काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि होल्ड भएको छ।
अन्तरिम सरकारका एक मन्त्रीका अनुसार डा. मिश्राको नियुक्ति होल्डमा राखेर अन्य सिफारिस भएका मन्त्रीहरूलाई आजै (सोमबार) दिउसो २ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ।
सिफारिस मन्त्री र मन्त्रालय
• अनिलकुमार सिन्हा : उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण
• महावीर पुन : शिक्षा तथा विज्ञान प्रविधि
• मदनप्रसाद परियार : कृषि तथा पशुपन्छी विकास
• जगदीश खरेल : सूचना तथा सञ्चार
• डा संगीता मिश्रा : स्वास्थ्य तथा जनसंख्या
स्वास्थ्य मन्त्रीको नियुक्ति किन होल्ड ?
स्वास्थ्य तथा मन्त्रालयको पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई यसअघि नै प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेकी थिइन्।
जेन-जी आन्दोलनपछि मात्रै सरकारी सेवामा फर्किएकी उनले मन्त्रीको लाइन मिलाएर आइतबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामा आइतबार नै स्वीकृत गरेर मन्त्रीका लागि सिफारिस गरिएको थियो।
उनको नियुक्ति किन होल्डमा राखिएको विषयमा आधिकारिक कारण भनिएको छैन । तर ६ महिनाभन्दा लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएको विषयलाई पेचिलो रुपमा उठाइएको छ। त्यसैगरी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको छ । मेडिकल उपकरण खरिदका अन्य फाइल पनि अख्तियारमा छानविनकै क्रममा छन्।
११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद लगायतका विषय पनि फेरि बाहिर आएन थालेपछि नियुक्ति र सपथको विषय होल्डमा राखिएको बताइएको छ।
'उहाँले स्वास्थ्य मन्त्रालयलाई धोका दिएको र खरिद लगायतका विवादको विषय बाहिर आएपछि थप छलफल गर्ने भन्दै होल्डमा राखिएको हो,' प्रधानमन्त्री कार्की निकट स्रोतले भन्यो।