नेपालमा चिकित्सा विज्ञान शिक्षा सधैँ प्रतिष्ठा, अनुशासन र सेवाभावसँग जोडिएको क्षेत्रका रूपमा चिनिन्छ। हरेक वर्ष हजारौँ विद्यार्थीहरूले कठोर प्रतिस्पर्धा पार गर्दै आफ्नो भविष्यलाई स्वास्थ्य सेवासँग जोड्ने सपना साकार पार्ने प्रयास गर्छन्। चिकित्सा शिक्षा आयोगले विभिन्न तहका (चिकित्सा, दन्त चिकित्सा, नर्सिङ, औषधि विज्ञान, जनस्वास्थ्य लगायतका) विषयहरूको आवेदन तथा भर्ना प्रक्रिया सम्पन्न गर्छ।
देशभरका विश्वविद्यालय र सम्बन्धित कलेजहरू तथा प्रतिष्ठानमा नयाँ शैक्षिक सत्र विधिवत रूपमा सुरु हुन्छ। चिकित्सा शिक्षा आयोगको स्थापनादेखि भर्ना तथा शुल्क प्रक्रिया पारदर्शी छ र यसले जनविश्वास समेत प्राप्त गरेको छ। नयाँ कक्षाको सुरुवातसँगै हजारौँ विद्यार्थीहरू उमङ्गका साथ नयाँ वातावरणमा प्रवेश गर्छन्। कतिपय विद्यार्थीहरू आफ्नो घरपरिवारबाट पहिलो पटक छुट्टिएका हुन्छन्। उनीहरूका आँखामा भविष्यका असंख्य सम्भावनाहरू तर मनमा केही स्वाभाविक डर र जिज्ञासासमेत हुन्छन्।
मलाई सहयोग गर्ने साथीहरू होलान् कि नहोलान्? आफूभन्दा सिनियरले कस्तो व्यवहार गर्लान्? गुरुहरूले कस्तो व्यवहार गर्लान्? छात्रावासमा बस्ने साथी कस्तो होला? साथीहरूसँग मिलेर बस्न सकिएला कि नसकिएला? नसकिने अवस्था भयो भने के गर्ने? यस्तो अवस्थामा कलेजको वातावरणले उनीहरूलाई स्वागत, हौसला, संरक्षण र मार्गदर्शन दिनुपर्छ। तर, केही कलेजहरूमा कनिष्ठ (जुनियर) माथि हुने उत्पीडनका घटना सार्वजनिक भइरहेका छन्। कतिपय विद्यार्थीहरूले आत्महत्या गर्ने प्रयास गरेको समाचार बाहिर आएका छन्। यस्तो समाचार तथा व्यवहारले समग्र चिकित्सा शिक्षाको वातावरणलाई नै प्रश्नको घेरामा उभ्याएको छ। यो लेख चिकित्सा विज्ञान शिक्षामा कनिष्ठमाथि हुने उत्पीडन, समस्या, चुनौती र समाधानको बारेमा केन्द्रित छ।
वर्तमान शैक्षिक सन्दर्भ र सामाजिक विविधता
नेपालमा चिकित्सा शिक्षा विभिन्न विश्वविद्यालयहरू तथा सम्बन्धन प्राप्त कलेजहरू र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइ हुन्छ। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू (बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) तथा अन्य सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले चिकित्सा शिक्षा पढाइ गरेका छन्।
यी सबै संस्थाहरूले मिलेर नेपालमा चिकित्सा शिक्षाको आधारभूत संरचना निर्माण गरेका छन्। यी संस्थाहरूमा देशका दुर्गम हिमाली भेगदेखि तराई र सहरसम्मका विद्यार्थीहरू अध्ययन गर्छन्। विदेशी विद्यार्थी खासगरी भारतबाट नेपालमा चिकित्सा शिक्षा पढ्न आउने विद्यार्थी पनि हरेक वर्ष बढिरहेका छन्। एसियाका धेरै देशको तुलनामा नेपालको चिकित्सा शिक्षा अब्बल खालको भएको अध्ययनहरूले देखाएका छन्।
