हिमाली जिल्ला डोल्पामा चारवटा एम्बुलेन्स छन्, जसमध्ये तीनवटा सञ्चालनमा छन्। त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकासँग एक-एकवटा एम्बुलेन्स छन्। त्यस्तै, मुड्केचुला गाउँपालिकाले पनि एउटा एम्बुलेन्स खरिद गरेको छ। स्वास्थ्य सेवा कार्यालयसँग दुईवटा एम्बुलेन्स छन्, जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएको अवस्थामा छ।
जिल्लामा चारवटा एम्बुलेन्स सञ्चालनमा हुँदा पनि बिरामीको आवागमनमा समस्या भइरहेको छ। तीनवटा पालिकासँग एम्बुलेन्स भए पनि तिनीहरूको सेवा जिल्लाभित्र मात्र सीमित छ। पालिकाका एम्बुलेन्सले जिल्लाबाहिर लैजानुपर्ने बिरामी नबोक्ने भएकाले समस्या भएको हो। तर, स्वास्थ्य सेवा कार्यालय डोल्पाद्वारा सञ्चालित एउटा एम्बुलेन्सले जिल्लाबाहिर पनि सेवा दिइरहेको छ।
दुर्गम क्षेत्रमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामी र तत्काल जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने अवस्था छ। त्यस्ता बिरामीलाई शहरका सुविधासम्पन्न अस्पतालमा लैजान एउटा एम्बुलेन्सले मात्र नभ्याउने अवस्था छ।
डोल्पासम्म सडक सञ्जालले जोडे पनि बर्खायाममा छ महिनाभन्दा बढी समय नेपालगञ्ज र सुर्खेतसम्मको सिधा सेवा अवरुद्ध हुन्छ। तर, हिउँदमा भने एम्बुलेन्स सिधै लैजान सकिन्छ। त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले एउटा एम्बुलेन्स खरिद गरेको थियो। पछि भारतीय राजदूतावासको सहयोगमा अर्को एम्बुलेन्स थपिएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकासँग एम्बुलेन्स छन्। ठूलीभेरीको एम्बुलेन्स भारतीय राजदूतावासबाट उपहारस्वरूप प्राप्त भएको हो भने त्रिपुरासुन्दरीले आफैँ खरिद गरेको हो। दुवै पालिकाले एम्बुलेन्स सञ्चालन गरेपछि जिल्ला अस्पतालमा लैजानुपर्ने गम्भीर बिरामीलाई धेरै राहत भएको छ। त्रिपुरासुन्दरीका सबै ११ वडाका सेवाग्राहीले सुविधा प्राप्त गरेका छन् भने ठूलीभेरीले पनि सहज सेवा प्रदान गरिरहेको छ। तर, पालिकाका एम्बुलेन्सले जिल्लाबाहिर बिरामी नलैजाँदा तिनीहरूको सेवा खासै प्रभावकारी हुन सकेको छैन। फलस्वरूप, स्वास्थ्य सेवा कार्यालयको एउटा एम्बुलेन्समाथि सबै बोझ परेको छ।
जिल्लाभरि एउटा मात्र एम्बुलेन्सले अन्तरजिल्ला सेवा दिन कठिन छ, जसले बिरामीलाई मर्कामा पारेको छ। त्रिपुरासुन्दरी नगरपालिकाले पालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई जिल्ला अस्पतालसम्म पुर्याउन र फर्काउन निःशुल्क सेवा प्रदान गरेर धेरैलाई राहत दिएको छ। तर, जिल्लाबाट रिफर भएर नेपालगञ्ज र सुर्खेत जाने बिरामीले यी पालिकाका एम्बुलेन्स सेवा वर्षौंदेखि पाउन सकेका छैनन्। यस विषयमा बारम्बार नगरप्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृतसँग कुरा राख्दा चालकले नमानेको र चालकसँग बुझ्दा गाडी बिग्रिएको भन्दै एकअर्कामाथि दोषारोपण गर्ने गरेको पाइन्छ।
