गण्डकी- सेवाग्राहीलाई छिटो, सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यसहित दमौली अस्पतालले डिजिटल भुक्तानी तथा डाइनामिक क्यूआर प्रणाली सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशमै पहिलो पटक यस्तो एकीकृत प्रणाली जडान गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार नयाँ प्रणाली अन्तर्गत अस्पतालका विभिन्न सेवाहरूलाई डिजिटल माध्यमसँग जोडिएको छ। हाल ६ वटा मनिटर जडान गरिएका छन्, जसमा तीन वटा स्वास्थ्य बिमा काउन्टर, एउटा भुक्तानी (पे काउन्टर) र दुई वटा फार्मेसी सेवासँग सम्बन्धित छन्। यसले बिरामीको पालो व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेका अनुसार आगामी वर्षभित्र प्रयोगशाला (ल्याब) सेवासमेत यस प्रणालीमा आबद्ध गर्ने योजना रहेको छ। त्यसपछि बिरामीले प्रयोगशालासम्बन्धी सेवाको भुक्तानी पनि डिजिटल माध्यमबाट सहज रूपमा गर्न सक्नेछन्।
अस्पतालले नेपाल बैंक लिमिटेडको बैंकिङ प्रणाली, नेपाल पे (NepalPay) को क्यूआर पेमेन्ट गेटवे तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीलाई एकीकृत गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसले बिरामीको अभिलेख व्यवस्थापन, भुक्तानी प्रक्रिया र सेवा प्रवाहलाई एउटै डिजिटल संरचनामा समेट्ने प्रयास गरेको छ।
डिजिटल प्रणाली सुरु भएपछि सेवाग्राहीले शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै अस्पताल सेवा थप पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बन्ने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।
भुक्तानी प्रक्रियालाई अझ सहज बनाउन अस्पताल परिसरमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको छ। यद्यपि उक्त नेटवर्कमा सामाजिक सञ्जालको प्रयोग भने प्रतिबन्ध गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीमैत्री सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिने बताएको छ। नयाँ प्रणालीले बिरामीको समय बचत गर्नुका साथै सेवा व्यवस्थापनमा अस्पताल प्रशासनलाई समेत महत्वपूर्ण सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।