स्वास्थ्य संस्थामा बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक जनशक्तिहरु के-के हुन्? सबैतिरबाट सहजै उत्तर आउँछ- अनुभवी डाक्टर, तालिमप्राप्त नर्स र केही पारामेडिक्स स्टाफ। यस प्रश्नको अझै विस्तृत जवाफ अपेक्षा गरियो भने जवाफ आउँछ- अनुभवी डाक्टर, तालिमप्राप्त नर्स, केही पारामेडिक्स स्टाफ, एक्स-रे तथा ल्याब प्राविधिक र सरसफाई गर्ने सहयोगी स्टाफ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नभई नहुने जनशक्ति बिएमइटी/बिएमई (बायोमेडिकल उपकरण मर्मत तथा सञ्चालन गर्ने जनशक्ति) लाई न त सर्वसाधारणले नै सम्झन्छन्, न त सरकारी पक्षले नै अत्यावश्यक ठान्छ।
बायोमेडिकल उपकरण भन्नाले स्वास्थ्य संस्थामा बिरामीको रोग पहिचान गर्न प्रयोग गरिने साधारण उपकरणहरु जस्तो बिपी सेट, पल्स अक्सिमिटरदेखि लिएर बिरामीको ज्यान समेत बचाउने भेन्टिलेटरदेखि अपरेसन कक्षमा प्रयोग हुने ठूला र महँगा उपकरणसम्म पर्छन्। यसरी हेर्दा स्वास्थ्य संस्थामा बिरामीको अवस्थामा रोग पत्ता लगाउन र रोग अनुसारको उपचार गर्न समेत बायोमेडिकल उपकरणकै भर पर्नुपर्ने हुन्छ।
तर, हामीले बिरामीको स्वास्थ्य अवस्था पत्ता लगाउन र सोही अनुसारको उपचार गर्न प्रयोग गर्ने उपकरण चाहिँ कतिको स्वस्थ छ भन्ने कुरामा कहिल्यै चासो दिएको छौं?
उदाहरणको लागि प्रयोगशालामा प्रयोग हुने विभिन्न एनालाइजर उपकरणहरु राम्रो अवस्थामा नभएर सही रिपोर्ट आएन भने सोही रिपोर्टअनुसार गरिएको उपचारले बिरामीको स्वास्थ्य सुधार त हुँदैन, उल्टै ज्यान समेत तलमाथि पर्न सक्छ।
अर्को उदाहरण- उमेर नपुगी जन्मिएका बच्चालाई आमाको पेटभित्र रहँदाको जस्तै वातावरण कायम राख्न र बच्चाको विकासको लागि हामी बेबी इन्क्युबेटर नामक उपकरणभित्र बच्चालाई राख्ने गर्छौँ। यदि त्यो उपकरणले तोकिए बमोजिमको वातावरण सिर्जना गर्न सकेन भने बच्चाको ज्यान समेत जान सक्छ। त्यसैले अस्पतालका उपकरण सही अवस्थामा हुनु जरुरी छ।
नेपालका स्वास्थ्य संस्थामा रहेका उपकरणहरु आफैं कति स्वस्थ छन् त? समयसमयमा उपकरणहरुको चेकजाँच, मर्मत तथा उपकरणले दिने नतिजाको भेरिफिकेसन हुनुपर्छ। यी सबै कार्य गर्नका लागि स्वास्थ्य संस्थामा यससम्बन्धी ज्ञान, सिप र योग्यता भएका दक्ष प्राविधिकहरु (बायोमेडिकल इन्जिनियरिङ टेक्निसियन र इन्जिरियरहरु) हुनुपर्छ। तर बिडम्वना नेपालका १० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थामा मात्र सरकारी दरबन्दी खुलाई नियुक्ति गरिएको छ।
सरकारी क्षेत्रबाट उपेक्षामा परेको बायोमेडिकल जनशक्तिलाई केही करार पदपूर्ति गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास निजी क्षेत्रबाट भएको छ। निक साइमन इन्स्टिच्युट नामक एक गैरसरकारी संस्था र मिसन अस्पतालहरुले केही प्राविधिक जनशक्ति (बिएमइटी) नियुक्त गरे पनि अस्पतालहरु, बिरामीको चाप र उपकरणको अनुपातका हेर्ने हो भने सो संख्या एकदमै कम हुन आउँछ।
एकातिर बायोमेडिकल जनशक्ति भएकामध्ये २० प्रतिशतभन्दा धेरै सरकारी अस्पतालमा सुविधासम्पन्न बायोमेडिकल कक्ष नभएर तथा स्पेयर पार्टस खरिद र मर्मतका लागि वार्षिक बजेटको अभावमा उपकरण मर्मत हुन सकेको छैन। भएका जनशक्तिमा पनि सरकारी दरबन्दी नभएका कारण रोजगारीको लागि ५६ प्रतिशत प्राविधिकहरु उपत्यकाभित्र (निजी अस्पताल र सप्लायर्स) केन्द्रित रहेको तथ्यांक निक साइमन इन्स्टिच्युट र नेपाल स्वास्थ्य तालिम केन्द्रको अनुसन्धान प्रतिवेदनले बताउँछ।
यसरी सरकारी दरबन्दीको अभावमा धेरै प्राविधिकहरु काठमाडौँ केन्द्रित हुँदा देशका दूरदराजमा रहेका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित छन्।सरकारले पदपूर्ति गर्न सके थोरै लगानीमा पुराना बिग्रिएका उपकरणहरु मर्मत भई काम गर्न सक्ने हुदाँ नयाँ उपकरण खरिदमा राज्यकोषबाट भइरहेको करोडौं खर्चलाई समेत कम गर्न सकिन्छ। स्वास्थ्य र बायोमेडिकल क्षेत्रमा यति धेरै समस्या हुँदा पनि भएका प्राविधिक जनशक्तिलाई दरबन्दी सिर्जना गरी पदपूर्ती गर्नुभन्दा पनि सरकारी उपकरण मर्मतको जिम्मा निजी कम्पनीहरुलाई दिनु लज्जास्पद विषय हो।
त्यसैले सरकारी अस्पतालमा रहेका बायोमेडिकल उपकरणहरु चुस्त अवस्थामा राख्न नेपाल सरकार आफैंले तत्काल अस्पताल शय्या, उपकरणहरु र बिरामीको चापअनुसार अस्पतालको बायोमेडिकल प्राविधिक जनशक्तिको दरबन्दी सिर्जना गरी पदपूर्ति गर्नुपर्छ। तब मात्र सरकारले भन्ने गरेको गुणस्तरीय स्वास्थ्य सेवा र समृद्ध नेपाल, सुखी नेपाली सम्भव छ। अन्यथा सरकारी नारामा मात्र सीमित हुनेछ।
-(लेखक जिरी अस्पताल दोलखाका बायोमेडिकल इन्जिनियरिङ विभाग प्रमुख हुन्)