काठमाडौं – तिहारलाई मिठाईको पर्वका रूपमा लिइन्छ। यतिबेला धेरै चिल्लो र गुलियो खानेकुरा बन्ने गर्छन्। तर बढी मात्रामा चिल्लो तथा गुलियो खानेकुराको सेवन स्वास्थ्यका लागि हितकर मानिँदैन। अझ मुटु, सुगरलगायत विभिन्न प्रकारका दीर्घरोगीहरूलाई यस्ता खानेकुराले अझ बढी असर गर्न सक्छन्।
तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको प्रयोगमा बढावा दिनुपर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्। पछिल्ला वर्षहरूमा तिहारमा अत्यधिक चिल्लो तथा गुलियो खानेकुराको प्रयोग हुनु स्वास्थ्यको दृष्टिकोणबाट फाइदाजनक नभएको उनको धारणा छ। साथै, तिहार मदिराको अत्यधिक सेवन हुने पर्वका रूपमा पनि परिवर्तित भइसकेको बताउँछन्।
उनका अनुसार, अत्यन्तै कम मानिसहरूले मात्र स्वास्थ्यकेन्द्रित खानपान शैली अपनाउने गरेका छन्।
‘सकेसम्म बढी गुलियो तथा अनावश्यक रङ हालेका मिठाई खानु राम्रो मानिँदैन,’ उनले भने, ‘बजारबाट ल्याइएका भन्दा घरमै बनाइएका मिठाईको प्रयोग स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ।’
तर, बजारबाट मिठाई ल्याउँदा अखाद्य रङ मिसाइएका मिठाई नकिन्ने सल्लाह उनले दिएका छन्। विशेषगरी डायबिटिजका बिरामीहरूले गुलियो खानेकुराको सेवन अत्यन्तै कम गर्नुपर्ने उनको सुझाव छ।
सेलरोटी तथा मिठाई बनाउँदा तेलको विकल्पका रूपमा घिउको प्रयोग गर्दा स्वास्थ्यमा तुलनात्मक रूपमा कम असर पर्ने पोषणविद् मनषा थापा ठकुराठी बताउँछिन्।
तर, पटक–पटक प्रयोग गरिएको तेल वा घिउ दुबै स्वास्थ्यका लागि हानिकारक हुने उनको तर्क छ।
उनका अनुसार, सेलरोटी स्वास्थ्यका लागि फाइदाजनक भए पनि सही ढंगले सेवन गर्न नसकेमा त्यसले उल्टो असर गर्न सक्छ।
सेलरोटी तथा मिठाईमा अत्यधिक मात्रामा गुलियो प्रयोग गर्नु र बढी तताइएको तेलमा पकाउनु दुबै स्वास्थ्यका दृष्टिले हानिकारक हुने उनले बताइन्।
उनले थपिन्, 'बढी धुँवा आउने गरी तातो बनाइएको तेल विषादीजस्तो बन्ने भएकाले त्यसले स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्छ।'
त्यस्तो तेललाई पटक–पटक प्रयोग गर्नु अझै हानिकारक हुने उनको भनाइ छ। यस्ता तेलले रगतमा बोसो, चिल्लो तथा कोलेस्ट्रोल बढाउने भएकाले एकपटक प्रयोग भइसकेको तेल पुनः प्रयोग नगर्न उनले सुझाव दिएकी छन्।
गुलियो तथा चिल्लो पदार्थ अत्यधिक खानाले तत्कालै अपच, पखाला, खानामा अरुचि, वान्ता जस्ता समस्या ल्याउन सक्ने सम्भावना हुन्छ। लामो समयसम्म सेलरोटी र मिठाईजस्ता खानेकुरा राखेर खाँदा दीर्घकालीन असर गर्न सक्ने पोषणविद् ठकुराठी बताउँछिन्।
उनका अनुसार, यस्ता खानेकुरा धेरै खाँदा मुटु रोगी तथा सुगरका बिरामीहरूमा दीर्घकालीन असर पर्न सक्छ।
तिहारमा प्रयोग हुने सेलरोटी तथा मिठाईहरू बनाउने तरिका गलत भएमा त्यसले फाइदाभन्दा बढी हानि पुर्याउने मुटु रोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन्।
उनी भन्छन्, ‘‘एउटै तेलमा पटक–पटक सेलरोटी पकाउँदा खराब प्रकृतिको चिल्लो बन्ने र त्यसले कोलेस्ट्रोल बढाउने सम्भावना रहन्छ, त्यसैले सजग हुनुपर्छ।’’
चाडपर्वको समयमा बढी बस्ने, खाने मात्रै गर्ने बानीले जीवनशैली अस्वस्थकर बनाउने र मुटु रोगको जोखिम बढाउने डा. मास्के बताउँछन्।
उनका अनुसार, नेपालीहरूले तिहारमा बढी खाने मिठाई, सेल र मासुका परिकारहरूमा अन–स्याचुरेटेड फ्याटको मात्रा बढी हुने र त्यस्तो खानपानले मुटु रोग लाग्ने सम्भावना बढाउने गर्छ।
मुटु रोगीहरूले आफ्नो रोगको प्रकृति अनुसार सागसब्जी तथा फलफूलको सेवनमा बढावा दिनुपर्ने उनको सुझाव छ।
वनस्पति तेललाई एकपटक प्रयोग गर्दा खासै हानी नगरे पनि पटक–पटक प्रयोग गर्दा गम्भीर असर गर्न सक्ने उनले बताए। त्यसैगरी, अखाद्य रङ मिसाइएका मिठाईहरू स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता मिठाईको प्रयोग निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ।