डा एलबि बस्नेत
सारा विश्वलाई, कोभिड-१९ ले अनौठो फुर्सद दिएको छ। एउटा अत्यन्त दुखद् फुर्सद्। कतिपयलाई सुखद् पनि होला। बहस चाहिएला ! यो फुर्सदमा इन्टरनेटको प्रयोग ह्वात्त बढेको छ। सामाजिक सञ्जाल धेरै नै प्रयोग हुँदैछ। यो ‘सामाजिक’ नै कति होला? बहस चाहिएला !
कोभिडबाट बच्न नजिक नहोऔं, ‘सोसल डिस्टान्सिङ्’ गरौं भनेका छन्।
‘सोसल डिस्टान्सिङ्’ नभनुँ, फिजिकल डिस्ट्यान्सिङ् भन्नुपर्छ पनि भनेका छन्। बहस चाहिएला!
यो ‘ब. चा.’ अर्थात् ‘बहस चाहिएला’ भन्ने प्रवृति कस्तो हो?
बुज्रुक हो कि उपबुज्रुक? ब. चा.!
कुन क्यटेगोरीको बुज्रुक? वा उपबुज्रुक? ब. चा.!
यत्रतत्र ब. चा. ! ब. चा. नै ब. चा. !
अब बाँच्नलाई पनि त सोच्न छोड्न भएन। सोच्न बन्द गरे मान्छे बाँच्दैन पनि भन्छन्। ब. चा. !
हरेक बिषयको हरेकजसो घटनामा सामाजिक भनिएको सञ्जालमा ‘ ब. चा.’ देखिन्छ।
यति धेरै बहसहरुको माग छ तर के समाजमा यति धेरै बहसहरु भइरहेका छन्? ‘सोध’ गर्छु। ‘शोध’ गर्छु ! यी त उही ‘सामाजिक’ सञ्जालका बहस हुन्। समाजमा कहाँ खोज्ने? समाजमा बहसहरु बिक्री हुँदैनन्। बहसका केही कार्यक्रमहरु बिक्री हुन्छन्। जनताकै बीचबाट बहसबाटै खारिएर आएका (यसमा ब.चा.!) पार्टीहरु समेत ब्यापार नै नहुने बहसमा सामेल छैनन्। सञ्जालतिर हनुमान, कटप्पा, अरिंगाल र छौंडाहरु आदि - इत्यादीले के कस्तो बहस गरिरहेका छन्? वास्तविक समाजको फेदीमा गएर सोधिहेर्नुस् ! पत्तो छैन !
समाजमा बहस छैन। ब. नचा.! (बहस नचाहिएला !)
ठिक छ ! कहीं न कहीं त छ नि बहस। सञ्जालको बहस पनि त समाजकै बहस हो नि !
हो वा होइन, ब. चा. ! किनभने यो सञ्जालमा जो-जो, जे-जे हो, त्यो वास्तविक जीवनमा मेल खान्छ? ब. चा. ! र, यदि मेल खाँदैन भने उसले मागिरहेको, गरिरहेको सञ्जालवाला त्यत्र बिधि बहस कसको हो? त्यस्ता बहसको परिणाम वा निस्कर्ष कस्तो हुने होला? ‘हुने होला’ किनभने यी प्राय: अधुरा हुन्छन् र प्रत्यकको अन्त्य ‘ब. चा.’ ले गरिन्छन्। ब. नचा. !
हाम्रा कतिपय बहसहरु मौलिक छन्। संसार आक्रान्त छ, कोरोना भाइरस बाट लाग्ने कोभिड - १९ ले ! ‘प्यान्डेमिक’ अर्थात् यो तीव्र गतिमा संसारभर फैलिंदै छ। तर हाम्रो बहसहरुको प्रकार हेरौं : नेपालमा कोरोना आउँछ वा आउँदैन? नेपालीको प्रतिरोधी क्षमता कडा छ वा छैन? बेसार, लसुन र कागती नै रामवाण हो वा होइन? पानीले धुने कि टिस्युले पुछ्ने?
यसबेला सोधिनु पर्ने प्रश्नहरु पनि उठेका छन् तर निकै कम।
जस्तो कि - हाम्रो तयारी पर्याप्त छ? स्वास्थ्यकर्मीहरु पर्याप्त छन्? साधनस्रोत नि?
अन्य देशमा स्वास्थ्यकर्मी समेत संक्रमित भए। संक्रमित मध्य इटालीमा करिब ८.३ प्रतिशत र चीनमा ३.८ प्रतिशत स्वास्थ्यकर्मीहरु रहेछन्। के नेपालमा स्वास्थ्यकर्मी जोगाउन चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पर्याप्त छन्? यी सबैमा बहस भइरहेका छन् र यी सबमा ‘सरकारी ब. चा.’ देखिन्छ। अर्थात् सरकार भन्छ - बहस चाहिएला ! निजि क्षेत्र कति तयार छ? भनेर सोध्नुस् ! त्यसमा पनि ‘ ब. चा.’ देखापर्छ।
हामी अरुको गल्तीबाट सिक्न सक्ने रहेनछौं। आफ्नो गल्तीबाट सिक्न सक्छौं? ब.चा. !
