सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होमिएकी छन् रमिला। उनले रहरले रोजेकी हुन् नर्सिङ पेसा। उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन। रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होमिएकी रमिलालाई अचेल कहिलेकाहीँ कुण्ठा जाग्ने गरेको छ। नजागोस् पनि किन! स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ। जहाँ सेवा गरेर मेवा पाउने आशा दुर्लभ त छ, सुरक्षाको प्रत्याभूति पनि कठिन छ। बिना बन्दुकका योद्धा भएर युद्ध लड्नुपरेको छ। बिना बन्दुक त युद्धमा सिपाही जाँदैनन् भने कमजोर सुरक्षा, न्यून प्रोत्साहन, अनुचित पारिश्रमिक र अत्यधिक श्रमको भार बोकाएर बिरामीको सेवामा खटाउने राज्यलाई ती सेता कोटले शालीन देखिने रमिलाजस्ता कर्मशील नर्सहरूको कुण्ठित हृदयको सराप त अवश्य लाग्नुपर्छ।
स्वास्थ्यको पेसा सदैव जोखिममा हुन्छ। त्यस्तै रमिला पनि सेतो कोट, मीठो बोली, धैर्यता र आफ्नो सीपले झिनो सुरक्षामा बिरामीको सेवामा तल्लीन छिन्।
ड्युटी त चक्रीय आधारमा बिहान, दिउँसो, राती गर्दै बित्दै जान्छन्। अस्पताल बाहिरको दुनियाँलाई त नर्सिङ भनेको अस्पतालमा सुई लगाइदिने काम गर्छन् भन्ने लाग्छ। सुई लगाउनु मात्रै काम होला र! ड्युटी बुझ्दा बखतमा सम्पूर्ण भर्ना भएका बिरामीको अवस्था, परीक्षण र उपचारका योजना जान्नुपर्ने हुन्छ। औषधी पाएको नपाएको र परिवर्तन गरिएको अर्डर आदिको हेक्का राख्नुपर्ने हुन्छ। सबै रिपोर्टदेखि औषधीको जोहो गर्ने काम हुन्छ। सम्पूर्ण भर्ना र डिस्चार्ज भएका बिरामीको रेकर्ड राख्ने देखि त्यसलाई रिपोर्ट गर्ने सम्मका काम हुन्छन्। जे होस्, कामको कमी भने पक्कै छैन भन्दा अतिशयोक्ति नहोला।
आज किन हो, धेरै भीडभाड छ अस्पताल। सायद आइतबार परेर होला र बन्द खुलेको भएर पनि होला। हुन सक्छ यातायातको सुविधा गाउँगाउँसम्म बाटो खनिए लगत्तै पुगेर होला। जे होस्, आइतबारले होस् वा यातायातले होस्, व्यस्त छिन् रमिला। यस्तैमा एउटा प्रसूती गराउन भनी महिला आइपुग्छिन्। उनको चेकजाँच गरिसकेपछि रेकर्ड कार्य पुनः सुरु गर्छिन्। यस्तैमा औषधी दिने समय आउँछ। वार्डमा बिरामी भरिभराउ छन्। जम्माजम्मी ४० जना मात्र। ती महिलाको सकेसम्म छिटो प्रसूती गराउनुपर्ने हुन्छ, किनभने स्वास्थ्य संस्थाबाट २ घण्टा सम्म पनि पूरै बाटो खुल्दा पनि बच्चा नजन्मिएको कारण प्रेसरण गरिएको रहेछ। फोन बिग्रेको पनि ४ दिन भइसकेछ। तत्पश्चात् डाक्टरलाई बोलाउन सहयोगी दिदीलाई पठाउँछिन्। डाक्टर आएर जाँचेर हेर्दा अप्रेसन गर्नुपर्ने निर्णय गरी तयारी गर्न भन्छन्। उता भर्ना भएका बिरामीलाई औषधी दिन लागेकी रिमालाई पनि बोलाउँछिन्। औषधी दिँदै गरेका बिरामीलाई छोडेर गएकोमा अलमलमा पर्छन् बिरामी।
