काठमाडौं- अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन् । तर, मंगलबार नेपाल मेडिकल कलेजको सभा हलमा मञ्चन गरिएको एउटा नाटकले त्यही अदृश्य पीडालाई सबैको आँखाअघि जीवित बनाइदियो ।
अन्तराष्ट्रिय नर्सिङ डेका अवसरमा नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नाटकले केवल अभिनय मात्र गरेन, स्वास्थ्यकर्मीहरूको भोगाइलाई सजीव रूपमा दर्शायो । स्टेजमा देखाइएका दृश्यहरू कुनै काल्पनिक कथा थिएनन्, ती पछिल्लाे समय हरेक स्वास्थ्य संस्थाहरूबाट उठेका यथार्थ थिए ।
नाटक सुरु भएसँगै सभाहल भावुक बन्यो । एउटी आमाले आफ्नो सम्पूर्ण जीवनको संघर्ष सन्तानलाई डाक्टर बनाउन समर्पित गरेको कथा थियो । अर्कोतर्फ एउटी नर्स थिइन्, जसले आफ्नै काखे शिशुलाई घरमा छाडेर अस्पतालमा बिरामीको सेवा गरिरहेकी थिइन् । परिवारभन्दा पेशालाई प्राथमिकता दिने ती पात्रहरूको कथा हेर्दै गर्दा धेरै चिकित्सक र नर्सहरू आफ्नै जीवन सम्झेर भावुक बने ।

नाटकले एउटा कठोर यथार्थ उजागर गर्यो, स्वास्थ्यकर्मीहरू दिनरात बिरामीको जीवन बचाउन संघर्ष गर्छन्, तर बिरामी बचाउन नसकिएको क्षणमा उनीहरू नै दोषी ठहरिन्छन् । बिरामीको मृत्यु भएपछि उपचारमा खटिएका डाक्टर र नर्समाथि हुने आक्रमण, दुर्व्यवहार र मानसिक यातनालाई कलाकारहरूले यति मार्मिक ढंगले प्रस्तुत गरे कि दर्शकदीर्घामा बसेकाहरूका आँखा रसाए ।

कार्यक्रममा उपस्थित धेरै चिकित्सक र नर्सहरूका लागि त्यो नाटक केवल प्रस्तुति थिएन, आफ्नै जीवनको प्रतिबिम्ब थियो । लगातार डबल ड्युटी गर्दा परिवारलाई समय दिन नसक्नु, चाडपर्व र संस्कारमा सहभागी हुन नपाउनु, बिरामीको मृत्यु हुँदा आफैं अपराधीझैँ बन्नुपर्ने अवस्था, यी सबै दृश्यहरूले सभाहललाई केहीबेर मौन बनायो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक पीडालाई अत्यन्त यथार्थ ढंगले प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनैपनि स्वास्थ्यकर्मी बिरामीलाई हानि पुर्याउने उद्देश्यले उपचार गर्दैन । उसले अन्तिम क्षणसम्म इमान्दारितापूर्वक जीवन बचाउने प्रयास गरिरहेको हुन्छ ।” स्वास्थ्यकर्मीलाई भगवानको रूपमा हेरेर असम्भव अपेक्षा गर्नुको सट्टा सम्मान र सुरक्षित वातावरण दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपाल मेडिकल कलेज आफ्ना स्वास्थ्यकर्मीहरूकाे पेशागत सुरक्षा र व्यवसायिकताका लागि सदैव अगाडी रहने भएकाेले इमान्दारिताका साथ, पेशागत कर्ममा लाग्न अनुराेध गर्नुभयाे ।

कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले पनि स्वास्थ्य सेवामा नर्सहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि कलेज सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो । भने, नर्सिङ सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने बताउनु भयाे ।
कार्यक्रममा प्रा.डा. मोदनाथ मरहठ्ठा र प्रा.डा. निलमणी उपाध्याय, मेट्राेन नविना सिंह समेतले स्वास्थ्य सेवा विस्तारमा नर्सहरूको योगदानको प्रशंसा गर्दै सम्मान र प्रेरणाको आवश्यकता औँल्याउनुभयो ।
सप्ताहव्यापी रूपमा मनाइएको नर्सिङ डे अन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई सम्मान गरिएको थियो भने नर्सिङ विद्यार्थीहरूले आधुनिक नर्सिङ सेवाकी प्रणेता फ्लोरेन्स नाइटिङ्गेलको योगदान स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावलाई पुनः सम्झँदै उनकै पदचाप पछ्याउँदै अगाडी बढ्ने प्रण गरे ।

कार्यक्रममा कलेजका नर्सिङ विद्यार्थी, स्टाफ नर्सहरूले विविध सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।