भौगोलिक, सांस्कृतिक, भाषिक र आर्थिक विविधता भएका विद्यार्थीहरू एउटै छानामुनि बसेर अध्ययन गर्छन्। यस्तो विविधताले सहिष्णुता, पारस्परिक सम्मान र सहकार्यको भावना विकास गर्नुपर्छ। तर, यदि यो विविधतालाई कमजोरीका रूपमा व्याख्या गरियो भने त्यसले विभाजन, उपेक्षा र उत्पीडनको रूप लिन सक्छ। कनिष्ठ विद्यार्थीहरू प्रायः नयाँ वातावरणमा अनभिज्ञ हुन्छन्, र यही अवस्थालाई सिनियर विद्यार्थीले जुनियरलाई, सिनियर डाक्टरले जुनियर डाक्टरलाई हेप्ने, डर-धाक दिने र अनुचित रूपमा दबाब दिने गरेको सुनिन्छ। यस्तो अवस्थामा जुनियरको आत्मसम्मानमा ठेस लाग्छ, दुःखित बनाउँछ र पढ्ने मन नलाग्ने जस्ता अवस्था हुँदै आत्मबल कमजोर हुने र आत्महत्या गर्ने प्रयास समेत हुन्छ।
उत्पीडनको स्वरूप र मनोवैज्ञानिक पक्ष
जुनियरमाथि हुने उत्पीडन विभिन्न रूपमा देखा पर्न सक्छ। कतिपय अवस्थामा सिनियर विद्यार्थीहरूले जुनियरलाई अनावश्यक आदेश दिनु, सार्वजनिक रूपमा अपमान गर्नु, भाषा, धर्मको आडमा हाँसोको पात्र बनाउनु वा व्यक्तिगत जीवनबारे अपमानजनक टिप्पणी गर्ने जस्ता कार्य गरेको सुनिन्छ। कहिलेकाहीँ यस्तो व्यवहारलाई “परिचय कार्यक्रम” को नाम दिइन्छ, तर वास्तविकता भने अपमान र डरको वातावरण सिर्जना गर्नु नै हो।
नयाँ वातावरणमा आएका विद्यार्थीहरू पहिले नै घरपरिवारबाट टाढा हुन्छन्। उनीहरू शैक्षिक रूपमा कडा प्रतिस्पर्धा पार गरेर आएका हुन्छन्, जसका कारण उनीहरूमा उच्च अपेक्षा र दबाब हुन्छ। यस्तो अवस्थामा यदि सिनियरबाट प्रोत्साहन र मार्गदर्शनको सट्टा अपमानजनक व्यवहार भयो भने उनीहरूको आत्मविश्वास कमजोर हुन्छ। उनीहरू आफूलाई असुरक्षित र एक्लो महसुस गर्न थाल्छन्।
मनोवैज्ञानिक दृष्टिले हेर्दा, बारम्बारको अपमान र डरले आत्मसम्मानमा गम्भीर चोट पुर्याउँछ। यसले चिन्ता, उदासी, निराशा र पढाइप्रति अरुचि उत्पन्न गर्न सक्छ। चिकित्सा शिक्षा आफैँमा कठिन र अनुशासनयुक्त क्षेत्र हो। यदि मानसिक दबाब थपियो भने विद्यार्थीको समग्र विकासमा अवरोध सिर्जना हुन्छ।
चिकित्सा पेशाको मूल्यमान्यता र व्यवहारगत विरोधाभास
चिकित्सा विज्ञानको मूल आधार मानवीय संवेदना, करुणा र समानुभूति हो। एक चिकित्सक वा नर्सले बिरामीको पीडा बुझ्नुपर्छ, उसको सामाजिक, पारिवारिक तथा आर्थिक अवस्थाप्रति धैर्य र संवेदनशीलता देखाउनुपर्छ। यदि विद्यार्थी जीवनमै कसैलाई मानसिक रूपमा थिच्ने प्रवृत्ति विकसित भयो भने भविष्यमा पेशागत व्यवहारमा पनि त्यसको प्रभाव देखिन सक्छ।
सिनियर विद्यार्थीहरू तथा डाक्टरले बुझ्नुपर्ने कुरा के हो भने उनीहरू पनि कुनै समय जुनियर नै थिए। यदि उनीहरूले भोगेको अपमानलाई परम्पराका रूपमा निरन्तरता दिए भने त्यो अन्यायको चक्र कहिल्यै अन्त्य हुँदैन। सच्चा नेतृत्व भनेको आफूले भोगेको कमजोरीलाई सुधार गर्दै नयाँ पुस्तालाई सुरक्षित वातावरण दिनु हो।
