एकपक्षीय आदेशहरु आएको उल्लेख छ।
पत्रमा आफ्नो अधिकार क्षेत्र भित्र रहेर अदालतले गरेको निर्णयहरु पूर्ण रुपमा न्याय प्रदान गर्ने उद्देश्य सहितको हुनुपर्छ भन्नेमा संघ स्पष्ट रहेको भन्दै तर पछिल्ला फैसलाहरुले चिकित्सकको संविधान प्रद्धत्त मौलिक हकहरु धारा १६ (सम्मानपूर्वक बाच्न पाउने हक) र धारा १८ (समानताको हक) हनन् भएको बताएको छ । उसले फैसलाकै कारण नेपाली चिकित्सकहरु स्वास्थ्य सेवा प्रदान गर्ने वा नगर्ने दोधारमा परेको समेत पत्रमा उल्लेख छ।
बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मी, फार्मेसिष्ट तथा रेडियोग्राफर लगायत सबैको भूमिका हुने भन्दै चिकित्सकलाई मात्रै गल्ती देखाएर क्षतिपूर्तिको अदालतबाट आदेश हुनु आश्चय रहेको पनि पत्रमा उल्लेख छ।