हाम्रो स्वास्थ्य प्रणालीको अदृश्य आधार
आजको आधुनिक चिकित्सा प्रणाली केवल औषधि र उपचारमा मात्र निर्भर छैन, बरु त्यसको मेरुदण्ड हो – सही र वैज्ञानिक परीक्षण। बिरामी हेरिसकेपछी चिकित्सकले निदानका लागि प्रयोगशालामा परीक्षणहरू पठाउँछन्। यिनै परीक्षणबाट प्राप्त नतिजाले रोगको सही स्वरूप, गम्भीरता र उपचारको दिशा निर्धारण गर्छ। यी सबै कार्यको वैज्ञानिक संयोजन गर्ने व्यक्ति हुन् – क्लिनिकल बायोकेमिस्ट (Clinical Biochemist)।
क्लिनिकल बायोकेमिस्ट्री भनेको के हो?
क्लिनिकल बायोकेमिस्ट्री मानव शरीरभित्र हुने जैव–रासायनिक (biochemical) प्रक्रिया र परिवर्तनहरू अध्ययन गर्ने शाखा हो जसले रगत, मूत्र, हर्मोन, एन्जाइम, प्रोटिन, लिपिड, ग्लुकोज आदि स्तरमा हुने परिवर्तन देखाई रोगको संकेत दिन्छ ।
उदाहरणका लागि:
- रगतमा ग्लुकोज बढे मधुमेहको संकेत हुन्छ।
- क्रिएटिनिन र युरिया बढे मिर्गौलामा समस्या देखाउँछ।
- SGPT/SGOT बढे कलेजोको समस्या जनाउँछ।
यी सबै परीक्षणहरूको परिणाम बुझ्ने, त्यसको व्याख्या गर्ने र चिकित्सकलाई सही निष्कर्ष पुर्याउने जिम्मेवारी क्लिनिकल बायोकेमिस्टको हुन्छ।
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्टको भूमिका
- रोगको निदान: परीक्षण छनोट, नतिजा विश्लेषण र चिकित्सकलाई व्याख्या।
- उपचार मूल्याङ्कन: औषधि वा उपचारको प्रभाव निगरानी।
- गुणस्तर नियन्त्रण: प्रयोगशालामा प्रत्येक परीक्षणको सटीकता सुनिश्चित।
नवजात शिशुको स्क्रीनिङ
क्लिनिकल बायोकेमिस्टहरूले नवजात शिशुहरूको स्वास्थ्य जाँच (Newborn Screening) मा महत्वपूर्ण भूमिका खेल्छन्। जन्मसँगै लिने रगतको नमूनाबाट सिकल सेल डिजीज, हाइपोथाइरॉइडिज्म, पेंक्रियाटिक समस्या र अन्य अनुवांशिक रोग पत्ता लगाउन सकिन्छ। समयमै निदान भएमा जीवनभरि गम्भीर रोगबाट बच्न सकिन्छ।
दुर्लभ जेनेटिक रोग
क्लिनिकल बायोकेमिस्ट्रीले दुर्लभ अनुवांशिक रोगहरू (Rare Genetic Diseases) पहिचान गर्न सहयोग पुर्याउँछ। जस्तै, सिकल सेल डिजीज (रगतका रातो रक्त कणिकाहरूको असामान्य संरचना, जसले अक्सिजनको कम आपूर्ति र शरीरमा क्रोनिक पीडा निम्त्याउँछ)। यस्ता रोगहरूको प्रारम्भिक परीक्षण र नियन्त्रणले रोगको गम्भीरता कम गर्न सहयोग पुर्याउँछ।
ट्यूमर र क्यान्सरको पहिचान
क्लिनिकल बायोकेमिस्टहरूले क्यान्सर वा ट्यूमरको जैव–रासायनिक मार्कर जाँच गर्छन्।
उदाहरणका लागि:
- AFP (Alpha-fetoprotein)– लिभर ट्यूमरको संकेत।
- CA-125 – ओभरी क्यान्सरको प्रारम्भिक संकेत।
- CEA (Carcinoembryonic antigen) – कोलोरेक्टल क्यान्सर निगरानी।
नेपालमा क्लिनिकल बायोकेमिस्टको आवश्यकता
नेपालमा प्रयोगशालाहरूको संख्या बढ्दैछ तर दक्ष क्लिनिकल बायोकेमिस्टको संख्या सीमित छ। धेरै ठाउँमा प्राविधिक मात्र हुने र बायोकेमिस्टको वैज्ञानिक पर्यवेक्षण नहुने अवस्था छ। गलत परीक्षणले रोगको ढिलो निदान वा गलत उपचार निम्त्याउन सक्छ। त्यसैले, प्रत्येक अस्पताल र डायग्नोस्टिक केन्द्रमा दक्ष बायोकेमिस्टको उपस्थिति अनिवार्य छ।
वैज्ञानिक तथा चिकित्सा दृष्टिकोण
क्लिनिकल बायोकेमिस्ट्री एभिडेन्स-बेस्ड मेडिसिनको आधार बनेको छ। बायोकेमिस्टहरूले नयाँ बायोमार्कर विकास, औषधि प्रतिक्रिया परीक्षण, जीन–एक्सप्रेशन अध्ययन, मेटाबोलिज्म मूल्याङ्कन र रोगसँग सम्बन्धित प्रोटिन अनुसन्धानमा योगदान गर्छन्।
स्वस्थ समाजका लागि वैज्ञानिक आधार
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
(डा. मनोज आचार्य राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बायोकेमेस्ट्री विभागमा फ्याकल्टी लेक्चररका रुपमा कार्यरत छन्)