काठमाडौं - नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित चार डेन्टल क्लिनिकको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा ती डेन्टल क्लिनीकले आवयश्क न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाइएको छ। काउन्सिलका सदस्यहरु डा अजय कुमार शाह र डा अस्मिता पोखरेल, डा भुमेश काफ्ले र डा हरी वली र रमिला मानन्धरको टोलीले काठमाडौंमा सञ्चालित डेन्टल क्लिनिकको अनुगमन गरेका थिए। उक्त टोलीले पुजा डेन्टल क्लिनिक, नाईस स्माईल डेन्टल, नागेश्वर डेन्टल होम र आरुबारी डेन्टल क्लिनिकमा निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा पुजा डेन्टल क्लिनिक र नाईस स्माईल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको, सम्बन्धित निकायमा विधिवत दर्ता नभएको पाइएको डा भुमेश काफ्लले बताए।
साथै दक्ष दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको पाइएको छ। क्लिनिकमा उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्स–रे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको समेत भेटिएको काउन्सिलले जनाएको छ।
यस्तै, आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित डाक्टरसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको छ। नागेश्वर डेन्टल होममा फुलटाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सक मार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले डेन्टल क्लिनिकको यस किसिमको लापरबाहीले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना गरेको निष्कर्ष निकालेको छ। काउन्सिलले नाईस स्माईल डेन्टल केयर प्रालि र पुजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ। आवश्यक कारबाहीका लागी आजै एउटा पत्र काठमाडौं महानगरपालिकामा समेत पठाइएको छ। आगामी दिनमा पनि यस किसिमको अनुगमनलाई निरन्तरता दिने काउन्सिलले जनाएको छ।