‘हामी सबैलाई थाहा छ’ भारी वर्षा, बाढी र पहिरोले कस्तो विनाश निम्त्याउन सक्छ, तर पनि हरेक वर्ष हामीले त्यही गल्ती दोहोर्याइरहेका हुन्छौं। बाल्यकालदेखि नै मैले हाम्रो नेपाली समुदायमा हुने बेवास्ता र लापरवाही देख्दै आएको छु। चेतावनी सुनेर पनि बेवास्ता गर्ने, जोखिम थाहा हुँदाहुँदै पनि जोखिमयुक्त गतिबिधिमा लाग्ने हाम्रो बानी। प्राकृतिक प्रकोपले मात्र होइन, हाम्रो आफ्नै असावधानी र अति आत्मविश्वासले कति जीवनहरू गुमाइएका छन्। आज पनि कसैले मनोरञ्जनका लागि बाढीको पानीमा हाम फाल्छन्, कसैले मोटरसाइकल चढेर खोला पार गर्न खोज्छन्, कसैले मौसम विभागको चेतावनीलाई मजाक ठान्छन्, अनि त्यसको मूल्य ज्यानले तिर्नुपर्ने हुन्छ। म यो कुरा मनबाट भन्न चाहन्छु; कुनै पनि आवश्यकता, बाध्यता वा मोह ज्यानभन्दा ठूलो छैनन्। घर, सम्पत्ति वा वस्तु फेरि जोहगर्न सकिन्छ, तर गुमाएका जीवन कहिल्यै फर्किँदैन्। सावधानी अपनाउनु हामी कसैको पनि कमजोरी होइन, चेतना र धैर्य नै वास्तविक र सुरक्षित जीवनको मूल मन्त्र हो। सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ; हाम्रै लागि, हाम्रा परिवारका लागि, र हाम्रो समुदायको भविष्यका लागि। त्यसैले, ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही महत्वपूर्ण र सामान्य कुरा यहाँ प्रस्तुत गरेको छु:
१. मौसम विभागले जारी गरेको सूचना पालना गर्ने
मौसम पूर्वानुमान विभागले वर्षा, बाढी, पहिरो जस्ता प्राकृतिक विपद्सँग सम्बन्धित सावधानी समयमै जारी गर्ने गर्दछ। यस्ता सावधानीहरूले आम जनजीवन सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। त्यसैले रेडियो, टेलिभिजन, अनलाइन पोर्टल वा मोबाइल एप्समार्फत प्रकाशित हुने यी सूचनाहरू ध्यानपूर्वक सुन्नु र बुझ्नु अत्यावश्यक हुन्छ। समयमै प्राप्त जानकारीका आधारमा सुरक्षित स्थानमा सर्ने, यात्रा स्थगित गर्ने वा आवश्यक तयारी गर्ने जस्ता निर्णय लिन सकिन्छ। यसरी सचेत रहँदा जोखिम घटाउन र सम्भावित क्षति न्यून पार्न सकिन्छ।
२. चेतावनीलाई बेवास्ता नगर्ने
प्रायः मानिसहरूले चेतावनी सुने पनि बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ। तर चेतावनी भनेको डराउने कुरा होइन, सुरक्षा तयारी गर्नका लागि हो। प्राकृतिक विपद्को जोखिम कम गर्न चेतावनीलाई गम्भीरतापूर्वक लिनु आवश्यक हुन्छ। स्थानीय प्रशासन वा सुरक्षाकर्मीले दिएको निर्देशन तुरुन्त पालना गर्ने, किनकि ढिलाइले जोखिम अझ बढाउँछ। समयमै कदम चाल्दा जीवन र सम्पत्ति दुवै सुरक्षित राख्न सकिन्छ।
३. बाढीमा बगाएर ल्याएको दाउरा वा वस्तु समाउन नदीमा नकुद्नु
बाढीले बगाएर ल्याएको काठ, दाउरा वा अन्य वस्तु देख्दा लोभ लाग्न सक्छ, तर समाउन पौडिने प्रयास निकै जोखिमपूर्ण हुन्छ। ती वस्तुहरू बाढीको तीव्र बहावले पुनः तान्न सक्छ, जसले ज्यान नै जोखिममा पार्छ। यस्ता घटनामा धेरै मानिसहरूले जीवन गुमाएका उदाहरणहरू छन्। यस्तो अवस्थामा सम्झनुहोस्, कुनै पनि वस्तु जीवनभन्दा मूल्यवान् छैन। त्यसैले, बाढीको पानीमा कहिल्यै नपौडिनुहोला र आफ्नो सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राख्नुहोला।
४. पहिरो गएको ठाउँमा जबरजस्ती गाडी चलाएर नजानु
पहिरो गएको क्षेत्रमा सडक प्रायः कमजोर, चिप्लो र अस्थिर हुन्छ, जसले गाडी चलाउँदा ठूलो जोखिम निम्त्याउँछ। जबरजस्ती गाडी चलाउँदा सडक भासिन सक्छ वा दोहोरिने पहिरोले दुर्घटना गराउन सक्छ। त्यसैले, सडक पूर्ण रूपमा सुरक्षित भएको आधिकारिक जानकारी प्राप्त नभएसम्म त्यस्तो क्षेत्रमा यात्रा नगर्नुहोला। धैर्य र सतर्कता अपनाउँदा जीवन र सम्पत्ति दुवै सुरक्षित रहन्छ।
