शहरका गल्लीहरूमा, काठमाडौंका भीडभाड बजारहरूमा, अनि पहाडका कुनाकाप्चाका स-साना गाउँहरूमा पनि उनीहरू भेटिन्छन्। बिहानको झिसमिसे घामसँगै खुल्ने ती सटरहरूभित्र, औषधीका र्याकहरूले घेरेका साना कोठामा सेतो एप्रोन लगाएर काउन्टरको पछाडि उभिएका ती मानिसहरू हुन्, सामुदायिक फार्मासिष्ट।
हामीले उनीहरूलाई दिनहुँ देख्छौं। कहिले एक पाता सिटामोल माग्न पुग्छौं, कहिले बिरामी बाबुआमाका लागि औषधि किन्न। कहिले त उही एउटा पाता सिटामोलको मूल्यमा पनि मोलमोलाई गर्दै, दस रुपैयाँमै १० प्रतिशत छुट माग्न पनि पछि पर्दैनौं। तर उनीहरूले गर्ने मेहनतबारे हामीले कहिल्यै सोच्दैनौं। हामीले उनीहरूलाई प्रायः केवल 'औषधि बेच्ने मान्छे' वा 'पसले' भनेर सम्झिन्छौं। तर वास्तविकता त्यो भन्दा धेरै गहिरो र अर्थपूर्ण छ।
नेपालका लाखौं मानिसका लागि फार्मासिष्ट नै पहिलो र धेरैपटक एक मात्र स्वास्थ्यकर्मी हुन्। जहाँ डाक्टर हप्तामा एकपटक मात्र आउँछन्, वा कहिलेकाहीँ हेल्थ क्याम्पहरूमा पनि पुगेका छैनन्, त्यहाँ पनि फार्मासिष्ट भने हुन्छन्। भीडभाड र महँगो अस्पताल भएका शहरहरूमा पनि जब रोगले थिच्छ, मानिसहरू पहिला फार्मेसीमै पुग्छन्।
कोही टाउको दुखाइ र ज्वरो लिएर आउँछन्, कोही नघटेको खोकी लिएर। कोही डरले आफ्नो ब्लडप्रेसरको अवस्था बुझ्न आउँछन्, कोही नबुझेको प्रेस्क्रिप्सन बोकेर। किनभने उनीहरूलाई थाहा हुन्छ — त्यो काउन्टरको पछाडि बसेको मान्छेले औषधlको नाम मात्र होइन, त्यसको अर्थ, असर र कहिले नखाने भनेर पनि बुझाउँछ।
डराएकी आमालाई सम्झाउँछन् — 'बच्चाको यो ज्वरोमा अस्पताल जानुपर्छ कि घरमै ठीक हुन्छ?' भनी। डायबेटिक बिरामीलाई ढाडस दिन्छन् — 'डोज छुट्यो भनेर चिन्ता नगर्नुहोस्।' बुढी आमालाई सल्लाह दिन्छन् — 'किन यत्रा धेरै चक्की खानु परेको? डाक्टरसँग कुरा गरेर घटाउनुस्।'
कहिले भन्छन् — 'छलामा आएको डाबर सामान्य हो कि केही विशेष?'
कहिले सल्लाह दिन्छन् — 'कुन डाक्टरकहाँ जाँदा राम्रो हुन्छ?'
र, जब कुनै औषधि पाइँदैन, त्यही औषधि खोजिदिने पनि उनी नै हुन्, नपाए अर्को कम्पनीको विकल्प सुझाउने पनि उनी नै।
उनीहरूले केवल सुनदैनन्, ख्याल पनि गर्छन्। ब्लडप्रेसर नापीदिन्छन्, चिनी, अक्सिजन, 'हर्ट रेट' र सास फेर्ने गतिको पनि जाँच गर्छन्। दमका बिरामीलाई इनहेलर चलाउन सिकाउँछन्, डायबेटिक बिरामीलाई इन्सुलिन लगाउन सिकाउँछन्। कहिले अस्पताल जानैपर्ने अवस्था छ भनेर सम्झाउँछन्। साँघुरो पसलमै स्वास्थ्य प्रणालीले नदेखेको धेरै कुरा हेर्छन्।
फार्मासिष्टहरूले केवल शरीरको उपचार गर्दैनन्, मानिसको गर्छन्। उनीहरूले बिरामीलाई केवल रोगको रूपमा होइन, मान्छेका रूपमा हेर्छन्। कहिले एक्लो वृद्धलाई औषधि मिलाउन नसकेको देख्छन्, कहिले दुःखी आमालाई, कहिले डिप्रेसनमा परेको युवकलाई। कहिले घरको खानपान, कहिले दिनचर्या, कहिले परिवारको सम्बन्ध मिलाउन पनि उनीहरूको भूमिका हुन्छ।
र, हरेकपटक भन्छन् —'तपाईंलाईं कस्तो छ?'
