प्रिय जेन–जी साथीहरू,
सम्पूर्णमा नमस्कार।
भदौ २३ गतेको दिन नेपाली इतिहासमा एउटा महत्त्वपूर्ण मोडको रूपमा दर्ता भएको छ, जुन दिन हजारौँ जेन–जी अर्थात् नवपुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध कडा कारबाही, सुशासनको सुनिश्चितता लगायतका माग राख्दै देशभर शान्तिपूर्ण रूपमा सडक आन्दोलन सुरु गरे। यो आन्दोलन केवल मागहरूको सूची मात्र थिएन, यो पुस्ताको पीडा, आक्रोश र भविष्यप्रतिको चिन्ताले भरिएको आवाज थियो।
विद्यालयबाट फर्कँदै गरेका विद्यालयको पोशाकमा रहेका निर्दोष बालबालिकामाथि प्रहरीले गोली प्रहार गर्यो। बानेश्वरको सडक मात्र होइन, सामाजिक सञ्जाल एकाएक रक्ताम्य बन्यो। आन्दोलन सातै प्रदेशमा फैलियो, जेन–जीका समर्थक युवाहरू सबै उमेर समूहका सडकमा ओर्लिए। साँझपख देशभरका विभिन्न स्थानहरूबाट करिब १९–२० जना बालबालिकाको मृत्युको खबर आइपुग्यो। सामाजिक सञ्जाल पहिलो दिनमै रगतले भरियो।
देशका विभिन्न जिल्लाबाट काठमाडौँ पढ्न आएका ती अबोध विद्यार्थीहरूको अभिभावकको मुटु छियाछिया हुँदै गयो। डेरामा फर्किएनन्, फोन आएन। विद्यालयको पोशाकमै आन्दोलनमा हिँडेका ती बालबालिका हराए। गाउँबाट पठाइएको फोन डेरामा छुटिएको मोबाइलमा घण्टी बजिरह्यो। अर्को दिन पुनः आन्दोलन भड्कियो, यसपटक नियन्त्रणभन्दा बाहिर गयो।
आन्दोलनको पहिलो दिनमै सरकारले जेन–जीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि गरेको बर्बर दमनले आन्दोलनलाई अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र बनायो। प्रहरीको गोलीबाट केही घण्टामै १९ जना युवाले ज्यान गुमाउनु र पाँच सयभन्दा बढी घाइते हुनु कुनै सामान्य घटना थिएन। यो घटना नेपाली जनतामाथि राज्यकै हातबाट गरिएको हिंसा थियो। इतिहासले यस्ता नरसंहारलाई कहिल्यै क्षमा गर्दैन, न त जनताले। यस्तो घटनाले जेन–जी पुस्तामा गहिरो मानसिक आघात मात्र दिएको छैन, यसले सरकारप्रति विश्वासको अन्त्यसमेत गराइदियो।
पहिलो दिनको दमनपछि भोलिपल्ट देखिएको प्रतिरोध स्वाभाविक थियो। जेन–जी शक्तिले देशभर सरकारलाई प्रत्यक्षरूपमा चुनौती दियो। यद्यपि, आन्दोलनमा विभिन्न स्वार्थ भएका समूहहरूको प्रवेश र केही ऐतिहासिक धरोहरमा आगजनी हुनु दुर्भाग्यपूर्ण पक्ष थियो। यस्ता कार्यहरू आन्दोलनको मूल उद्देश्यसँग मेल नखाने भए तापनि, ती राज्यपक्षको दमनले निम्त्याएको उग्र प्रतिक्रिया मात्र थिए। जेन–जी शान्तिपूर्ण प्रदर्शनमै हुँदा राज्यले नरसंहार मच्चाउँदा भोलिपल्ट अकल्पनीय क्षति भयो। यद्यपि मुलुकको भविष्य बोकेका हाम्रा नवयुवाहरूले रत्तिभर विध्वंस र आगजनी गर्ने कुरा कल्पनासमेत गरेका थिएनन्।
प्रिय जेन–जी साथीहरू,
जेन–जी आन्दोलनको घटनाक्रमले एकपटक फेरि साबित गर्यो कि जब शासकहरूले जनताको आवाज नसुन्ने गल्ती गर्छन्, त्यसको परिणाम स्वरूप जनताले उग्र रूप लिन्छन्, जुन न त आन्दोलनकारीको चाहना थियो, न नै तिनीहरूको नियोजित कार्य।
