काठमाडौँ — पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतामा शतक पार गर्दै सबैभन्दा बलियो स्थिति बनाएको छ। प्राप्त विवरणअनुसार रास्वपाले १०१ स्थानमा अग्रता लिएको छ भने १ स्थानमा जित हासिल गरेको छ। यससँगै उसको कुल सिट संख्या १०२ पुगेको छ, जसले अन्य दलहरूभन्दा निकै अगाडि देखाएको छ।
यसैबीच नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ। कांग्रेसले ११ स्थानमा अग्रता कायम गरेको छ भने १ स्थानमा जित निकाल्दै कुल १२ सिट देखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ११ स्थानमा अग्रता कायम राखेको छ। यद्यपि, अहिलेसम्म उसले औपचारिक जित भने निकाल्न सकेको छैन।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ९ स्थानमा अग्रता लिएको छ तर हालसम्म जित भने सुनिश्चित गर्न सकेको छैन।
साना दल तथा अन्य समूहहरूको अवस्था हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) तथा श्रम संस्कृति पार्टीले १–१ स्थानमा अग्रता कायम गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि १ स्थानमा अग्रता लिएको देखिएको छ।