जक्सना कार्की र गोपाल बोहरा
भारतको हाइकोर्टले भारतमा लकडाउनको समयमा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको छ। विश्वभर हाल विभिन्न हेल्पलाइनको व्यवस्था गरिएको छ। एक अध्ययनका अनुसार कोभिड-१९ को समयमा वेबसाइटमा घरेलु हिंसासँग सम्बन्धित कुराहरु खोज्नेको सङ्ख्या बढेको छ, त्यसैले धेरै मानिसहरु घरेलु हिंसाको सिकार भएको हुनसक्ने अनुमान गरिएको छ।
पर्याप्त समयका कारण तनावका कारणहरु उजागर हुने, विद्यालय बन्दका कारण कामको बोझ हुँदा तनाव बढ्ने, दैनिक ज्यलादारी गरेर गुजारा गर्नुपर्ने हुनाले आर्थिक हिंसा व्यहोर्नुपर्ने हुन्छ। युरोपियन परिषद्का अनुसार घरेलु हिंसा नाटकीय रुपमा बढिरहेको छ। महिला विरुद्धको हिंसाका कारण चोटपटक लाग्ने, शारीरिक, मानसिक, यौन तथा प्रजनन् स्वास्थ्य जस्तै: एड्स, अनिच्छित गर्भ रहन्छ भने कतिपय अवस्थामा पिडकले रोगको बारेमा गलत हल्ला फैलाउँछ।
जब मानिस घरेलु हिंसाको सिकार हुन्छ, तब उसले एकलोपनको महसुस गर्छ। भावनात्मक हिंसा पछि गएर मानसिक समस्यामा परिणत हुन्छ। महिला लगातार लामो समय पीडित भइरहेमा हिस्टेरिया, डिप्रेसन, चिन्तारोग तथा स्किजोफ्रेनियाको लक्षणहरु देखिन थाल्छन् र हिंसाको चक्र पनि डरलाग्दो बन्छ। हिंसा पीडित महिला लागुपदार्थ सेवन गर्ने, आफ्ना बच्चा–बच्चीप्रति दुर्व्यवहार गर्ने वा बेमतलव गर्ने गर्छन्। त्यसको सिधा असर व्यक्ति, समाज र राष्टलाई पर्ने हुन्छ।
घरेलु हिंसा ऐन, २०६६ अनुसार "घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झिनु पर्छ...।" विश्व स्वास्थ्य संगठनका अनुसार मानव सिर्जित तथा प्राकृतिक संकटका बेला महिला विरुद्धको हिंसा थप चुनौतीपूर्ण हुने गर्छ। वृद्ध तथा असक्त महिला थप संकटमा र सहयोगको आवश्यकतामा हुन्छन्।
नेपालमा एनडिएचएस २०१६ का अनुसार करिब २३ प्रतिशत महिलाले पुरुषबाट शारीरिक यातना पाएका छन् भने २ प्रतिशत पुरुषमाथि महिलाद्वारा घरेलु हिंसा भएको छ। ३४ प्रतिशत महिलामाथि पुरुषले यौन हिंसा गरेका छन्। ५२ प्रतिशत महिलाको मात्र आफ्नो कमाइमा आफ्नो नियन्त्रण छ। त्यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५-७५ प्रतिशत महिला शारीरिक तथा मानसिक हिंसाका सिकार बनेका छन्।
तनावका कारणहरु
भौगोलिक बिमुकता, सामाजिक दूरी, आर्थिक तनाव, दीर्घरोग, अपर्याप्त बच्चा हुर्काउने सिप, गर्भवती, पारिवारिक कलह, छोराछोरीको सङ्ख्या, सौतेनी छोराछोरी, पेसा परिवर्तन, लागुपदार्थ दुर्व्यसनी, अशिक्षा तथा बेरोजगारी, उमेर, सामाजिक कलंक आदिका कारण परिवारिक तनाव थपिन्छ।
हिंसापीडित महिलाका वास्तविकताहरु
किन हिंसा पीडित महिलाहरु हिंसायुक्त सम्बन्धमा बस्छन् त? मानिसलाई भन्न सजिलो हुन्छ, "त्यस्तो सम्बन्ध त्यागी दे", "मलाई कसैले त्यस्तो गर्न सक्दैन र म भए छोडिसक्थें", " म भए सहन्न थिएँ र प्रहरीलाई फोन गरिसक्थें"। तर विभिन्न अनुसन्धाताका अनुसार महिलाले हिंसायुक्त सम्बन्ध टिकाइराख्नुका कारणहरु निम्न छन्:
- भित्री कुरा बाहिर निस्किए इज्जत जाला भन्ने डर हुन्छ साथै थप हिंसा हुनसक्छ भने समाजमा हाँसोको पात्र बन्ने डर हुन्छ।
- हिंसा सहन योग्य नभए पनि छोराछोरीको खान, लाउन र बस्नको आवश्यकता हुन्छ। स-साना बच्चा-बच्ची हुर्काउनु पर्ने, आफू कम पढेको वा कुनै सिप नसिकेको भएमा।
- महिलाको आत्म धारणा, अस्तित्व सम्बन्धमा र समाजिक तथा सांस्कृतिक परिवेशले निर्माण गरेको हुँदा छोड्नु झन् घातक हुने ठानी।
- सुरुका अवस्थाको माया र प्रेमयुक्त सम्बन्धका कारण श्रीमानले पुन: माया गर्ने आशा हुन्छ।
- हिंसाको चक्रीय प्रकृतिका कारण हिंसा २४ सैं घण्टा तथा हप्तामा सातै दिन नहुने हुँदा पीडितले हिंसा बिर्सी केवल राम्रो कुरा मात्र सम्झिन कोसिस गर्छ।
- महिलालाई सामाजिक, भौतिक, भौगोलिक र आर्थिक रुपमा विमुख गरेमा।
- महिला सक्त घाइते भई हिँडडुल गर्न नसकेमा।
- आफूविना लोग्नेको अस्तित्व नदेखेमा वा लोग्नेको विचल्ली पर्ने ठानेमा।
- अधिकार प्राप्त व्याक्तिहरु जस्तै: प्रहरी, पालिकाको अध्यक्षको पहिला गरेको व्यवहार सम्झी विकल्प नदेखेमा।
- भाषिक कठिनाइ तथा बसाइ-सराइको अवस्थाका कारण सहयोग माग्न कठिनाइ भएमा।
हिंसाका विविध आयामहरु
विभिन्न सिद्धान्तहरुले महिला हिंसा किन हुन्छ भन्ने बारेमाआ-आफ्नै तर्क प्रस्तुत गरेका छन्।
समाजिक तथा सांस्कृतिक पाटो: महिलामाथि हिंसा हुनु भनेको पुरुष महिलाभन्दा ठूलो हो। लामो कालदेखि चल्दै आएको पुरुषप्रधान समाज र समाजबाट पुरुष रिसालु हुनुपर्छ। महिला सान्त र सहनशील हुनुपर्छ भन्ने पृष्ठपोषण समाजले प्रदान गरिरहेको हुन्छ। पुरुषले कमाउनु पर्छ। पुरुष परिवारको मुली हो। पुरुष शक्तिमा हुनुपर्छ र यदि नमानेमा कुटेर तह लगाउनु पर्छ भन्ने कुरिति समाजमा विद्यमान छ।
भावनात्मक नजिकपना र आघातयुक्त सिद्धान्तको व्याख्या अनुसार बाल्यकालमा अत्यधिक डर, पीडा, आफन्तको मृत्यु, विछोड, दु:ख र त्रास व्यहोरेका बालबालिका पछि युवावस्थामा पुग्दासम्म आपसी सम्बन्धमा विस्वास टुटिसकेको हुन्छ। बाल्यकालमा बढी क्षति व्यहोरेका दम्पतीहरु बढी हिंसामा हुन्छन्।
बदलाको सिद्धान्त अनुसार पिट्नेले पिट्छ किनकि ऊ बढी बलियो छ। र, तबसम्म पिटिरहन्छ जबसम्म पृष्ठपोषण पाइरहन्छ। ह्यामटनका अनुसार पिडकका विरुद्धका कुराहरु प्रहरी, दण्ड, जेल, इज्जतको धुलिपिठ नहुन्जेलसम्म बदलाको रुपमा पिटिरहन्छ।
नारीवादी व्याख्या अनुसार सामाजिक बनोट लैङ्गिकतामा आधारित छ। पुरुषवादी समाजको संरचनाको कारण बलात्कार, हाडनाता करणी, वेश्यावृत्ति हुन्छ, जसद्वारा महिलालाई पुरुषको सेवकको दर्जा दिइन्छ।
आत्म व्यक्ति सिद्धान्त अनुसार व्यक्ति आफैंमा मानसिक तथा न्युरोनसँग सम्बन्धित रोग लागेको हुन्छ। जस्तै: व्यक्तित्व गडबडी, धैर्य गर्न नसक्ने समस्या, पागलपन, दिमागी चोटपटक, लागुपदार्थ दुर्व्यवसनीका कारण मान्छे रिसालु बन्छ र हिंसा गर्न उद्दत हुन्छ।