तर भूकम्पपछि बनेका संरचनाहरु देख्दा हामी आफ्नै गल्तीबाट पनि सिक्छौं भन्नेमा शंका छ। हाम्रा अनन्त बहसहरु ! चाहिएला भनेर कसका लागि र कहिलेसम्मलाई राखिएको होला ! यकिन छैन। कोही पनि गल्ती सुधार्न परको कुरा स्वीकार्न तयार छैनन्। हुँदैनन्। यसले गर्दा पनि यो ‘ब. चा.’ को अत्यधिक उत्पादन भएको हुनसक्छ। ब.चा. !
बैज्ञानिक खोज-अनुसन्धान र अर्थपूर्ण तर्कका कुरा भन्दा बेग्लै ‘बकवास’ वा ‘बुलसिट’हरुको उत्पत्ति हुन थालेपछी अचानक आइपुग्छ - ‘ब.चा.’ ! यसर्थ, उपयोग भन्नुस् वा दुरुपयोग ‘ब.चा.’ ले धेरैलाई बचाएको छ। किनभने, ‘अन बुलसिट’ भन्ने प्रसिद्ध निबन्धमार्फत् प्रिन्सटन विश्वबिद्यालयका प्राध्यापक ह्यारी फ्रान्कफर्टले भनेका छन् - ‘झुट र बकवास अलग कुरा हुन्। यी मध्य बकवास बढी हानिकारक छ किनभने बकवासलाई सत्यको कुनै पर्वाह हुँदैन’। हामीकहाँ झुट भन्दा धेरै बकवास हुनु ठुलो समस्या हो। ब. चा. !
कोभिड-१९ का बिरामी राख्ने भन्दै तयार गरिएका ‘आइसोलेसन वार्ड’, चुस्त दुरुस्त ल्याब संरचना आदि-इत्यादि लगायत हाम्रा खड्ग सरकारका जनताका नाममा गरिएका बयानहरु कुन सत्य, कुन झुट हो र कुन बकवास हो ! समयले बताउला !
जागृत हुँदै गरेको सपनालाई नियालेर हेर्नुस् त दुईतिहाईकै सरकारले तीन वर्ष नपुग्दै ३ मन्त्री र ५ सचिव फेर्नुबाट पनि बुझिन्छ। स्वास्थ्य क्षेत्रमा कायापलट नै भएको हुनसक्छ। यत्तिकै प्रधानमन्त्रीको मिर्गौला फेर्न सक्षम भएको हो र ! हो, अहिले आएर धेरै अस्पतालमा अपर्याप्त जनशक्ति देखिनु, त्यो पनि करारमा स्वास्थ्यकर्मी खोजिनु त्यो पनि ३ महिनाका लागि दस्तुर तिरेर आवेदन मागिनु अलिकति अनौठो नै हो ! यसबाट स्वास्थ्यकर्मीको मनोबल बढ्छ भनेर पनि बहस नै होला। यसमा ‘सरकारी ब. चा.’ देखापर्ला !
निजी क्षेत्रको मनोमानी बन्द गर, स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाऊ भन्नेहरु र स्वास्थ्य पद्दतिमा प्रश्न गर्नेहरु एकपछी अर्को सरकारका कसिंङ्गर भए। त्यसैपनि, प्रश्न गर्नेहरु भन्दा भनेको मान्ने मान्छे चाहिएको देखिन्छ जताततै। प्रश्न उठेपछि छानविन हुने र दोषीलाई दण्ड दिने थिती नै बसेन। हामीकहाँ त रंगेहात समातेर पनि बहस नै चलिरहन्छ। चाहे कसैले, जानाजान अस्पतालका भवनहरु अलपत्र पारेको नै किन नहोस्। कोभिड-१९ को महामारीको बेला वर्षौंदेखि अलपत्र भवनहरुको याद आउँछ। यी भवनहरुका उपर कसले कस्तो बहस गरिरहेको थियो होला?
यस्ता अनगिन्ती दण्डहिनताका कथा ‘कोभिड-१९’ को महामारी को बेला गर्न हुने वा नहुने? ब. चा.! तर यो महामारी त एकदिन गइजाला ! हाम्रो स्वास्थ्य पद्दतिलाई सिकिस्त बिरामी पार्ने ‘भ्रस्टाचारको महामारी’ जाला?
आज, अदृश्य भाइरसका बिरुद्ध, अदृश्य शक्तिको भरमा लड्न तयार हजारौं नेपाली स्वास्थ्यकर्मीलाई थाहा छ ! ‘भ्रस्टाचारको महामारी’ जाँदैन !
यस्तै-यस्तै नै रहनेछ।
बहस चाहिएला र? ब. नचा. !
(डा बस्नेतलाई ट्वीटरमा @nastikxy मा फलो गर्न सकिनेछ।)