नेपालकै ठूलो जिल्लामा एउटा मात्र एम्बुलेन्सले सेवा दिँदा स्वास्थ्य सेवा कार्यालयका चालकलाई कामको बोझले नभ्याउने अवस्था छ। डोल्पाबाट नेपालगञ्ज र सुर्खेतको यात्रामा करिब ६० किलोमिटर कच्ची बाटो प्रयोग गर्नुपर्छ, जसले चालकलाई थकान हुने र आराम गर्न नपाउने अवस्था छ। एउटै एम्बुलेन्सको भर पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ। पालिकाले जिल्लाबाहिर सेवा नदिनुको मुख्य कारण चालकको न्यून तलब र बाटोखर्चको व्यवस्था नहुनु हो। स्थानीय सरकारले वार्षिक करोडौँ रकम खर्च गरे पनि रातदिन खट्ने चालकका लागि सामान्य भत्ताको व्यवस्था नगर्दा बिरामीले सास्ती भोग्नुपरेको छ।
पालिकाका एम्बुलेन्स जिल्लाबाहिर नजाने र एउटा मात्र एम्बुलेन्सले नभ्याउँदा जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीले महँगो भाडामा जीप रिजर्भ गर्नुपर्ने बाध्यता छ। उदाहरणका लागि, त्रिपुरासुन्दरी नगरपालिकाको चुँ गार्ड भन्ने ठाउँमा खोलामा नेपालगञ्जबाट आउँदै गरेको जीप फसेपछि यात्रुहरूले जीप तान्न ढुंगा राख्ने क्रममा विपरीत दिशाबाट आएको बसले एक यात्रुलाई ठक्कर दियो, जसले गर्दा टाउकोमा गम्भीर चोट लाग्यो। तत्काल जिल्ला अस्पताल पुर्याइएका ती बिरामीलाई तुरुन्तै जिल्लाबाहिर रिफर गरियो। स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले उनलाई नेपालगञ्ज पुर्यायो। तर, त्यही दिन बिरामी लिएर फर्केका चालकले आराम नपाउँदा कोहलपुर पुगेपछि दुर्घटना भयो, यद्यपि ठूलो चोट भने लागेन।
त्यस्तै, केही समयअघि १२ वर्षीय एक बालकको एक्स-रे गर्दा आन्द्रामा प्वाल परेको देखियो र तत्काल नेपालगञ्ज वा सुर्खेत लैजानुपर्ने भयो। तर, स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स अघिल्लो दिन नै बिरामी लिएर नेपालगञ्ज गएको थियो। पालिकाका एम्बुलेन्सले ती बिरामी लैजान मानेनन्। अन्य गाडी खोज्दाखोज्दै घण्टौँ बित्यो। बिहान ११ बजे रिफर गरिएका ती बालक साँझ ५ बजे मात्र गाडीमा हिँडे। बिडम्बना, समयमै एम्बुलेन्स सेवा नपाउँदा उनले अस्पताल पुग्नुअघि नै बाटोमा ज्यान गुमाए। यदि पालिकाका एम्बुलेन्सले नेपालगञ्ज वा सुर्खेत लैजान मानेको भए उनको ज्यान बच्न सक्थ्यो।
यी एम्बुलेन्स सेवासँग जोडिएका प्रतिनिधिमूलक घटना मात्र हुन्। यस्ता थुप्रै घटना दिनहुँ भइरहेका छन्। स्थानीय सरकारले चालकलाई राम्रो सेवा-सुविधा र बाटोखर्चको व्यवस्था मात्र गरिदिए पनि चालकहरू खुशीसाथ जिल्लाबाहिर जाने बुझिन्छ। यसले बिरामीको ज्यान बचाउन सकिन्छ। साथै, पालिकाले प्रदान गर्दै आएको आन्तरिक सेवालाई जिल्लाबाहिर पनि विस्तार गर्न आवश्यक छ, नत्र आन्तरिक सेवाको मात्र औचित्य देखिँदैन।
(डा उपाध्याय जिल्ला अस्पताल डोल्पामा ४ वर्ष मेडिकल अधिकृतको रुपमा काम गरि हालै अस्पतालबाट बिदा भएका हुन् ।)