जीवन घिमिरे
जुनसुकै संकटको बेलामा हामीलाई आधारभूत आवश्यकता पूरा गर्न समस्या पर्छ। अहिले हामी यस्तै एउटा संकटमा छौं, कोविडको महामारी। नेपालमा यो महामारीको असर देखिएको त छैन तर भन्न पनि सकिन्न। आजको दिनसम्म विश्वमा ३७ हजारको ज्यान गइसकेको र लाखौंको सङ्ख्यामा सङ्क्रमण देखिएको छ।
धेरै राम्रो स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत अहिले सकस परेको हामीले देखे सुनेका छौं। विकसित देशहरु चीन, इटली, स्पेन, फ्रान्स, अमेरिका, बेलायत आदिलाई कोरोना भाइरसले चुनौती दिइरहेको छ। कम विकसित देशको सूचीमा रहेको, त्यस्तै स्वास्थ्य प्रणाली मजबुद नभएको नेपालमा हालसम्म कसैको ज्यान गएको छैन र पाँचजनामा मात्र देखिनु सम्योग नै मानेर भाग्यमानी ठानेपनि ढुक्क हुने अवस्था चाहिँ छैन।
करिब करिब पूरै विश्व अर्थात् १९९ भन्दा बढीमा यो सङ्क्रमण देखिएपछि एउटा बिपदको अवस्था भयो। बाढी, पहिरो, सुनामी, आँधी, भुकम्प, युद्ध आदि जस्तै महामारी पनि एउटा आपतकालिन अवस्थाको सामना गर्नुपर्ने यो धर्तिबासीको तत्कालको चुनौती भएको छ।
पोषणको हिसाबले सामान्यतया बालबालिका, गर्भवति महिला र किशोर किशोरिहरु कुपोषणको जोखिममा रहेका हुन्छन्। तीमध्ये पनि ५ वर्षमुनिका बालबालिकाहरु बढी जोखिममा रहन्छन्। स्वास्थ्य तथा जनसाङ्खिक सर्वेक्षण २०१६ अनुसार नेपालमा ३६ प्रतिशत बालबालिकाहरुमा पुड्कोपना देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरी ४० लाख शरणार्थीहरु तथा विस्थापितहरुमा कुपोषणको एउटा भन्दा बढी रुप देखिन्छ।
कोरोनाको महामारी विश्वभरी चलिरहेको हुनाले जोखिममा रहेका समूहको पोषणको ख्याल राख्नु जरुरी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनालाई विश्वब्यापी महामारी भनिसकेको अवस्थामा जोखिममा रहेका समूहका साथै ५ वर्षमुनिका बालबालिकाहरुको पोषणमा बिशेष ध्यान दिनुपर्दछ।
त्यसका लागि महामारीका बेलामा राज्यले सबै नागरिकका लागि खाध्यान्नको सहज पहुँचको सुनिश्चितता गर्नुपर्दछ। महामारिका बेला पोषण कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर पूर्व योजना बनाइएको पक्कै छ, त्यो क्रियाशिल हुनुपर्छ। नेपालले त बहुक्षेत्रीय पोषण योजना नै बनाएको छ। जुन धेरै कम देशहरुले बनाएका छन्। त्यसमा पनि आपत्कालिन पोषण योजना समेटिएको छ। कोरोनाको महामारीका कारण धेरै नागरिकको रोजिरोटी गुमेको बेलामा पोषणको अवस्था खस्किन सक्छ। राज्य र यसका सम्बन्धित अङ्गहरु सचेत हुनुपर्छ। धेरै देशहरुको तुलनामा हामीले प्रसस्त समय पाएका छौं, पूर्व तयारी गरेका छौं। चिनमा एक्कासी देखा परेजस्तै नेपालमा पहिलोपल्ट देखा परेको भए के हुन्थ्यो? मतलब वुहानको सट्टा हाम्रो कुनै सहरमा भएको भए ? भविश्यमा पनि यस्तो अवस्था नआउला भन्ने के ग्यारेन्टी?
सधैं तत्पर रहनुपर्ने रहेछ भन्ने सिकाइ हुनैपर्छ। देशभरिमा थोरै मात्रै 'ब्यक्तिगत सुरक्षा कवच' हुनु बिडम्बना हो। आपतकालिन अवस्थाका लागि हामी योजना त बनाउँछौ तर आत्मसाथ गरेर तयारी गर्दा रहेनछौं भन्ने प्रमाणित भयो कि!
कतै पोषणको पूर्व तयारीमा केही कमी भइरहेको छ कि! हामीले लक डाउन गरेका छौं, नागरिकको घरधुरिमा बिशेष गरी जोखिम समूह गर्भवतिहरु, सुत्केरीहरु, दैनिक ज्यालादारी गर्ने मतदाताका साना बालबालिकाहरु के खाँदैछन्? स्थानीय सरकारहरुको पहलकदमी के भइरहेको छ? लकडाउन लम्बिएर एक महिना वा बढी भयो भने खाध्य असुरक्षा कति बढ्छ ? भोलि यही कारणले पुड्कोपना ५०प्रतिशततिर नजाओस्, रक्त अल्पता, कम तौल, ख्याउटे नबढुन्, सबैभन्दा बढी कुपोषण भएको देश हुनु नपरोस्, हामी सम्बन्धित सबैको बेलैमा ध्यान जाओस्। अहिले गर्भमा रहेका, स्तनपान गरिरहेका, साना बालबालिकाहरु जसको ५ बर्षमा ९० प्रतिशत दिमागको विकास हुन्छ र तिनीहरु भोलिका दिगो मानव पूँजी हुन् भने कोरोनाको पारीक्षण आइसोलेसन र क्वारेन्टाइन र उपचारसँगै नागरिकको खाना र पोषणमा ध्यान पुर्याउनु पर्दछ।
परिवारका सदस्यहरुले कोरोनाबाट बच्नु र बचाउनुका साथै बालबालिका, गर्भवति र सुत्केरी महिलाको राम्रो पोषणको उत्तरदायित्व बोध गर्नुपर्दछ। नियमित रुपमा साबुन पानीले हात धुने, दैनिक खानामा बिभिन्न किसिमका कम्तिमा अन्न, गेडागूडी,फलफुल, साग र पशुपन्छीजन्य खानेकुराहरुको साथै शुद्ध पिउने पानीको प्रबन्ध मिलाउने जिम्मेवारी परिवारका सबैले लिनुपर्छ। स्तनपान गराउने महिलाले बच्चालाई ६ महिनासम्म आफ्नो दूधमात्र खुवाउने, उनले खाने र आराम गर्ने अवसर परिवारका अन्य सदस्यहरुले मिलाउनु पर्छ। दैनिक सामाजिक व्यबहार परिवर्तन र सञ्चार साथै स्वास्थ्य जाँच, खानाको प्रकार तथा मात्राका आदिको परामर्शका लागि नजिकैको स्वास्थ्य संस्थामा नियमित लैजाने, र परामर्श अनुसार गर्नु गराउनु समेत परिवारको जिम्मेवारी हो।
-(घिमिरेले बाल्यकालिन पोषण र सिकाइ सिप विकासमा बिद्यावारिधी गरेका छन्)