मेरो माइती चितवन हो, घर भने इलाम। ९ कक्षामा पढ्ने बेला हजुरआमा बिरामी भएर उपचार गराउन हेल्थपोष्ट गएको थिएँ। त्यतिबेला सेतो ड्रेस लगाएर बिरामीको सेवा गरिरहेका स्वास्थ्यकर्मीको पोशाकले नै मलाई नर्स बन्न आकर्षित गरेको थियो।
त्यसैले एसएलसी पछि मैले अरू विषयलाई प्राथमिकतामा नराखी नर्सिङ पढें। अहिले यो पेशामा लागेको तीन दशक पूरा भइसकेको छ। सरकारी सेवामा भने २९ वर्ष बिताइसकेको छु। अहिलेसम्म ३–४ वटा अस्पतालमा काम गरिसकेकी छु।
प्रायः दशैंको समयमा पनि म ड्युटीमै हुन्छु। कतिपय दशैंमा टिका लगाएर ड्युटी जानुपरेको छ, कतिपयमा ड्युटी सकेर टिका लगाएको छु। विगतमा इन्चार्जले बनाएको तालिका अनुसार ड्युटी गर्नुपर्थ्यो। अहिले भने म स्वयं परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको आकस्मिक विभाग इन्चार्ज भएकाले अझै बढी जिम्मेवारीका साथ ड्युटी गर्नुपर्छ।
दशैंमा अस्पतालमा आउने सबै बिरामी पहिलो सम्पर्कमा आकस्मिक वार्डमै आउँछन्। त्यसैले प्रारम्भिक व्यवस्थापन हामीले नै गरेर मात्र उपचार सुरु हुन्छ। दशैंमा सबैलाई बिदा मनाउने चाहना हुन्छ, तर अस्पतालको सेवा रोक्न सकिँदैन। त्यसैले दशैंमा बिदा नपाएकालाई तिहारमा दिन मिलाइएको छ।
बिदा तालिका आफैंले बनाउनुपर्दा पनि कसैलाई पक्षपात भएको भन्ने नहोस् भनेर चाडपर्वको बिदा सबैको सल्लाहमा मिलाइन्छ। यसपाली मेरो ड्युटी दशैंको नवमीका दिन परेको थियो।
कोरोना महामारीको समयमा दशैंको टिकाको दिन ड्युटी सकेर दिउँसो ३ बजे मात्र टिका लगाएको थिएँ। त्यतिबेला घरकै मान्छे पनि नर्स भएकी छोरी–आमासँग सहजै घुलमिल हुन डराउँथे। तर पारिवारिक सहयोग भएकै कारण मलाई चाडपर्वमा ड्युटी गर्न खासै समस्या भएन। म त भन्छु, 'साइतको टिका भन्दा ड्युटी सकेर घर पुगेर लगाइने टिका नै खुसी हो।'
पेशाप्रतिको मोह
विद्यालय स्तरमै नर्स बनेर बिरामीलाई सेवा गर्ने अठोट पालेकी थिएँ। अस्पताल पुगेका बेला बिरामीप्रति सेवा–भाव जाग्थ्यो। नर्सहरूले लगाउने पोशाकले मलाई निकै आकर्षित गर्थ्यो।
२०५३–५४ सालतिर मोडेल अस्पतालमा कार्यरत हुँदा दशैंको टिकाको दिनमा पनि प्रायः ड्युटी पर्थ्यो। तर नर्स भएकै कारण दशैं वा अन्य चाडपर्व नमनाउनुपर्दा पनि मलाई कहिल्यै पछुतो लागेन। बरु आकस्मिक अवस्थामा बिरामीलाई सेवा दिन पाउँदा गर्व महसुस हुन्छ।
बिरामीको खुशी नै ठूलो
आमा–बच्चाको ज्यान जोगाएर आमा बनेकी महिलाको अनुहारमा देखिने खुशी नै मेरो लागि असीमित आनन्द हो।
बिहेअघि नै परिवारलाई ‘म पेशालाई पहिलो प्राथमिकता दिन्छु’ भनेर भनिएकाले बिहेपछि पनि कुनै अवरोध भएन। बिहान, बेलुका, साँझ वा चाडपर्व, जब–जब ड्युटी पर्नुपरे पनि परिवारले सधैं सहयोग गरे।
छोराछोरी र श्रीमान्ले पनि कहिल्यै अवरोध गरेनन्। व्यस्त जीवन देखेर होला, छोराछोरीले मेडिकल पढ्न चाहेनन्। तर उनीहरू मेरो पेशाप्रति सपोर्टिभ छन्। यही पारिवारिक सहयोगकै कारण मलाई ड्युटीलाई प्राथमिकता दिन सजिलो भएको हो।
कतिपय बाहिरबाट आएका बिरामीहरूले मलाई “डाक्टर साप” भनेर सम्बोधन गर्नुहुन्छ। त्यतिबेला म मुस्कुराउँदै भन्छु, “म डाक्टर होइन, सिस्टर हुँ। के गर्न सक्छु भन्नुहोस् न।”
(नर्स दाहाल परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन्)