प्रशासनको उत्तरदायित्व र निगरानीको आवश्यकता
कलेज तथा विश्वविद्यालय प्रशासनले सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गर्नु आफ्नो पहिलो दायित्वका रूपमा लिनुपर्छ। अपमान तथा उत्पीडन नियन्त्रण गर्न स्पष्ट नियम, कडा अनुशासन र प्रभावकारी अनुगमन आवश्यक छ।
सबैभन्दा पहिले, अपमान तथा उत्पीडनविरुद्ध शून्य सहनशीलता नीति लागू गरिनुपर्छ। कुनै पनि प्रकारको अपमानजनक व्यवहार सह्य नहुने स्पष्ट सन्देश दिनुपर्छ। दोस्रो, नयाँ तथा पुराना विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी नैतिक आचरण, पारस्परिक सम्मान र कानुनी पक्षबारे जानकारी गराउनुपर्छ।
तेस्रो, गोप्य उजुरी प्रणाली स्थापना गर्नुपर्छ, जसबाट कनिष्ठ विद्यार्थीहरूले डरविना आफ्नो समस्या राख्न सकून्।
चौथो, मानसिक परामर्श सेवा उपलब्ध गराउनु अत्यन्त आवश्यक छ। यदि कुनै विद्यार्थी मानसिक रूपमा प्रभावित भएको छ भने समयमै सहयोग प्राप्त हुनुपर्छ। त्यसैगरी चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित बिषयका काउन्सिलले पनि आफ्ना निर्देशिकामार्फत सबै सम्बन्धित कलेजहरूलाई उत्पीडन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिनुपर्छ। यदि कुनै संस्थामा बारम्बार यस्ता घटना दोहोरिए भने आवश्यक प्रशासनिक कारबाही गर्नुपर्छ।
त्यसैगरी चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित विषयका काउन्सिलले पनि आफ्ना निर्देशिकामार्फत सबै सम्बन्धित कलेजहरूलाई उत्पीडन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिनुपर्छ। यदि कुनै संस्थामा बारम्बार यस्ता घटना दोहोरिए भने आवश्यक प्रशासनिक कारबाही गर्नुपर्छ।
सिनियरहरूको सकारात्मक भूमिका
सिनियर विद्यार्थीहरू तथा डाक्टरहरू जुनियरका लागि प्रेरणाका स्रोत हुनुपर्छ। उनीहरूले अध्ययन सामग्री, परीक्षा तयारी, कक्षा सञ्चालन शैली, अस्पताल अभ्यासको अनुभव आदिबारे महत्वपूर्ण मार्गदर्शन, सल्लाह तथा सुझाव दिनुपर्छ। त्यसैगरी जुनियरले पनि सिनियरबाट सिक्ने तथा सहयोग लिने कोसिस गर्नुपर्छ।
यदि स्नातक तहमा प्रत्येक विद्यार्थीलाई एक जिम्मेवार सहयोगी शिक्षक (Mentor) तोकियो भने नयाँ विद्यार्थीले आफूलाई सुरक्षित र माया प्राप्त गरेको महसुस गर्न सक्छ। यसले मित्रता, सहकार्य र विश्वासको वातावरण सिर्जना गर्छ। विद्यार्थीले आफ्नो समस्या खुलेर राख्न सक्छन्। शिक्षकले पनि उनीहरूका समस्या बुझेर सहयोगीको भूमिका खेल्न सक्छन्।
चिकित्सा शिक्षा समूहगत प्रयासमा आधारित हुन्छ। अस्पतालमा काम गर्दा चिकित्सक, नर्स, औषधि विज्ञ, प्रयोगशाला प्राविधिक तथा अस्पताल सहयोगी सबैले सहकार्य गर्नुपर्छ। हाम्रो सम्पूर्ण जीवनमै सहकार्यको संस्कार विकास गर्नु आवश्यक छ।
