काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपन) का अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगको उपलब्धिहरूको चर्चा गर्दै उच्च गुणस्तरमा उत्पादन भइरहेको बताएका छन्।
नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटनका क्रममा उनले भने, 'हामी गर्व गर्छौं कि नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन्। आज करिब ५० प्रतिशत औषधि बजारमा नेपालीहरूले प्रयोग गरिरहेका छन् भने उत्पादनको हिसाबले करिब ७० प्रतिशत औषधि स्वदेशमै बनाइरहेका छौं। यो केवल गर्वको विषय मात्र होइन, देशलाई औषधिमा आत्मनिर्भर बनाउने ज्वलन्त उदाहरण पनि हो।'
अधिकारीले एक्सपोको उद्देश्य औषधि निर्माणमा प्रयोग हुने विश्वव्यापी प्रविधि र नविनतम उपकरणहरू प्रदर्शन गर्नु रहेको उल्लेख गरे। 'यस एक्सपोले नेपाली औषधि उद्योगको क्षमता, संवेदनशीलता र गुणस्तरको प्रमाण देखाउने अवसर दिनेछ। नेपाली औषधि अब विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्षम छ र झन्डै १४ मुलुकमा निर्यात भइसकेको छ,' उनले भने।
उनले उपस्थित सबै सरोकारवालाहरूसँग आग्रह गर्दै देशमा आवश्यक औषधि उत्पादन र प्रवर्द्धनका लागि नीतिगत सुधार र नविन नीतिहरू अपनाउनु जरुरी रहेको बताएका छन्।
उनले स्वास्थ्य र औषधि क्षेत्रलाई अझ सशक्त र अब्बल बनाउने बताएका छन्।
अधिकारीले अन्तमा आयोजक टिम, स्पोन्सर र सहभागी सबैलाई धन्यवाद दिँदै एक्सपोमा प्रत्यक्ष सहभागिता जनाउन सबैलाई आग्रह गरेका छन्।