काठमाडौं - धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्तावित एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश नगरी छुट्टै स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्रमा सरकारले हालै तयार गरेको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त विधेयकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ सहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केवल शिक्षण संस्था मात्र नभई नेपालको पूर्वी क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख उपचार केन्द्र तथा धरानसहित समग्र पूर्वाञ्चलको गौरवको विषय भएको उल्लेख गरेको छ। चिकित्सा शिक्षा, अनुसन्धान तथा विशिष्टीकृत स्वास्थ्य सेवाका माध्यमबाट प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान स्थापित गरेको पनि पत्रमा उल्लेख गरिएको छ।
उपमहानगरपालिकाका अनुसार प्रतिष्ठानलाई एकीकृत संरचनामा समावेश गरिए यसको स्वायत्तता, कार्यक्षमता तथा त्यहाँ कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूको कार्यमूल्याङ्कन तथा वृत्ति विकासमा समेत नकारात्मक असर पर्न सक्ने चिन्ता रहेको छ।
यसै कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐतिहासिक महत्व, योगदान र विशिष्ट पहिचानलाई कायम राख्दै यसलाई छुट्टै स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास एवं सञ्चालन गर्नुपर्ने माग गर्दै आम धरानवासीको तर्फबाट प्रधानमन्त्रीसमक्ष सादर अनुरोध गरिएको छ।