काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा चिकित्सक पृष्ठभूमिका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक देखिएको छ। प्रारम्भिक मतपरिणाम अनुसार दुई जना डाक्टर उम्मेदवार अग्रतामा रहँदा एक जना भने पछाडि परेका छन्।
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की अग्रतामा रहेकी छन्। हालसम्मको मतगणनाअनुसार उनले १,७४८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिस्पर्धीले १,५८० मत पाएका छन्। यससँगै कार्कीले प्रारम्भिक चरणमै उल्लेखनीय अग्रता बनाएकी छन्।
यस्तै, रुपन्देही–३ मा डा. लेखजंग थापा पनि अग्रतामा छन्। प्राप्त मतपरिणाम अनुसार उनले १,७९० मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।
तर मोरङ–३ मा भने डा. सुनिल शर्मा पछाडि परेका छन्। प्रारम्भिक मतगणनाअनुसार श्रम संस्कृति पार्टीका अमिर मगर ले २१८ मत ल्याएका छन् भने शर्मा ११९ मत सहित पछाडि छन्। दुवै उम्मेदवारबीच ९९ मतको अन्तर रहेको देखिन्छ।