नेपालको लोपोन्मुख राउटे समुदाय अहिले सुर्खेत स्थित लेकबेसि नगर पालिकाको जङ्गलमा पाल टागेर बसेका छन।कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुका जङ्गलमा अस्थायी बसोवास गर्दै आएका सुवंशी, कल्याल र रास्कोटी थरिका जातिगत बनावट रहेका राउटेको हाल ४२ घरधुरी रहेको छ। घरधुरी घटबढ भैरहने राउटे समुदायका अगुवा तथा उनीहरुको रेखदेखमा खटिएका सोसेक नेपालका कर्मचारी बताउँछन्। हाल १३६ जना मध्ये ४ जना नवजात शिशु रहेका छन्।
आफूलाई जङ्गलको राजा र उपभोगकर्ताका रुपमा चिनाउने र अरुलाई दुनियाँ भनेर चिन्ने यस समुदायका मानिसहरु काठबाट निर्मित बिभिन्न सामाग्रीहरु बेचेर पनि पेट पाल्ने समुदाय हो। साथै बिभिन्न जङ्गली जनावरको शिकार गरी मासु खाने भएपनि हाल अत्यधिक रुपमा कुखुरा तथा खसीको मासु किनेर खाने गरेको पाइएको छ।
बर्तमान समयमा नेपालको शहरी तथा ग्रामिण बिभिन्न समुदायमा मादक पदार्थको सेवन बढ्दै गएसँगै मानव स्वास्य समस्याको कारक बनेको बताइन्छ । राउटे समुदायमा झनै स-साना बालबालिका, सुत्केरL महिला, युवा युवती, बयस्क र बर्द्धबृद्धा कोही बाँकि नभई एकनासले आफूबाट उत्पादित तथा बजारिया मादक पदार्थ सेवन गर्ने गर्नाले जोखिमपूर्ण जीवनशैली बन्दै गएको छ ।
बिगत ३ वर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १, २ बाहेक सबै मर्ने गरेका छन्। बिहानदेखि साँझ सम्म लगातार मादक पदार्थ पिउने र अस्तव्यस्त जीवनशैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन्।
राउटे समुदायका संरक्षण समिति कर्णाली प्रदेशका सल्लाहकार नगेन्द्र उपाध्याय पनि अन्य जीवन शैली धेरै परिवर्तन भएको छ । साथै असुरक्षित र जोखिममा राउटे समुदाय रहेको बताउँछन्। त्यसका लागि आफू लागिरहेको बताउँछन्।
यस समुदायमा जन्मदर न्युन हुनुमा पनि मादक पदार्थ सेवन र अस्वस्थ जीवनशैली प्रमुख कारण बन्दैछ। सोसेक नेपाल द्वारा खटिएकि स्वास्थ्यकर्मी अनुजाका अनुसार राउटे समुदायका अरु ब्यवहार हरु पहिला भन्दा धेरै परिवर्तित छन् ।परामर्श गरिएता पनि प्राप्त नगद भत्ता रकम सबै जाँडरक्सीमै सकाउने गरेका छन् ।एक जना ७२ बर्षिय बृद्ध धनबहादुर शाही भन्छन्, 'सबै जाँड रक्सी खान्छन्। चिन्ता लाग्या छ अस्ती भर्खर भान्जा नै मर्यो, पहिला यसो खाँदैन छिया आफैँले बनायाको मात्रै अलिअलि खान्छियौं, अहिले किनेरै खान लाग्या काम पनि गर्दैनन्।'
औषधि उपचार गर्न नमान्ने यो समुदाय जबर्जस्ति सामान्य औषधि खाने र मलमपट्टि लगाउने बाहेक अन्य सेवा लिन र अस्पताल जान स्वीकार गर्दैनन् । हालसम्म एकजनाको मात्रै रक्त समूह पहिचान भएको छ । उच्च रक्तचाप, पेट तथा मुटुको समस्या, दम, निमोनिया, पखाला र कुपोषणले उपचारको दायरामै नआई मृत्यु हुने गरेको पाइएको छ र जन्मेका मध्य धेरै मरेरै पनि जनसंख्या ह्रास हुँदैछ।