दाङ- भनिन्छ, इच्छाशक्ति र निरन्तरको मिहिनेत छ भने गरिबी र अभाव कहिल्यै पनि सफलताको बाधक बन्दैनन्। यसैको जीवन्त उदाहरण बनेका छन्, सिराहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफी। दिनभर निर्माण क्षेत्रमा मजदुरी गर्ने र रातभर पढ्ने सत्यनारायणले अन्ततः चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर आफ्नो सपनाको पहिलो पाइला 'सेतो एप्रोन' (ह्वाइट कोट) सम्म पुर्याएका छन्।
ह्वाइट कोट सेरेमनी: सपनाले पाएको रङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत ५० जना विद्यार्थीहरूका लागि आयोजित ‘ह्वाइट कोट सेरेमनी’ मा सत्यनारायण निकै भावुक र खुसी देखिए। प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल, निमित्त डिन प्राडा. रमेश कँडेल र अस्पताल निर्देशक प्राडा. जनार्दन पन्थीले उनलाई संयुक्त रूपमा सेतो एप्रोन लगाइदिएका थिए। सेतो कोट चिकित्सक जीवनको गरिमा र जिम्मेवारीको प्रतीक मानिन्छ।
सो अवसरमा निमित्त उपकुलपति प्रा. लम्सालले चिकित्सा पेशाको मर्यादा र नैतिकताको बारेमा मार्गनिर्देशन गरे भने डा. पन्थीले स्वास्थ्य सेवामा समर्पण र मानवीय भावना अपरिहार्य रहेको बताए।
मजदुरीदेखि एमबीबीएससम्मको संघर्षपूर्ण यात्रा
दलित समुदायका सत्यनारायणको परिवारसँग सम्पत्तिको नाममा साढे चार धुर घडेरी र एउटा फुसको झुप्रो मात्र छ। बुबा मधुरी साफी वैदेशिक रोजगारीबाट फर्केर गाउँमै मजदुरी गर्छन्। जेठा छोरा सत्यनारायणले २०७७ मा गाउँकै विद्यालयबाट एसईई र २०७९ मा विराटनगरबाट १२ कक्षा उत्तीर्ण गरेपछि उनमा डाक्टर बन्ने भोक जाग्यो।
आर्थिक अभावकै कारण काठमाडौँमा तयारी कक्षा लिन गएका उनी दुई महिनामै घर फर्किन बाध्य भए। तर, उनले हार मानेनन्। उनले दुई वर्षसम्म बुबाआमासँगै निर्माण क्षेत्रमा मजदुरी गरे।
उनले मजदुरीबाट जम्मा गरेको पैसाले किताब किनेर स्वाध्ययन गरे र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्न सफल भए।
सफलतासँगै खर्चको चिन्ता
आमा सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ ऋण लिएर छोरालाई दाङ पुर्याइन्। ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनलाई पढाइ शुल्क (ट्युसन फि) नलागे पनि अन्य खर्चको ठूलो चिन्ता छ। छात्रवृत्ति पाए पनि ५ वर्षे अवधिमा बसोबास, खानपान, शैक्षिक सामग्री र यातायातमा कम्तीमा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। तर, आफ्नो दृढ विश्वास र कडा परिश्रमले यो चुनौती पनि पार गर्ने अठोट सत्यनारायणमा देखिन्छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल एमबीबीएस दोस्रो ब्याचमा ४ जना विदेशीसहित ५० जना विद्यार्थी अध्ययनरत छन्। प्रतिष्ठानले बीएनएस, बीएससी नर्सिङ, एमडी/एमएस र फेलोसिप कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ भने निकट भविष्यमा पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।