सेप्टेम्बर ९ गते बेलुकी करिब ७ बजे।
जब पिताको घर, हाम्रो पाँच दशकको आश्रय, ज्वालामा जलेर खरानी हुँदै थियो, म आफ्नी श्रीमतीसँग असहाय र विवश अवस्थामा बाटोमा उभिएको थिएँ।
ठमेलमा ठूलो भीड जम्मा भएको थियो। कोही कराउँदै, कोही ढुंगा हान्दै, कोही झ्याल तोड्दै, कोही जबर्जस्ती घरभित्र पस्दै थिए। मैले हात जोडी विन्ती गरेँ- कृपया रोकिनू, तर मेरो आवाज कोलाहलमा हरायो। त्यही निराशाको घडीमा, केही अपरिचित युवाहरूले मानवता देखाउँदै हामीलाई सुरक्षित स्थानमा पुर्याइदिए।
आफ्नै घर- जहाँ हामीले जीवन बितायौं, जहाँ पिताको सपना बस्थ्यो, जहाँ असंख्य सम्झनाहरू जन्मिए, बाहिर उभिएर ती सबै आगोमा खरानी हुँदै गएको देखें। ज्वाला र धुवाँसँगै आकाशतिर हेर्दा, मेरो शिरमाथि छत नै नभएको जस्तो अनुभूति भयो।
भोलि आमाको श्राद्ध छ। सन् २००० मा आमा हामीलाई छोडेर गएदेखि अहिलेसम्म, २५ वर्षमा कहिल्यै पनि यो पवित्र कर्म छुटाएको थिइनँ। तर यसवर्ष भाग्यले मलाई दुर्भाग्यशाली पुत्र बनायो। आमाको श्राद्ध गर्न नसक्ने बनाइदियो।
आज, आमाबुबा दुवैलाई सम्झँदा मुटु असह्य रूपमा भारी भएको छ। जीवन सधैं संघर्षमै बित्यो, सायद यो पनि अर्को संघर्ष हो, जुन पार गर्न बाँकी छ।
तर मलाई विश्वास छ- घरका पर्खाललाई आगोले जलाउन सक्छ, तर परिवारको सम्झना, मूल्य र माया कहिल्यै खरानी हुन सक्दैनन्। ती शाश्वत रहन्छन्।