त्यस्तै, आर्जित सहयोग विहीनता सिद्धान्त अनुसार पिट्ने र पिटिने कुरा अनुबन्धित छ। पटक-पटक शारीरिक तथा मानसिक हिंसा व्यहोर्दै गएकोले विरोध जनाउँदैन। पटक-पटकको अनुबन्धनका कारण आफू असक्षम र केही गर्न नसक्ने सोच्छ।
मनोवैज्ञानिक बन्दी सिद्दान्तअनुसार, महिलाले हिंसायुक्त सम्बन्ध छोड्दैन किनकि उनलाई यो सम्बन्धसम्म आइपुग्न धेरै समय, पैसा र भावना खर्च भइसकेको अनुभव हुन्छ। अझै पनि कुनै जादु घट्ने र सम्बन्ध प्रेमपूर्ण हुनेमा आशावादी हुन्छिन्।
सामाजिक जीवविज्ञानको व्याख्या अनुसार रिस बाँच्नका लागि आवश्यक कुरा हो। त्यसैले आफूमाथि धावा बोल्नेका विरुद्ध बोल्नु व्यक्तिको अन्तरनिहित प्रकृति हो।
हिंसाको चक्र
हिंसाको चक्रीय चरणमा सुरुमा तनाव सुरु हुन्छ, दुर्व्यवहार र कुटपिट हुन्छ र अन्त्यमा पश्चाताप र प्रेम हुन्छ।
सौहार्द चरण
यस चरणमा लोग्ने र स्वास्नी वा छोराछोरीबीचको सम्बन्ध अशान्त भइसकेको हुँदैन।
तनावको चरण
विभिन्न बेमेलका छालहरु उत्पन्न हुन थाल्छन्। पहिला सम्बन्ध सुधार गर्न गरिएका प्रयासहरु भन्दा तनावहरु बढी देखिन्छन्।
हिंसाको चरण
पिडकले गाली गर्नेदेखि लिएर कुटपिट गर्नेसम्म पुग्छ। कुराकानी बन्द हुन्छ भने अवस्था नियन्त्रण बाहिर हुन्छ।
संकटको चरण
यस चरणमा विभिन्न विकल्पहरु देखापर्छन्।
- पिडक पश्चाताप गर्न थाल्छ र पीडितसँग माफी माग्छ। ढिलो वा चाँडो पीडितले माफी दिन्छ र सान्त हुन्छ, वा
- पिडक पश्चाताप गर्दैन र परिस्थिति आफ्नो नियन्त्रणमा आएको ठान्छ। पीडितले नियन्त्रण गुमाउँछ र शान्त हुन्छ, वा
- पीडितले नयाँ कदम चाल्छ। त्यसपछि कि पीडितले पिडकलाई सम्झौता गराउँछ र शान्ति छाउँछ कि पीडित मान्दैन र अझ हिंसा दोहोरिन्छ।
यसरी हिंसाचक्र चलिरहन्छ:
मनोवैज्ञानिक तत्वहरु
मनोवैज्ञानिक रुपमा हिंसायुक्त सम्बन्धमा रहेको पुरुषमा निम्न लक्षण देखिन्छन्:
- रिस बाहेक अन्य भावना देखाउन असक्षम हुन्छ। भावनात्मक मुद्दा सामाधान गर्न कमजोर भाषिक सिप हुन्छ।
- आफ्नो श्रीमतीबाट उसको क्षमताभन्दा बढी, अयथार्थपरक आशा गर्दछ र सम्बन्धलाई काल्पनिक बनाउँछ।
- आत्म नियन्त्रण हुँदैन र परिवारका लागि पनि कठोर नियम बनाएको हुन्छ।
- मद्यपान तथा अन्य लागुपदार्थ सेवन गरिरहेको हुनसक्छ।
- बच्चा अवस्थामा हिंसा पीडित हुन्छ वा आफ्नो आमामाथिको हिंसा देखेको हुन्छ।
- आफूले गरिरहेको हिंसा खासगरी कुटपिटलाई अस्वीकार गर्छ।
- घरमा आफ्नो हैकम नचल्दा रिसाहा, विध्वङ्सक र हैकम चल्दा अनुहारमा कान्ति, पुलकित तथा शोषण गर्ने हुन्छ।
- इर्स्या, डाहा, नसोची काम गर्ने, अस्वीकार गर्ने, आत्मक्षति गर्ने, उदासिन, हठी, रिसालु तथा विध्वङ्सात्मक हुन्छ।
- श्रीमतीभन्दा आर्थिक अवस्था, निर्णय लिने क्षमता र कुराकानी गर्ने सिप कम भएको सोच्छ।
- अत्यधिक रुपमा आफू श्रीमतीमा निर्भर रहेको वा माया देखाए जस्तो गर्छ।
हिंसायुक्त सम्बन्धमा रहेका महिलामा निम्न लक्षण देखिन्छन्:
