तिहारमा भाइमसलाको रुपमा ड्राइफुटहरुको प्रयोग गर्ने प्रचलन छ। तिहारको भाइटिकाको दिन दिदीबहिनीले दाजु भाईलाई उपहारका रुपमा भाइमसला दिने गर्छन्।
भाइमसलाका रुपमा प्रयोग हुने काजु, बदाम,पेस्ता, किसमिस मखना जस्ता खानेकुरा खान मिठो मात्र नभई स्वास्थ्यका दृष्टिकोणबाट पनि फाइदाजनक हुने गर्छ।
बजारका अन्य तयारी खानेकुरा भन्दा काजु,बदाम,पेस्ता,किसमिस मखना जस्ता ड्राइफुडहरु दाजुभाइलाई उपहारका रुपमा दिन चिकित्सकहरु सुझाउँछन्।
यस्ता ड्राइफुडहरु तिहारमा मात्रै धेरै खाने प्रचलन रहेकोमा अन्य समयमा पनि यस्ता खानेकुरा खान सके स्वास्थ्यका लागि फाइदाजनक हुने पोषणविद् चित्रकला नेपालले बताइन्।
नेपालीहरुको खानेकुरामा बढी मात्रामा कार्बाेहाइड्रेड समावेश हुने गरेकोमा यस्ता खानेकुरा फाइदाजनक हुने उनले जानकारी दिइन्।
भाइमसाला तथा ड्राइफुडमा प्रोटिनको मात्रा, राम्रो प्रकारको चिल्लो, ओमेगा ३, अन स्याच्यूरेटेड फयाट, भिटामिन, मिनरल्स लगायतका रोग प्रतिरोधी क्षमता बढाउने तत्वहरु समेत हुन्छन्। त्यसकारण भाइमसालमा प्रयोग हुँदै आएका यी खानेकुरा अन्य समयमा पनि प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविद्हरुको तर्क छ।
तिहारको बेला अन्य समयको भन्दा बढी मात्रामा यस्ता खानेकुराको प्रयोग हुनु पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन।
ओखर, काजु, बदाम, पेस्ताजस्ता नट्सको उचित मात्रामा प्रयोगले रोग प्रतिरोधी क्षमता बढाउने,मुटु रोगको जोखिम कम गर्ने तथा छालाको चमक बढाउने जस्ता फाइदा गर्छन्।
गुलियो पदार्थ मिलाइएका, भुटेका नट्सको सट्टा सादा ड्राइफुडको प्रयोग स्वास्थ्यका लागि हितकर हुने भएकोले त्यस्ता खानेकुराको प्रयोग गर्न पोषणविद्हरु बढावा दिन्छन्।
काजु
ड्राइफुडहरूमा काजु बढी लोकप्रिय छ। यो हल्का गुलियो स्वादको हुन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन ई पाइन्छ। काजुमा पाइने एन्टि–एजिङ तत्वले तपाईंको छालाको सुन्दरता कायम गर्नुका साथै छालामा चाउरिने समस्यालाई न्यूनीकरण गर्छ। यसको सेवन मुटु स्वास्थ्यका लागि समेत फाइदाजनक हुने चिकित्सकहरू बताउँछन्। काजुमा कार्बोहाइड्रेट, प्रोटिन तथा आइरन पाइन्छ। तत्कालै शक्ति प्राप्त गर्नका लागि काजुको सेवन गर्न सकिन्छ।
ओखर
ओखरमा सामान्यतया अनस्याचुरेटेड फ्याटको मात्रा धेरै हुन्छ। यसमा ओमेगा-३, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन बी, ई लगायतका तत्वहरू पाइन्छ। जुन मानिसको छाला, हाड तथा कपालका लागि पनि फाइदाजनक नै हुन्छ। ओखरको तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ओखरको नियमित सेवनले स्मरणशक्ति बढाउन सहयोग पुग्छ।
बदाम
बदाम प्रोटिनको राम्रो स्रोत हो। यसको सेवन स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ। बदाममा भिटामिन ई पनि पाइन्छ। छालाको सौन्दर्यमा प्रयोग गरिने कतिपय सामग्रीमा भिटामिन ई मिलाइएको हुन्छ। यसको सेवनले शरीरमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ। बदामलाई राती पानीमा भिजाएर राखेर बिहान खाँदा यसले पुर्याउने फाइदा अझै बढ्न सक्छ। भिजाएको बदामको बोक्रा निकालेर खाएमा त्यसमा रहेको पोषणको मात्रा बढ्ने विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्। कब्जियत, मुटुको रोग, डायबिटिज लगायतका रोगहरूका लागि समेत यसको सेवन फाइदाजनक हुन्छ। शारीरिक परिश्रम धेरै गर्ने तथा क्यालोरी लस हुने प्रकारका काम गर्नेहरूलाई यसको सेवन उपयोगी हुन्छ।
छोकडा
छोकडा ड्राइफुडहरूमा क्यालोरी बढी पाइनेमध्येमा पर्छ। फाइबर, ग्लुकोज लगायतका तत्वहरू समेत छोकडामा पाइन्छ। यसमा पाइने कार्बोहाइड्रेट राम्रो प्रकारको हुन्छ।
मखना
नियमित रूपमा मखनाको सेवनले प्रशस्त मात्रामा प्रोटिन पाउन सकिन्छ। यसमा कार्बोहाइड्रेट, फाइबर, चिल्लो पदार्थको मात्रा पनि हुन्छ।
किसमिस
तिहारको भाइमसलामा प्रयोग हुने किसमिस अङ्गुरलाई सुकाएर बनाउने गरिन्छ। आइरन तथा फाइबरको राम्रो स्रोतका रूपमा किसमिसलाई लिन सकिन्छ। कब्जियत तथा रक्तअल्पताका बिरामीहरूका लागि किसमिसको सेवन नियमित रूपमा गरेमा त्यो फाइदाजनक हुन्छ।
बजारमा गुलियो तथा नुनको प्रयोग गरेका ड्राइफुडहरू धेरै पाइन्छ। त्यसकारण ड्राई फुड किन्दा त्यस्ता वस्तुहरू मिसावट भए/नभएको हेरेर मात्रै किन्नुपर्ने हुन्छ।
पेस्ता
बजारमा बढी मात्रामा प्रशोधन गरिएको पेस्ता पाइन्छ। जुन नुनिलो स्वादको हुन्छ। पेस्तामा चिल्लो बढी मात्रामा हुन्छ। यसमा आइरन पनि पाइन्छ। पेस्ताले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग पुर्याउँछ। पेस्ताको सेवन मुटु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
(नेपाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छिन्)