आज मे १२ अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । यस वर्ष “हाम्रा नर्स, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन् ।” भन्ने मूल नारासहित नेपाल लगायत विश्वभर यो दिवस मनाइँदै छ । आधुनिक नर्सिङ सेवाकी प्रवर्तक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
स्वास्थ्य क्षेत्रको हरेक पाटा निकै संवेदनशील हुन्छ । पेशागत रूपमा नर्सिङ पेशा सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा हो । किनकि बिरामीसँग सबैभन्दा नजिक र सबैभन्दा लामो समय प्रत्यक्ष रूपमा नर्स नै रहने गर्छन् । नर्स दयालु र सहानुभूतिको प्रतीक बन्नुपर्छ। प्रायः बिरामीहरू अस्पताल आउँदा शारीरिक पीडा, रोगको डर र तनावमा हुन्छन्। यस्तो अवस्थामा नर्सको माया, सहानुभूति, उपचार र सकारात्मक व्यवहार बिरामीलाई मानसिक रूपमा समेत ठूलो राहत मिल्छ। जसले बिरामीको उपचारमा समेत सकारात्मक प्रभाव पर्छ।
त्यस्तैगरी, नर्स धैर्यवान हुनुपर्छ। अस्पताल आउने सबै बिरामी एउटै स्वभावका हुँदैनन्—कोही किचकिच गर्ने, कोही झगडालु, कोही कमजोर मनस्थितिका हुन्छन्। यस्तो अवस्थामा नर्सले संवेदनशील भई शान्त र धैर्यपूर्वक सबैलाई समान व्यवहार गर्नुपर्छ।
नर्स आफ्नो व्यावहारिक जीवनमा पेशागत रूपमा दक्ष र क्षमतावान हुनुपर्छ। जस्तै, औषधि दिने तरिका, रोगको अवस्था बुझ्ने, मेडिकल उपकरण चलाउने सीप जस्ता कुरामा राम्रो ज्ञान हुनुपर्छ। कर्मचारी, बिरामी र सबैजनासँग राम्रो सञ्चार सीप अत्यन्त आवश्यक हुन्छ। नर्सले बिरामीलाई रोग, औषधि र उपचारबारे स्पष्ट रूपमा बुझाउन सक्नुपर्छ। त्यसको साथै, बिरामीका समस्या सुन्ने। त्यसलाई बुझेर डाक्टरसँग समन्वय गर्ने क्षमता पनि हुनुपर्छ।
सबै पेशाकर्मी जस्तै नर्स पनि जिम्मेवार र अनुशासित हुनुपर्छ। समयमै औषधि दिनु, रिपोर्ट जाँच गर्नु र चिकित्सकको निर्देशन पालना गर्नु नर्सको कर्तव्य हो। सानो लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ। त्यस तर्फ नर्स सधै चनाखो रहनुपर्छ । रोगको प्रमुख कारण वातावरणीय प्रदूषण समेत हो। त्यसकारण सरसफाइमा विशेष ध्यान दिनुपर्छ। अस्पतालमा संक्रमण फैलिन नदिन सफा वातावरण राख्नु नर्सको समेत मुख्य जिम्मेवारीमध्ये एक हो। त्यस तर्फ नर्स सचेत तथा चनाखो रहनुपर्छ।
एउटा असल नर्समा निरीक्षण गर्ने क्षमता (Observation skill) राम्रो हुनुपर्छ। बिरामीको सानो–सानो परिवर्तन जस्तै शरीरको तापक्रम, सास फेर्ने दर, व्यवहार आदिमा आएको फरक तुरुन्तै ध्यान दिन सक्नुपर्छ। यस्ता संकेतले ठूलो समस्या हुनुअघि नै समाधान दिन सक्छन्।
एउटा असल नर्समा गोपनीयता कायम राख्ने गुण, टोलीसँग काम गर्ने क्षमता, भावनात्मक रूपमा बलियो, सिकिरहने बानी, समान व्यवहार, राम्रो समय व्यवस्थापन जस्ता गुणहरू आवश्यक पर्छ ।
अन्त्यमा, नर्समा सेवा भाव, इमानदारी र आपतकालीन अवस्थामा छिटो निर्णय लिन सक्ने क्षमता हुनुपर्छ। यस्तो गुण भएको नर्सले बिरामीको शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि राम्रो हेरचाह गर्न सक्छ।
पेशागत राम्रो ज्ञान, सीप र राम्रो व्यवहारको संयोजन भएको व्यक्ति हो नै एक असल नर्स हुन्। जसले बिरामीको जीवन बचाउन र सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। त्यसकारण नर्स तिमि असल बन्नु, राम्रो बन्नु, पेशागत निष्ठावान् बन्नु, सबै बिरामीको उपचारको लागि शीतल मलम बन्नु। नर्स तिमि यस्तो बन्नु !
(क्रिटिकल कियर नर्समा विएनएस गरेकी लेखक चालिसे चितवनस्थित भरतपुर अस्पतालको अप्रेशन थियटरमा कार्यरत छिन् ।)