जनार्दन पाठक
विकासोन्मुख देशहरुको कमजोर स्वास्थ्य एवं अस्पताल व्यवस्थापन प्रणालीमाथि कोभिड–१९ महामारीले झनै धावा बोलिरहेको छ। विशिष्ठ स्वास्थ्य प्रणाली भनी चिनिएका देशहरु समेत तहसनहस भइरहेको अवस्थामा हाम्रोजस्तो कमजोर देशले स्वास्थ्य एवं अस्पताल व्यवस्थापन प्रणालीमा कस्तो परिस्थितिको सामना गर्नुपर्ला? सहजै अनुमान लगाउन सकिन्छ।
विश्वभरि नै उलेख्य संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेका बेला अति नै सीमित साधनस्रोतका बीच संक्रमितहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीहरुबीच हुनसक्ने संभावित संक्रमण र अस्पताल तथा स्वास्थ्य संस्थामा आउने अन्य सेवाग्राहीलाई हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन पक्कै पनि चुनौतीपूर्ण छ।
सामान्य अवस्थामा पनि अस्पतालजन्य संक्रमणको यकिन तथ्यांक उपलब्ध नभएको र सायदै यस विषयमा अध्ययन भएको सन्दर्भमा अत्यधिक संक्रामक कोभिड–१९ को अवस्थामा यो विषय झनै पोचिलो बनेर आएको छ। यसका लागि संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गर्न एकदमै जरुरी देखिन्छ।
फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ जारी गरे तापनि त्यस अनुरुप फोहोर व्यवस्थापनमा काम भएको देखिँदैन। प्रायःजसो अस्पतालहरुले अस्पताल हाताभित्रै खाडल बनाई खुला रुपमा जलाउने गरेको पाइन्छ भने केही अस्पतालहरुले नगरपालिकाको गाडीमार्फत सिधै ल्यान्डफिल्ड साइटमा पठाउने गरेको पाइएको छ। अतः सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमध्ये एकदमै न्यून अस्पतालहरुले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ अनुरुप फोहोर व्यवस्थापनको काम गरेको देखिन्छ।
माथि उल्लेखित पृष्ठभूमिमा क्वारेन्टाइनस्थलदेखि स्वास्थ्य संस्था÷अस्पतालसम्मले त्यहाँबाट निस्किने फोहोरलाई बायो मेडिकल वेस्ट कायम गरी उचित योजना सहित फोहोर व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यसका लागि निम्नलिखित उपायहरु अपनाउनुपर्ने हुन्छः
१) फोहोर छुट्याउने र लेवलिङः
कोभिड–१९ जन्य फोहोर र स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ अनुसार छुट्याउने र सो फोहोरको सोर्सदेखि अन्तिम व्यवस्थापनसम्म प्रष्ट रुपमा लेवल गरिएको हुनुपर्छ। जस्तै डस्टविनहरुको लेवलिङ र अस्थाई भण्डारण स्थलको सबैले देख्ने र बुझ्नेगरी प्रष्ट रुपमा लेवल गरिएको हुनुपर्छ।
२) यातायात
कोभिड–१९ जन्य फोहोरका लागि छुट्टै ढकनयुक्त ट्रलीको व्यवस्था गरिएको हुनुपर्छ। सम्भव भएसम्म फोहोर संकलन बायोहाजार्ड व्यागमा गर्नुपर्छ। यदि सो ब्याग उपलब्ध नभएमा दुई वटा गार्वेज ब्यागको प्रयोग गर्दा उचित हुन्छ। यसले ब्याग च्यातिने, चुहिने समस्या न्यूनीकरण गर्छ। स्थानान्तरण गर्नुभन्दा पहिले प्रत्येक ब्यागहरु राम्रोसँग बन्द गरिएको हुनुपर्छ।
३) अन्तिम व्यवस्थापन
फोहोरको अन्तिम व्यवस्थापन भनेको रियुज, रिसाइकल र कम्पोस्टिङ वा स्यानिटरी ल्यान्डफिल्डमा व्यवस्थापन गर्ने बुझिन्छ। तर अस्पतालजन्य फोहोरहरु अस्पताल हाताभन्दा बाहिर पठाउनुभन्दा पहिले फोहोरको उचित उपचार गर्न जरुरी हुन्छ। यसका लागि केमिकल र वा तापजन्य उपचार गर्न सकिन्छ। ठोस फोहोरहरुको अटोक्लेभ गरेर मात्रै अस्पतालभन्दा बाहिर पठाउने वा इन्सिनेटर उपलब्ध छ भने अस्पताल हाताभित्रै व्यवस्थापन गर्न सकिन्छ । तर कुनै पनि वहानामा फोहोरलाई खुला रुपमा जलाउने गर्नुहुँदैन।
त्यस्तै तरल प्रकारको फोहोरलाई उपयुक्त केमिकल उपचारपछि मात्रै ढलमा वा अस्पताल बाहिर पठाउनु पर्दछ। कोभिड–१९ संक्रमण महामारीको बेला फोहोरको मानव सम्पर्क कम गर्नका लागि रियुज र रिसाइकलको काम निरुत्साहित गरी इन्सिनेरेसन तथा स्यानिटरी ल्याण्डफिल्डलाई अन्तिम विकल्पका रुपमा लिनुपर्छ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा माथि उल्लेखित विधिहरु सबै ठाउँमा उपलब्ध नहुन सक्छ। तसर्थ कोभिड–१९ जन्य फोहोरहरु सुरक्षित रुपमा अस्थायी भण्डारण (७ दिनसम्म) गरेर मात्र अन्तिम व्यवस्थापन गर्न वा पठाउन उपयुक्त हुन्छ। अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि प्रत्येक अस्पतालमा कम्तीमा उपलब्ध नर्सिङ स्टाफको नेतृत्वमा फोहोर व्यवस्थापन टिम बनाई उचित अभिमुखीकरण दिइएको हुनुपर्छ।
कोभिड–१९ महामारीको अवस्थामा नेपाल सरकारका विभिन्न निकाय, बाह्य विकास साझेदार र सहयोगी संस्थाहरुले विभिन्न तवरले स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको अवस्था छ। यो लगानीलाई अस्पताल व्यवस्थापनको लागि अवसरको रुपमा लिई आइसियु, ल्याबोरेटरीको स्तरोन्नति गर्नुका साथै अस्पतालमा आन्तरिक फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि अस्पतालको स्तर हेरी कम्तीमा विभिन्न क्षमताका अटोक्लेभको व्यवस्थापन र फोहोर भण्डारणको सुरक्षित स्थल निर्माण मात्रै पनि गर्न सके अस्पताल जन्य फोहोर व्यवस्थापनमा कोशे ढुङ्गा सावित हुने अवसर सबै सरोकारवालासामु रहेको छ।
साथै कोभिड–१९ जन्य फोहोर व्यवस्थापनका लागि फोहोर स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ र डब्लुएचओको सिफारिसलाई टेकेर कोभिड–१९ जन्य फोहोर व्यवस्थापन अन्तरिम निर्देशिका यथाशीघ्र जारी गर्न आवश्यक देखिन्छ।