- बारम्बार मुर्ख, अबुझ, अदक्ष, काम नलाग्ने भनिएकाले कमजोर आत्मबल हुन्छ।
- वैवाहिक सम्बन्ध सुधारका लागि केही अर्थपूर्ण कदम चाल्न आफ्नो नियन्त्रण नरहेको र कम साहसी भएको सोच्छिन्।
- हिंसा व्यहोरेको इतिहास हुन्छ र आफ्नो आमामाथि भएको हिंसा देखेकोले महिलाको भाग्य सम्झी स्वीकार्छिन्।
- शारीरिक तथा मनको घाउलाई अरुले देखे सामाजिक तथा भावनात्मक रुपले एक्लिने डर हुन्छ।
- सम्बन्ध कस्तो हुनुपर्छ भन्ने काल्पनिक सोच हुन्छ। केही हदसम्म पुरुषलाई ठिक पार्ने वा परिवर्तन गर्न सक्ने सोचाइ हुन्छ।
- कथित समाजिक पितृसत्तात्मक लैङ्गिक भूमिका सिकेको हुन्छ र सो पालना नगर्दा आत्मग्लानी हुन्छ।
- प्रेम र यौनका बीच फरक छुट्याउन सक्दैन र प्रेम अत्यधिक यौन सम्पर्कद्वारा व्यक्त हुने भ्रम हुन्छ।
- आफ्नो भावना र अधिकारको बारेमा बोल्न सक्ने सञ्चार सिपको अभाव हुन्छ।
माहिला हिंसा बारेका भ्रमहरु
"हिंसापीडित महिलाले सानो घटनालाई पनि ठूलो बनाउँछिन्"
हिंसा हिंसा नै हो। शारीरिक चोट, निलडाम, घाउ, हड्डी भाँचिनु भनेको घटनालाई ठूलो बनाइएको होइन।
"पीडित महिलाले कुटिन चाहेको हुन्छ"
महिलाहरु किचकिच गर्छन् र दिक्क पार्छन् भन्नु गलत हो। वास्तवमा कुनै-कुनै महिला र पुरुष किचकिच गर्छन्। तर तिनीहरुलाई पनि त्यस्तो गर्न कारण चाहिन्छ।
"कुटपिट वा हिंसा परिवारको आन्तरिक मामिला हो"
घरेलु हिंसा कुनै पनि परिवारको मामिला हो। यसमा अरुले बाहिरबाट हस्तक्षेप गर्न पाउँदैन भन्ने सोच गलत हो। हिंसा आन्तरिक होस या बाह्य त्यो मानवअधिकारको विरुद्ध हुन्छ।
"रक्सी सेवन घरेलु हिंसाको मुख्य कारण हो"
रक्सी सेवन बहाना मात्रै हो, साथै रक्सी सेवन नगर्नेहरु पनि हिंसामा उत्तिक्कै सरिक देखिन्छन्।
"केवल कम आयस्रोत भएका र दैनिक ज्यालादारी गर्ने परिवारमा मात्र हिंसा हुन्छ"
हिंसाको कुनै सामाजिक स्तर छैन। प्रहरीमा आएका उजुरी अनुसार मध्यम तथा उच्च स्तरका परिवार पनि हिंसामा सरिक देखिन्छन्।
"कुटपिट विरलै हुने कुरा हो"
तत्थ्य अनुसार यो सोचेभन्दा उच्च र भयावह छ।
"मानसिक समस्या भएकाले मात्र हिंसा गर्छन्"
केवल १० प्रतिशत मानसिक समस्या भएका व्यक्ति मात्र हिंसामा सामेल छन्।
"हिंसा र प्रेमसँगै बाँच्दैन"
हिंसायुक्त परिवारका सदस्यले पनि आफ्ना छोराछोरीलाई माया देखाउँछन्। हिंसा र प्रेम बारम्बार दोहोरिँदा बच्चामा पिट्नु भनेको माया गर्नु हो भन्ने भ्रम हुन्छ।
अन्त्यमा,
घरेलु हिंसा एक किसिमको महामारी हो, जसका कारण प्रत्येक वर्ष समाजको ठूलो मात्रामा आर्थिक तथा भावनात्मक क्षति हुन्छ। संकटका बेला विभिन्न सहयोग प्रणाली परिवार, साथीभाइ, प्रहरी, हटलाइन, मनोविमर्शकर्ता र स्थानीय जनप्रतिनिधिहरुको मद्दत लिनुपर्छ। सुरक्षा योजना बनाई छिमेकी, साथीभाइ, इष्टमित्रको सहयोग लिने र सुरक्षाका लागि तत्काल घर छोड्नुपर्ने पनि हुनसक्छ।
(लेखकहरु मनोविमर्शकर्ता हुन् )