काठमाडौं- स्वास्थ्य तथा खाद्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधि तथा सलाइन सम्बन्धी विवरण तत्काल पेश गर्न सम्बन्धित पैठारीकर्तालाई पुनः निर्देशन दिएको छ।
विभागले जारी गरेको सूचनाअनुसार नेपालमा पैठारी हुँदै आएका क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधि तथा नेपाल सरकारका विभिन्न निर्णयमार्फत अत्यावश्यक सूचीमा समावेश सलाइन औषधिको उद्गम मुलुक (Country of Origin) अनुसारको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण र आगामी आर्थिक वर्षको प्रक्षेपित आवश्यकता (Projection Plan) पेश गर्न आग्रह गरिएको छ।
यसअघि विभागले जेठ १ गते सम्बन्धित पैठारीकर्तालाई तीन दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। तर हालसम्म केही आयातकर्ताले आवश्यक विवरण नबुझाएकाले पुनः सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ।
दर्ता भएर पनि आयात नभएका औषधिको हकमा आयात नहुनुको कारणसहितको विवरण दुई दिनभित्र पेश गर्नसमेत विभागले निर्देशन दिएको छ।
यसैबीच, औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गी लगायतका अधिकारीसँग छलफल गरेकी थिइन्।
मन्त्रालयका अनुसार बैठकमा विशेषगरी क्यान्सर उपचारलगायत जीवनरक्षक औषधिको आपूर्तिमा देखिएको असहजता, प्राप्त गुनासाहरूको यथार्थ अवस्था तथा समाधानका सम्भावित उपायबारे विस्तृत समीक्षा गरिएको थियो।
छलफलमा औषधि आयात तथा आपूर्तिको अनुमति लिएर पनि बजारमा औषधि उपलब्ध नगराउने आयातकर्ता वा आपूर्तिकर्तामाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तथा वैकल्पिक आपूर्ति व्यवस्थाबारे स्पष्ट कार्ययोजना तयार गर्ने विषयमा समेत जोड दिइएको थियो।
त्यस्तै, जीवनरक्षक औषधि आयात गर्ने अनुमति प्राप्त आयातकर्ताहरूको अद्यावधिक सूची, पछिल्ला तीन वर्षको आयात विवरण, वार्षिक खपत तथ्याङ्क तथा नयाँ आपूर्तिकर्ताबाट प्राप्त आवेदनहरूको समग्र विवरण व्यवस्थित रूपमा संकलन गर्न विभागलाई निर्देशन दिइएको छ।