काठमाडौं- जेनजी आन्दोलनपछि शुशीला कार्की नेतृत्वको नयाँ अन्तरिम सरकार गठन भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् पूर्ण रूपमा विस्तार हुन सकेको छैन।
प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छन्। मन्त्रिपरिषद विस्तार नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले नै राखेकी छिन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको विषयमा बालुवाटारमा सामान्य छलफल भए पनि कुनै निश्चित समयसीमा तोकिएको छैन। 'हालसम्म स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि कुनै नाम निश्चित भएको छैन, तर दुई मुख्य विकल्पमा छलफल चलिरहेको छ,' स्रोतले बतायो।
स्रोतका अनुसार पहिलो विकल्पअन्तर्गत भइसकेका मन्त्रीहरूलाई स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिने र दोस्रो विकल्पमा नयाँ योग्य व्यक्तिलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ।
यो छलफलले मन्त्रिपरिषद्को सन्तुलन र दक्षता कायम राख्न केन्द्रित रहेको उल्लेख गर्दै स्रोतले थप्यो, 'जसरी भए पनि चाँडै निर्णय हुन्छ, तर राजनीतिक स्थिरता र जनताको अपेक्षालाई ध्यान दिइनेछ।'
भदौ २४ गतेको आगलागी घटनापछि मन्त्रालय नयाँ भवनमा सरेको छ र नयाँ स्वास्थ्य मन्त्रीका लागि विशेष कोठा तयार पारिएको छ। तर त्यसको कुनामा अझै 'स्वागत' हुने व्यक्ति को हो भन्ने अन्यौल कायम नै छ।
हाल मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित आठ सदस्य छन्। जसमा रामेश्वर खनाललाई अर्थ सहित संघीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ सहित भौतिक पूर्वाधार तथा यतायात र सहरी विकास, ओम प्रकाश अर्याललाई गृह मन्त्रालय, अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति सहित कानुन, न्याय तथा संसदीय मामिला र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्रालयको नियुक्तिमा ढिलाइले भने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्लाई थप समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बालुवाटार स्रोतका अनुसार छलफलको नतिजा चाँडै सार्वजनिक हुने र त्यसले स्वास्थ्य मन्त्रालयको 'खाली कुर्सी' लाई भराउने छ।
यो बीचमा, स्वास्थ्य मन्त्रालय नयाँ भवनमा सरेपछि दैनिक कामकारबारी सुचारु भए पनि नेतृत्वको अभावले नीतिगत निर्णयहरूमा ढिलाइ भइरहेको छ।
आगलागीबाट क्षति पुगेको पुरानो भवन छोडेर नयाँ स्थानमा स्थानान्तरणसँगै मन्त्रालयका कर्मचारीहरूले नयाँ मन्त्रीको आगमनको आशा गर्दै आइरहेका छन्।
'मन्त्रीज्यू आउनुभयो भने स्वास्थ्य क्षेत्रका महत्वपूर्ण योजनाहरू तीव्र गतिमा अगाडि बढ्न सक्छन्,' मन्त्रालयका एक अधिकारीले भने, 'तर अहिले भने अझै अन्यौलकै अवस्था रह्यो।'
उनले वर्षाल लगत्तै देशका केही स्थानमा डेंगु बढेका कारण डेंगु लगायत रोगको महामारी देखिनुअघि नै मन्त्री नियुक्त भएर आउने अपेक्षा गरेको जानकारी दिए।