अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा १७, राष्ट्रिय स्वास्थ्य नीति, २०७६ र जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९(१) अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नुपर्ने स्पष्ट कानूनी व्यवस्था गरिएको छ।
तर व्यावहारिक रूपमा हेर्दा यो व्यवस्था अझै स्वास्थ्य अभ्यासमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। यदि चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य औषधि सिफारिस गर्ने अधिकार प्राप्त व्यक्तिहरूले आफ्ना पेशागत आचारसंहिता, नैतिक मूल्य र कानूनी जिम्मेवारी आत्मसात् गरेर पालन गरेका भए, अस्पतालबाट अलग्गै निर्देशन जारी गर्नुपर्ने अवस्था आउने थिएन।
यस्तो सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले राज्यका ऐन र नीतिलाई व्यवहारमा उतार्ने उद्देश्यले चिकित्सकहरूलाई जेनेरिक नाममा औषधि सिफारिस गर्न निर्देशन जारी गर्नु एक सकारात्मक, अनुकरणीय र समयानुकूल कदम हो।
कानूनी दृष्टिकोण
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९(२) अनुसार, उक्त ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र जेनेरिक नाममा औषधि सिफारिस गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख छ। तर ऐन जारी भएको सात वर्ष बितिसक्दा पनि अझै यो व्यवस्था व्यापक रूपमा लागू हुन नसक्नु गम्भीर प्रश्न हो।
यसका पछाडि निम्न प्रमुख कारणहरू रहेका छन्:
- चिकित्सक परिषद् तथा अन्य नियामक निकायबाट जारी आचारसंहिताको कार्यान्वयनमा कमजोरी
- पेशागत नैतिकता र जिम्मेवारीको अभाव
- सम्बन्धित कार्यान्वयन निकायहरूको मौनता र निगरानीको कमी
- ऐन तथा निर्देशिकाहरूलाई व्यवहारिक रूपमा अद्यावधिक गर्ने पहलको अभाव
यी कमजोरीहरूले नेपालमा स्वास्थ्य सेवा प्रणालीलाई नियमित, पारदर्शी, गुणस्तरीय र सर्वसुलभ बनाउन चुनौती खडा गरेका छन्।
जेनेरिक नामको प्रयोगबाट प्राप्त फाइदा र अवसरहरू
जेनेरिक नाममा औषधि सिफारिस गर्नु केवल कानूनी दायित्व मात्र होइन, जनस्वास्थ्य सुदृढीकरणको दिशामा एक ठोस अवसर पनि हो। यसका प्रमुख फाइदा र सम्भावनाहरू यसप्रकार छन्:
- रोगीको आर्थिक बोझ घटाउने
जेनेरिक औषधि समान गुणस्तरको भए पनि ब्रान्डेड औषधिभन्दा सस्तो हुन्छ। यसले उपचारलाई सुलभ र किफायती बनाउँछ।
- औषधिको समान पहुँच सुनिश्चित गर्ने
स्वास्थ्य संस्थामा उपलब्ध जुनसुकै ब्रान्ड भए पनि चिकित्सकले जेनेरिक नाम लेखेपछि औषधि सजिलै उपलब्ध हुन्छ, जसले सेवा वितरणमा लचिलोपन ल्याउँछ।
- फार्मेसी सेवाको पारदर्शिता बढाउने
जेनेरिक नामले औषधिको वैज्ञानिक पहिचान सुनिश्चित गर्छ, जसले फार्मासिस्टलाई सही प्रतिस्थापन गर्न सहज बनाउँछ।
- राष्ट्रिय औषधि नीति कार्यान्वयनमा सहयोग पुर्याउने
यसले औषधि बजारमा अनावश्यक ब्रान्ड प्रतिस्पर्धा घटाउँछ र घरेलु औषधि उद्योगलाई सुदृढ बनाउँछ।
- शैक्षिक तथा अनुसन्धानात्मक उपयोगिता
चिकित्सा शिक्षण संस्थाहरूमा जेनेरिक प्रयोगले विद्यार्थीहरूलाई औषधि विज्ञानको मौलिक समझ र वैज्ञानिक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ।
निष्कर्ष
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममा औषधि सिफारिस गर्न सुरु गरेको कदम नीति, ऐन र आचारसंहिताको कार्यान्वयनतर्फको ऐतिहासिक र सराहनीय पहल हो। यसबाट अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि प्रेरणा लिन सक्नेछन्।
-(लेखक धीरज रौनियार औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत हुन्।)