नेपाली राजनीतिमा जेन–जी आन्दोलनले एक नयाँ धारको स्थापना गरेको छ। यो केवल विरोध मात्रै होइन, अब यो एक राजनीतिक चेतनाको सशक्त स्वरूप बन्दै गएको छ। जेन–जी पुस्ताले देखाएको सङ्गठित शक्ति र संयमता राजनीतिक इतिहासमा नौलो अभ्यास हो। जेन–जीहरूले उठाएका मागहरू कुनै व्यक्तिगत स्वार्थका लागि होइनन्, यो समग्र राष्ट्रको हितका लागि हुन्। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको छानबिन, नागरिक सरकारको गठन, सार्वजनिक पदमा बसेकाको सम्पत्तिको छानबिन तथा अकुत सम्पत्तिको राष्ट्रियकरण, संसद् विघटन र नयाँ प्रणालीको सुरुवात, यी सबै मागहरू मुलुकलाई सही दिशामा लैजानका लागि अत्यन्त जरुरी छन्। तर, हालको संविधान र संसदीय प्रणालीले यी मागहरू पूरा गर्न सक्ने हैसियत राख्दैन। यसले देखाउँछ कि संविधान फेरबदल वा पुनर्लेखन अब अपरिहार्य बन्ने सम्भावना छ। तर, अझैं जेन–जीका माग पूरा गर्न आनाकानी गर्ने हो भने देश थप द्वन्द्वतर्फ जान सक्छ, जसको मूल्य फेरि पनि देश र जनताले नै चुकाउनुपर्नेछ।
प्रिय साथीहरू,
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमरपंक्ति, “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे... यतिखेर झल्झली मानसपटलमा आउँछ। आजभोलि सामाजिक सञ्जालमा यो कविताका पंक्तिहरू यत्रतत्र देख्न पाइन्छन्, जसले हाम्रो भित्री मानवता र राष्ट्रप्रेममाथि प्रश्न उठाइरहेको जस्तो लाग्छ। कुनै अपरिचित नागरिकले दुःख पाए पनि आँखा रसाएर सहायता गर्न पुग्ने हाम्रो संवेदनशीलता आज हराइरहेको जस्तो लाग्छ।
अब रह्यो, मुलुक बनाउनुपर्ने दायित्व जेन–जीको काँधमा आयो।
नेपाल एक सानो, सुन्दर तर अल्पविकसित राष्ट्र हो — यो तथ्य हामी सबैलाई थाहा छ। तर, यतिबेला यो देश केवल अल्पविकसिततामा सीमित छैन; बारम्बारका प्राकृतिक प्रकोप, सरकारको असक्षमता, आर्थिक अस्थिरता र सामाजिक अव्यवस्थाले गर्दा यो राष्ट्र आफ्नै छायामा जलिरहेको छ। अहिलेको अवस्थामा हाम्रो मुलुक अर्थतन्त्रको भेन्टिलेटरमा बाँचेको अनुभूति गराउँदैछ। नेपालमा ठूला उद्योगधन्दा छैनन्, रोजगारीका अवसर सीमित छन्, र आम नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायनमा छन्। यस्तो अवस्थामा देशको कुल गार्हस्थ उत्पादन अत्यन्तै न्यून छ, जसले समग्र राष्ट्रिय आयमा उल्लेखनीय योगदान दिन सकेको छैन। उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी नहुँदा देशको आर्थिक इन्जिन सुस्त गतिमा गुडिरहेको छ।
हाम्रो इतिहास हेर्ने हो भने, प्रत्येक पुस्ताले कुनै न कुनै विनाशकारी भूकम्प वा प्रकोपको सामना गरेको देखिन्छ। वि.सं. १२१८ सालदेखि २०७२ सालको विनाशकारी गोरखा भूकम्पसम्म, हामीले हजारौँ जनाको ज्यान गुमाएका छौँ, लाखौँ सम्पत्ति नष्ट भएको छ। पछिल्लो समय २०८० कार्तिक १७ गते आएको जाजरकोट भूकम्पले पनि फेरि हामीलाई सम्झायो कि हाम्रो भौगोलिक बनावटसँगै सरकारी तयारी पनि कहिल्यै परिपक्व हुन सकेको छैन। भूकम्पपछिको उद्धार कार्यमा सेना, प्रहरी सक्रिय भए तापनि राहत वितरण, पुनर्निर्माण र दीर्घकालीन पूर्वाधार सुधारमा हुने सुस्तता आजको दिनमा नेपाली जनताको गुनासोको विषय बन्न पुगेको छ।
