काठमाडौं- ग्राण्डी इन्टरनेशनल अस्पतालले विगत १० वर्षको अवधिमा १७२ जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण गरेको छ। २० औँ विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा अस्पतालले सो तथ्यांक सार्वजनिक गरेको हो।
नेपालमा सन् २००८ बाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भए पनि ग्राण्डीले भने सन् २०१६ जुलाईदेखि यो सेवा आरम्भ गरेको थियो।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले ग्राण्डीले मिर्गौला रोगको उपचारलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले भने, 'नेपाली बिरामीहरू मिर्गौला प्रत्यारोपणकै लागि विदेश जानु नपरोस् भन्ने उद्देश्यले हामीले १० वर्षअघि यो सेवा सुरु गरेका थियौँ, जसमा हामी सफल हुँदै आएका छौँ।'
अस्पतालकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहले मिर्गौला रोगले कुनै पनि उमेर समूहलाई समात्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणमा जोड दिइन्। डा. शाहले भनिन्, 'रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न र बेलाबेलामा जाँच गराइरहनु पर्छ। साथै, धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहनु नै मिर्गौला बचाउने उत्तम उपाय हो।'
यस्तै, वरिष्ठ युरोलोजिष्ट तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले मिर्गौला उपचारमा राज्यको ठूलो लगानी रहेको उल्लेख गरे। सरकारले डायलाइसिसका लागि मात्रै वार्षिक १ अर्ब २७ करोड रुपैयाँ खर्च गर्दै आएको भन्दै उनले रोकथाममा जोड दिनुपर्ने बताए।
अस्पतालका नेफ्रोलोजिष्टहरू डा. विष्णु पहारी र डा. शतिशचन्द्र यादवले मिर्गौला रोगबारे जनचेतना फैलाउन आवश्यक रहेको औंल्याए। कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका र डायलाइसिस गराइरहेका बिरामीहरूले आफ्ना अनुभव साटेका थिए। सो अवसरमा अस्पतालमा उपचाररत बिरामीहरूलाई सम्मान समेत गरिएको थियो।