अभिभावक र समाजको भूमिका
अभिभावकहरूले आफ्ना सन्तानसँग नियमित संवाद राख्नुपर्छ। यदि उनीहरूको व्यवहारमा अचानक परिवर्तन, अत्यधिक डर, निराशा वा पढाइप्रति अरुचि देखियो भने त्यसको कारण खोज्नुपर्छ। समयमै सहयोग पुगेमा गम्भीर परिणामबाट बच्न सकिन्छ।
समाजले पनि उत्पीडनलाई सामान्य परम्पराका रूपमा स्वीकार गर्नु हुँदैन। “हामीले पनि भोगेका थियौँ” भन्ने सोचले समस्या समाधान हुँदैन। बरु आत्मसम्मान र सहिष्णुतामा आधारित शैक्षिक संस्कार विकास गर्नु आजको आवश्यकता हो।
कानुनी र नैतिक पक्ष
नेपालको कानुनी संरचनाले कुनै पनि प्रकारको मानसिक वा शारीरिक हिंसालाई अपराध मानेको छ। शैक्षिक संस्थाभित्र हुने उत्पीडन पनि कानुनी दायराभित्र पर्छ। दोषी प्रमाणित भएमा प्रशासनिक तथा कानुनी कारबाही हुन सक्छ।
चिकित्सा पेशा नैतिक संहितामा आधारित भएकाले विद्यार्थी अवस्थामै अनुशासन, मर्यादा र मानवीय मूल्य पालन गर्नु अनिवार्य छ। यदि हामी सहपाठीप्रति सम्मानजनक व्यवहार गर्न सक्दैनौँ भने भविष्यमा बिरामीप्रति संवेदनशीलता देखाउन कठिन हुन्छ।
समाधानतर्फको मार्ग
सिनियरले जुनियरमाथि गर्ने नकारात्मक व्यवहारको समाधानका लागि हरेक शैक्षिक संस्थाले स्पष्ट तथा दीर्घकालीन योजना बनाउन आवश्यक छ। गुनासो राख्ने तथा सुन्ने व्यवस्था, सहकार्यमा आधारित अध्ययन समूह गठन, नेतृत्व विकास तालिम, नियमित अन्तरक्रिया कार्यक्रम तथा परामर्श सेवा विस्तार जस्ता कदम प्रभावकारी हुन सक्छन्।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानसिकता परिवर्तन हो। सिनियरहरूले जुनियरलाई सन्तान वा भाइबहिनीसरह माया, सहयोग र संरक्षण दिनुपर्छ। प्रशासनले कडाइका साथ निगरानी गर्दै सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ।
अन्ततः, चिकित्सा विज्ञान शिक्षा केवल पेशागत दक्षता हासिल गर्ने माध्यम होइन; यो मानवताको सेवा गर्ने तयारी हो। नेपालमा स्नातक तहको भर्खरै मात्र नयाँ शैक्षिक सत्र सुरु भएको छ र हजारौँ विद्यार्थीहरूले आफ्नो जीवनको महत्वपूर्ण यात्रा प्रारम्भ गरेका छन्। यस्तो अवस्थामा उनीहरूलाई डर होइन, भरोसा चाहिन्छ; अपमान होइन, सम्मान चाहिन्छ; उत्पीडन होइन, मार्गदर्शन चाहिन्छ। माया चाहिन्छ, स्नेह चाहिन्छ।
सुरक्षित, सहयोगी र सम्मानजनक शैक्षिक वातावरणले मात्र सक्षम, संवेदनशील र जिम्मेवार स्वास्थ्यकर्मी उत्पादन गर्न सक्छ। त्यसैले नयाँ विद्यार्थीमाथि हुने उत्पीडनलाई पूर्ण रूपमा अन्त्य गर्दै समानुभूति र सहकार्यको संस्कार विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो।
(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य संकायका पूर्वप्रमुख हुन्।)