कोरोनाको महामारीमा जब अस्पतालहरू भरिए, डरले चारैतिर च्यापेको थियो, तब पनि उनीहरूले पसल बन्द गरेनन्। मास्क, अक्सिजन र औषधि बाँडिरहे। ठूलाठूला व्यापारीहरूले कालोबजारी गरिरहँदा उनीहरूले दस रुपैयाँको मास्क दसमै बेचिरहे। गलत सूचनाबीच सही कुरा सिकाउँदै, घरमै बस्ने उपायदेखि लिएर अरूलाई संक्रमण नलाग्ने उपायसम्म सिकाउँदै, घरमा बसेर बिरामीलाई दिनदिनै फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने पनि यिनै थिए।
तर हामीले कहिले उनीहरूलाई धन्यवाद भन्यौं? कहिले उनीहरूको जिम्मेवारी र सीपको सम्मान गर्यौं? कहिले स्वीकार गर्यौं कि उनीहरूले लाखौं नेपालीका लागि स्वास्थ्य पहुँच सहज र सुरक्षित बनाइरहेका छन् भनेर? धन्यवाद त टाढाको कुरा १० देखि १५ प्रतिशतसम्म छुटको लागि मोलमोलाई गर्यौं। उनीहरू सरकारसँग न त मोलमोलाई गर्न जानेका छन्, न त आफ्नो अधिकारका लागि लड्न जान्छन्। बिहान झिसिमिसे घामदेखिनै अबेर रातसम्म बिरामीहरूको सेवा गर्न मात्र जान्छन्। शनिबार होस् वा दशैं–तिहारको रमझम, उनको दैनिकी सधैं उस्तै हुन्छ।
सत्य के हो भने — हाम्रो स्वास्थ्य प्रणाली यिनै शान्त र विनम्र पहरेदारहरूमा टिकेको छ। उनीहरूले अस्पतालको भीड घटाउँछन्, साना रोगहरू घरमै निको पारिदिन्छन्, दीर्घरोगका बिरामीलाई जटिल हुनबाट जोगाउँछन्, औषधिको गलत प्रयोगबाट बचाउँछन्। र नेपालजस्तो देशमा — जहाँ स्वास्थ्य सेवा अझै असमान र अपुग छ — उनीहरूले त्यो खाली ठाउँ भरेका छन्।
टाढाको अस्पताल होइन, तपाईंको घरनजिकै, टोलनजिकै, बाटोको छेउको त्यो सानो पसलभित्र, काउन्टरको पछाडि उनीहरूले अध्यारो रातसम्म सेवा दिइरहेका हुन्छन्।
र त्यो सबै गर्दा, उनीहरूले कुनै तालीको आशा गरेका छैनन्। उनीहरूले खोजेको हो केवल माया र सद्भाव।
भोलि फेरि तपाईं फार्मेसी पुग्नु भयो भने, चिन्तित अनुहार र औषधि मिलाउँदै सम्झाइरहेका हातहरू हेर्नुहोस्। त्यो मान्छे केवल औषधि बेचिरहेको छैन। त्यो तपाईंको स्वास्थ्य, तपाईंको परिवारको भलो र हाम्रो स्वास्थ्य प्रणालीको आधार सुरक्षित गरिरहेको छ।
ती हाम्रो समुदायका सच्चा नायक हुन्। निश्चल पहरेदार हुन्।
-(कविन मलेकु नेपाल फार्मेसी संघका सचिव हुन्।)