काठमाडौं- खोकी तथा रुघाको औषधि (कफ सिरप) सेवनका कारण भारतमा हालै मध्य प्रदेश र राजस्थानमा कम्तीमा १८ बच्चाहरूको मृत्यु भएको छ।
खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
कफ सिरपमा अत्याधिक मात्रामा डाइथिलिन ग्लाइकोल भेटिएको थियो। जसका कारण बालबालिकाको मिर्गौला फेल भएर मृत्यु भएको छ। भारतको तामिलनाडुमा रहेको स्रेसन फर्माले उत्पादन गरेको कफ सिरप 'कोल्ड्रिफ'मा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी पाइएको छ।
'कोल्ड्रिफ सिरपमा विषाक्त रसायन डाइएथिलिन ग्लाइकोल (डिइजी) को ४८.६ प्रतिशत मात्रा भेटिएको छ, जसले मिर्गौला र कलेजोमा गम्भीर क्षति पुर्याउँछ,' भारतीय सञ्चार माध्यमलले लेखेका छन्, 'यो सिरप स्रेसन फर्माले उत्पादन गरेको हो।'
भारतमा बालबालिकाको मृत्यु गराउने उक्त कफ सिरप नेपालमा पाइन्छ?
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भन्छन्- 'उक्त औषधि नेपालमा पाइँदैन। त्यो औषधि नेपालमा दर्ता नै भएको छैन। दर्ता नभएको औषधि नेपालमा बिक्री वितरण गर्न पाइँदैन।'
उनले भारतमा बालबालिकाको मृत्युको समाचार आएपछि यस विषयमा चासो राख्नेहरु बढीरहेकाले विभागले यस विषयमा केही सूचना सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए।
भारतमा उत्पादन हुने कफ सिरपमा यस अघि पनि समस्या देखिएको थियो। दुई वर्ष अघि पनि भारतीय कम्पनीले उत्पादन गरेको चार वटा ब्रान्डका कफ सिरपको सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो। ती औषधि पनि नेपालमा उपलब्ध थिएनन्।