काठमाडौं - औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गी लगायत विभागका अधिकारीसँग छलफल गरेकी छिन्। मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सल्लाहकार डा. मनोहर प्रधान र कानुन उपसचिव गोपीकृष्ण रेग्मी पनि सहभागी थिए।
बैठकमा विशेषगरी क्यान्सर उपचार लगायतका जीवनरक्षक औषधिको आपूर्तिमा देखिएको असहजता, प्राप्त गुनासाहरूको यथार्थ अवस्था र समाधानका सम्भावित उपायहरूबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा औषधि आपूर्ति अनुमति प्राप्त गरे पनि बजारमा आपूर्ति नगर्ने आयातकर्ता वा आपूर्तिकर्तामाथि कारबाही तथा विकल्पबारे स्पष्ट कार्ययोजना बनाउनुपर्ने विषयमा समेत ध्यान केन्द्रित गरिएको थियो।
त्यसैगरी, जीवनरक्षक औषधि आयात गर्ने अनुमति प्राप्त आयातकर्ताहरूको अद्यावधिक सूची, पछिल्ला तीन वर्षको आयात विवरण, वार्षिक खपत तथ्याङ्क तथा नयाँ आपूर्तिकर्ताबाट आएका आवेदनहरूको समग्र विवरण संकलन गरी व्यवस्थित गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको छ।
बैठकले औषधि व्यवस्थापनसँग सम्बन्धित डिजिटल प्रणालीको सुधार, सफ्टवेयर क्षमता विस्तार तथा विभागीय वेबसाइटलाई नियमित अद्यावधिक गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
मन्त्रालयले आपूर्ति प्रणालीमा पारदर्शिता र प्रभावकारिता बढाउँदै औषधिको सहज उपलब्धता सुनिश्चित गर्न आगामी दिनमा थप कडाइका साथ अनुगमन अघि बढाइने संकेत गरेको छ।