काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत हालै समायोजन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले स्थलगत भ्रमण गरी विभागका कर्मचारीसँग छलफल गरेकी छन्।
यसअघि अन्य मन्त्रालयको मातहतमा रहेको विभाग हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत आएको हो। मन्त्रालयको कार्यक्षेत्रमा खाद्य स्वच्छता र खाद्य सुरक्षालाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ विभागलाई मन्त्रालयमा समायोजन गरिएको बताइएको छ।
भ्रमणका क्रममा मन्त्री मेहताले विभागको वर्तमान अवस्था, सेवा प्रवाह, प्रयोगशाला क्षमता, खाद्य गुणस्तर अनुगमन, खाद्य सुरक्षासम्बन्धी चुनौती तथा भावी योजनाबारे जानकारी लिएकी थिइन्। विभागका कर्मचारी तथा पदाधिकारीसँगको छलफलमा उनले विभागलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था, नियमावली, जनशक्ति, प्राविधिक उपकरण तथा पूर्वाधारका विषयमा समेत विस्तृत जानकारी लिइन्।
मन्त्री मेहताले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमा नागरिकको पहुँच सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै विभागको संस्थागत क्षमता अभिवृद्धिका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
छलफलमा विभागका कर्मचारीहरूले जनशक्ति अभाव, आधुनिक उपकरणको आवश्यकता, प्रयोगशाला सुदृढीकरण तथा कानुनी सुधारका विषयमा आफ्ना सुझाव तथा अनुभव प्रस्तुत गरेका थिए। मन्त्री मेहताले उठाइएका विषयहरूको अध्ययन गरी आवश्यक सुधार तथा व्यवस्थापनका लागि मन्त्रालयले पहल गर्ने बताएकी छन्।
विभाग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत आएपछि मन्त्रालय र विभागबीचको समन्वय अझ प्रभावकारी हुने तथा खाद्य सुरक्षा, गुणस्तर नियन्त्रण र उपभोक्ता स्वास्थ्य संरक्षणका कार्यक्रमलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।