५. मोटरसाइकल वा गाडी चलाएर खोला तर्ने प्रयास नगर्नु
बाढीमा पानीको बहाव अनुमान गर्न सकिँदैन, र थोरै गहिरोमा पनि पानी बहावले पनि मोटरसाइकल वा गाडीलाई सजिलै बगाउन सक्छ। यस्तो जोखिमपूर्ण प्रयासले जीवनलाई ठूलो खतरा पुर्याउँछ। त्यसैले, खोला तर्ने प्रयास नगरी सुरक्षित बाटो रोज्नुहोला। सतर्कता अपनाउँदा दुर्घटनाबाट बच्न सकिन्छ।
६. वर्षामा बाटो चिप्लो हुने हुँदा तीव्र गतिमा गाडी नचलाउनु
वर्षा भएपछि सडकमा हिलो र चट्टानी स-साना ढुंगाले सतह चिप्लो बनाउँछ, जसले सवारी साधन नियन्त्रण गुमाउने सम्भावना बढाउँछ। नसालु पदार्थ सेवन, तीव्र गति वा ‘अति-आत्मविश्वास’ दुर्घटनाको मुख्य कारण बन्न सक्छ। त्यसैले, वर्षामा गाडी चलाउँदा बिस्तारै, नियन्त्रणमा, र पर्याप्त दूरी कायम गरेर यात्रा गर्नुहोला। सतर्कता अपनाउँदा दुर्घटनाबाट बच्न सकिन्छ।
७. नसालु पदार्थ सेवन गरेर नदी-किनार नजानु
रक्सी वा अन्य नशालु पदार्थ सेवनले होस गुम्छ साथै शारीरिक नियन्त्रण कमजोर बनाउँछ, जसले नदी-किनारमा जानु अझ जोखिम तुल्याउँछ। यस्तो अवस्थामा लड्ने वा बग्ने सम्भावना धेरै हुन्छ। त्यसैले, रक्सी सेवन गरेर जोखिमपूर्ण स्थानमा कहिल्यै नजानुहोला। सजग रहनुहोला र जीवनलाई प्राथमिकता दिनुहोला।
८. खोला-किनारतिर घर भएमा सुरक्षित स्थानमा सर्ने
खोला-किनार वा पहिरोको जोखिमपूर्ण स्थानमा रहेका घर-बस्तीहरूमा अत्यन्त खतरा हुन्छ। स्थानीय प्रशासन वा विपद् व्यवास्थापन टोलीले निर्दिष्ट गरेको सुरक्षित स्थल प्रयोग गर्नुहोला। वर्षा सुरु हुनुअघि नै सुरक्षित स्थानमा सर्ने, जस्तै सामुदायिक भवन, विद्यालय, वा मन्दिर। समयमै स्थानान्तरण गर्दा जीवन र सम्पत्ति दुवै सुरक्षित रहन्छ।
९. विद्युत्, र ग्यासको सावधानी अपनाउने
बाढी वा पहिरो आउँदा बिजुलीको तार र ग्यास सिलिण्डर दुर्घटनाको प्रमुख कारण बन्न सक्छ। त्यसैले, घर छोड्नु अघि बिजुली र ग्यास बन्द गर्नु अत्यावश्यक हुन्छ। यी सावधानिहरू अपनाउँदा जीवन सुरक्षित रहन्छ।
१०. बाढीपछि पानी पिउनु अघि यसको सुरक्षितता सुनिश्चित गर्नु
बाढीपछि खानेपानीका मुहानहरू प्रायः दूषित हुन्छन्, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले, पानी पिउनु अघि यसको सुरक्षितता सुनिश्चित गर्नु अत्यावश्यक पर्छ। पानी उमाल्नुहोला, फिल्टर गर्नुहोला वा क्लोरिन ट्याबलेट प्रयोग गर्नुहोला। असुरक्षित पानीले झाडा, हैजा जस्ता रोग फैलाउँछ, त्यसैले सावधानी अपनाउनुहोला।
११. बाढीको पानीमा ‘सोसल मिडिया पोस्ट’का लागि स्टन्ट नगर्नु
बाढीको पानीमा पौडिने, पुलबाट हाम फाल्ने वा भिडियो खिच्ने प्रवृत्ति अत्यन्त खतरनाक हुन्छ। केही समयको मनोरञ्जनले जीवनभरको पछुतो ल्याउन सक्छ। सुरक्षा कुनै मजाक होइन, सचेत रहनुहोला र यस्तो जोखिमपूर्ण गतिविधि नगर्नुहोला।
१२. छिमेकी र समुदायसँग सहकार्य गर्ने
विपद्को समयमा एक्लै भन्दा पनि समुदायसँग सहकार्य गर्नु धेरै प्रभावकारी हुन्छ। वरिपरिका बालबालिका, वृद्ध, अपांग वा गर्भवतीलाई प्राथमिकताका साथ सहयोग पुर्याउने। साथै, साझा सूचना र चेतावनी सबैमा पुर्याउने बानी बसालौं, किनकि समयमै जानकारी र सहकार्यले ज्यान र सम्पत्ति दुवै जोगाउन मद्दत गर्छ।
१३. पहिले जीवन, पछि
घर, सम्पति वा वस्तु-जनावर फेरि प्राप्त गर्न सकिन्छ, तर ज्यान कहिल्यै फिर्ता आउँदैन। त्यसैले जोखिम बढेपछि आफ्नो सुरक्षालाई प्राथमिकता दिनुहोला। सम्झनुहोस्, पहिले जीवन, पछि सम्पत्ति। अन्ततः, बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो।
(अनुसन्धानकर्ता श्रेष्ठ नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन(निरी) नेपालमा कार्यरत छन्)