म विगत ७ वर्षदेखि चिकित्सकको रूपमा निरन्तर सेवा गर्दै आएको छु। स्वास्थ्य क्षेत्र त्यस्तो हो, जहाँ दशैं–तिहार वा जुनसुकै चाडपर्वमा पनि बिरामीको सेवामा सधैं तयार रहनुपर्छ। त्यसैले हामी स्वास्थ्यकर्मीहरूको लागि चाडपर्व भनेको अरू जस्तै छुट्टै विशेष रहँदैन, बरु सेवामै रमाउने बानी परिसकेको हुन्छ।
दशैंको बिदाका दिनमा ओपीडी सेवा बन्द हुने भए पनि आकस्मिक लगायतका अन्य विभाग भने सञ्चालनमै रहन्छन्। त्यसैले ती दिनमा सामान्यतया भन्दा आकस्मिक कक्षमा बिरामीको चाप अझ बढी हुने गर्छ।
पेशागत जीवनको सुरुवाततिर भने परिवारसँग समय बिताउन नपाउँदा डाक्टर बनेकोमा दुःख लाग्थ्यो। तर अहिले बिरामीको सेवामै सन्तोष पाउन सिकिएको छ। जस्तो कि केही समय अघि भएको जेनजी आन्दोलनका क्रममा मानिसहरू घरबाट निस्कनसमेत डराएका थिए। त्यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले भने जोखिम मोलेर घाइतेको उपचारमा खटिनुपर्यो। यस्ता कठिन परिस्थितिहरूले हामीलाई सेवामै खुसी खोज्न सिकाएको हो।
म विगतमा सप्तरीमा कार्यरत थिएँ, जहाँ मेरो पुर्ख्यौली घर पनि पर्छ। त्यतिबेला परिवारसँग दशैं मनाउने, टिका लगाउने अवसर पाएको थिएँ। तर हाल काठमाडौंमा ड्युटीका कारण दशैंमा टिका लगाउने समय मिलाउनै कठिन हुन्छ। यसवर्ष पनि टिकाको दिन बिहानदेखि बेलुकासम्म ड्युटीमै हुने भएकाले भोलि वा पर्सिपल्ट समय मिले मात्र परिवार भेटेर टिका लगाउने योजना छ।
चाडपर्वसँग जोडिएको स्मृति
स्कूल जीवनमा दशैं–तिहारको लामो बिदा हुन्थ्यो। त्यतिबेला पिङ खेल्ने, मामा घर जाने तयारी गर्न महिनौं अघिदेखि उत्साह चुलिन्थ्यो। तर उमेरसँगै जिम्मेवारी बढ्दै जाँदा चाडपर्वको उत्साह भने क्रमशः घट्दै गएछ। स्वास्थ्य क्षेत्रमा त झन् जनशक्ति अभावका कारण कामको चाप अत्याधिक हुन्छ। कहिलेकाहीँ बिरामी र माथिल्लो तह दुवैबाट आउने दबाबका कारण खाना खानसमेत समय नपुग्ने हुन्छ। त्यस्ता दिनमा डाक्टर बनेकोमा पछुतोसमेत लाग्छ।
गत वर्ष मात्रै दशैंको साइतमा टिका लगाउने अवसर मिलेको थियो। त्यसबाहेक डाक्टर बनेको यतिका वर्षमा खासै साइतको टिका लगाउने मौका पाएको छैन।
दशैंलाई स्वास्थ्यसँगै जोडौं
दशैं प्रत्येक वर्ष आउने चाड हो। यो केवल खाने–पिउने र रमाइलो गर्ने चाड मात्र होइन, स्वास्थ्यको ख्याल राख्ने चाड पनि हो। जीवनमा स्वास्थ्यलाई प्राथमिकता दिन सके प्रत्येक वर्ष दशैं मनाउने अवसर पक्कै पाइन्छ। त्यसैले मेरो सानो आग्रह छ, 'यसपालि दशैंलाई परिवारसँग रमाइलो गर्ने मात्र नभई स्वास्थ्यप्रति सजग हुने पर्वका रूपमा पनि मनाऔं।'