त्यस्तै कोरोना महामारी नेपालका लागि केवल स्वास्थ्य संकट मात्र थिएन, त्यो आर्थिक र सामाजिक संरचना नै हल्लाउने अर्को विपत्तिको रूपमा आयो। तथ्याङ्कअनुसार, यो महामारीले करिब २,६८४ जनाको ज्यान लिएको छ भने, लाखौँ नेपालीले आफ्नो रोजगारी गुमाए। विशेषगरी कृषि, पर्यटन, होटल, यातायात, लघु तथा मझौला उद्योगहरू यस महामारीबाट अत्यधिक प्रभावित भए। संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएअनुसार करिब २५ लाख ७० हजार नेपालीले महामारीको समयमा रोजगार गुमाए। यसको प्रत्यक्ष असर विप्रेषण, उपभोग, कर सङ्कलन र समग्र आर्थिक चक्रमा देखियो।
प्राकृतिक प्रकोप त देशको नियति हुन्, तर आजको हाम्रो वास्तविक सङ्कट मानव–निर्मित छ। जब सरकार जनताको पीडामा चासो दिन असफल हुन्छ, जब सार्वजनिक संस्थाहरू भ्रष्टाचारको जालोमा अल्झिन्छन्, र जब युवाहरूको आशा टुट्छ, तब समाज आफैँभित्रै भासिन थाल्छ। भर्खरै भएको जेन–जी आन्दोलन यसको एउटा उदाहरण हो।
देशले बेहोर्दै आएको बहुआयामिक असर
भौतिक संरचना: भूकम्प, बाढीपहिरो, आगलागी, आन्दोलन र अव्यवस्थित विकासले पूर्वाधारमा ठूलो असर पारेको छ। विगतमा पनि पुनर्निर्माणमा ढिलाइले जनविश्वास कमजोर बनाएको छ। अहिलेको आन्दोलनले थप चुनौती थपेको छ।
स्वास्थ्य सेवा: महामारीले स्वास्थ्य संरचना कमजोर बनायो। अस्पतालहरू सीमित क्षमतामा सीमित उपचार दिन बाध्य भए। सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको देखिँदैन। डाक्टर तथा स्वास्थ्यकर्मीसमेत देशबाट पलायन हुने अवस्था विद्यमान छ।
रोजगारी: स्वदेशमै रोजगारीको अभावले युवाशक्ति पलायनमा छ, जसले दीर्घकालीन उत्पादनशक्ति र उद्यमशीलतालाई कमजोर पारेको छ। लोकतन्त्र, गणतन्त्र स्थापनाका यतिका वर्षसम्म पनि स्वदेशमै केही गरौँ भन्ने वातावरण सिर्जना हुन सकेन।
सामाजिक मनोविज्ञान: निराशा, असुरक्षा, सामाजिक असमानताको भावना जनमानसमा मौलाउँदै गएको छ। विभिन्न समयमा हुने गरेका आन्दोलनहरूले सामाजिक ध्रुवीकरण बढाएका छन् मात्र, मुलुकलाई दिगो विकास र शान्ति दिन सकेका छैनन्। पछिल्लो जेन–जी आन्दोलन यसकै उपज हो।
अब के गर्ने?
प्रिय जेन–जी, आजको आवश्यकता विध्वंस, आलोचना मात्र होइन, गहिरो आत्मपरीक्षण हो। देश फेरि पनि उठ्नेछ — तर केवल भौतिक संरचनाको पुनर्निर्माणले हैन, मानसिकता र सोचको पुनरुत्थानबाट मात्र सम्भव छ। अब समय आइसकेको छ — राज्य संयन्त्रले युवाको आवाज बुझ्ने, दमन होइन संवाद गर्ने, अनि आन्दोलनलाई अवसरमा रूपान्तरण गर्ने। आन्दोलनले हामीलाई फेरि सम्झाएको छ — देश हाम्रो हो, समस्या पनि हाम्रो हो, र समाधान पनि हामी आफैँ हुनुपर्छ। अब युवाहरूको ऊर्जा नष्ट गर्ने होइन, राष्ट्र निर्माणमा प्रयोग गर्ने युगको सुरुवात गर्नुपर्छ।
प्रिय जेन–जी र जेन–वाईका साथीहरू — म एउटा सानो भुइँमान्छे हुँ, यो चिठीमार्फत केही त्रुटि भए माफी चाहन्छु। तर आज हामी सबैको काँधमा गम्भीर जिम्मेवारी आएको छ। देश अभिभावकविहीन छ। कृपया, छिटोभन्दा छिटो देशका लागि उपयुक्त, विवेकी र जिम्मेवार नेतृत्वको चयन गरौँ। देश हाम्रो हो — हामी सबै मिलेर बनाउने हो। मानवता, शान्ति र प्रेममा आधारित राष्ट्र निर्माण गरौँ। जय देश! जय कर्णाली प्रदेश!