काठमाडौं- नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका विषयमा भइरहेको औपचारिक बार्ताका क्रममा देखिएको अपमानजनक व्यवहारप्रति एशोसिएन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल र एशोसिएन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन)ले गम्भीर आपत्ति जनाएको छ।
संयुक्त विज्ञप्ति मार्फत् दुवै संस्थाले स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट 'माफिया' लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग गर्ने र अनुचित व्यवहार प्रकट गरिएको घटना अस्वीकार्य भएको बताएका छन्।
संस्थाहरूले भनेका छन्, 'हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले बार्ताको वातावरण बिगारेको छ।'
संयुक्त विज्ञप्तिअनुसार, यस्तो व्यवहारका कारण निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू बार्ताको कक्षबाट बाहिरिन बाध्य भएका थिए।
संस्थाहरूले घटनाको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण उत्पन्न भएको दाबी गर्दै भनेका छन्। 'सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अवस्था सिर्जना भएको हो। त्यसैले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,' विज्ञप्तिमा भनिएको छ।
संस्थाहरूले देशभरका निजी अस्पतालहरू निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकाले आगामी दिनमा पनि सरकार र स्वास्थ्यकर्मीहरूसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
तर, उनीहरूले भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा जोगाउन आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।
संयुक्त विज्ञप्तिमा मेडिकल कलेजहरुका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र अफिनका तर्फबाट उपाध्यक्ष हरिप्रसाद रिजालले हस्ताक्षर छन्।