बिरामीको औषधी दिने समय १ घण्टा जतिले ढिलो हुन पुग्छ। सायद अलिकति अहम् भरिएको थियो होला, त्यसैले एक घण्टा ढिलो भएकोमा आपत्ति जनाउँछन् बिरामीका कुरुवा। सिस्टरले ढिला गरेकोमा आपत्ति जनाउँदै डाक्टरसँग गुनासो गर्छन्। डाक्टरले इमर्जेन्सी काम परेर ढिला भएको भनेर बुझाउन खोज्छन्, तर सायद चित्त बुझ्दैन होला तिनीहरूलाई। सबैलाई एउटा नर्स र डाक्टर हरेक पल उपलब्ध हुनुपर्ने सोच!! तर विडम्बनाको कुरा: दुई जना नर्स र ३५-४० जना बिरामी यथार्थमा। बिरामीलाई भने आफ्नै कुरा बढी महत्त्वपूर्ण। स्लाइन पानी झुन्ड्याएको बिरामी छ भने नसाबाट रगत सोस्यो भन्दै आइपुग्छन्। सकियो भन्दै आइपुग्छन्। औषधी के होला भनेर सोध्न आउने नै भए। डाक्टर बोलाइदिन भन्दै आइपुग्छन्। सबैका आफ्नै समस्या। केन्द्रबिन्दु भनेको वार्डको स्टेसन।
सेतो कोट लगाएर स्टेसनमा काम गर्न लाग्यो भने सूचना अधिकारीको काम गर्नु त पर्छ नै। फलानो बिरामी कता, फलानो बेड कता। त्यसमा बिरामीको कुनै गल्ती छैन। उनीहरूलाई आफ्नै चिन्ता लागेको मात्र हो। नयाँ ठाउँका स्वाभाविक लक्षण हुन्। जे होस्, सूचना अधिकारीदेखि सुई लगाउने, औषधी दिने सम्पूर्ण काममा निपुण छिन् रमिला। नारी मस्तिष्क एकै समयमा धेरै काम गर्न सक्ने क्षमता राख्दछ। त्यसैले होला अस्पतालका वार्डमा सुसज्जित तरिकाले बिरामीका फाइलहरू राखिएका हुन्छन्। मिलाएर राम्रोसँग राखिएका हुन्छन्। त्यही मिलाएका फाइलहरू कसैले हेरेर भताभुङ्ग पार्दा झिँझो लाग्छ रमिलालाई कहिलेकसो।
सेवामा संलग्न ओझेलमा परेका पात्रहरूको सानो कथा लेख्ने प्रयासमा शब्दहरू समेत मौन बसेका छन्। इतिहास पनि मौन बसेको छ। शब्द कोरिदिनेको कमी भएको जस्तो लाग्छ मलाई। स्वास्थ्य सेवाको तुलना देशको सुरक्षा गरिरहेका आर्मीसँग मात्र गर्न सकिन्छ। सुगौली सन्धिपछि सायद आर्मीलाई खटिनुपरेको छैन युद्धमा। तर चिकित्सा क्षेत्रको युद्ध मैदानमा पौराणिक कालका सुषेणदेखि आजसम्म कैयौँ चिकित्सासम्बन्धी योद्धाहरू खटिएका छन्। सुषेणलाई सुतेको खाटसहित उठाएर लक्ष्मणको उपचारको लागि हनुमानले लगेका थिए।
आज पनि हरेक समय कोही न कोही आफ्नो मीठो निद्राबाट उठेका छन्। कसैले न कसैले दसैँ तिहारको टीका छोडेका छन्। कोही न कोही आफ्नो महत्त्वपूर्ण काम सारेका छन्। कोही न कोही हरेक समय नित्यकर्म पूरा गर्न नपाउँदै दौडेका छन्। कोही न कोही मुखमा हाल्नै लागेको गाँस छोडेर बिरामी बचाउन दौडेका छन्। कोही न कोही ड्युटीमा खटिएर साथीभाइ सँगको रमाइलो त्यागेका छन्। र त यो स्वास्थ्य सेवा टिकेको छ। तर यो पलपल चलिरहेको स्वास्थ्य सेवामा खटिएका ज्ञात अज्ञात व्यक्तिहरूको बारेमा न सरकारले चासो राख्छ न त जनताले।
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
अझै पनि महिनाको १०-२० हजारमा काममा खटाउन पाप लाग्दैन? सबै मेडिकल कलेजहरू, निजी अस्पतालको लागि एउटा यो अग्नि प्रश्न छ। देशमै दक्ष जनशक्ति अडिएनन्, पलायन भए भनेर प्रश्न गर्नु सबैभन्दा लज्जास्पद कुरा हो।
उही प्रतिनिधि पात्र,
रमिला।