भारत- दिवालीको भोलिपल्ट दिल्ली र आसपासका क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खराब बनेको छ। मङ्गलवार बिहान राजधानीका धेरै ठाउँमा बाक्लो धुँवा र धूलोको तह देखिएको थियो।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार, दिल्लीको वायु 'धेरै खराब' श्रेणीमा पुगेको छ।
दिवालीको रातभर दिल्लीमा पटाका पड्काउने आवाज सुन्न सकिन्थ्यो। यद्यपि, भारतको सर्वोच्च अदालतले पटाका पड्काउने निश्चित समय तोकेको थियो, दिवाली अघिल्लो दिन र दिवालीको दिन बिहान ७ बजेदेखि ८ बजेसम्म तथा बेलुका ८ बजेदेखि १० बजेसम्म मात्र हरित पटाका पड्काउन अनुमति दिइएको थियो।
तर मङ्गलवार बिहान ६ बजे मापन गर्दा, आनन्द विहारमा एक्युआई ३४८,आईटीओमा ३४५, बुराडी क्रसिङमा ३९३, चाँदनी चौकमा ३४७, र लोधी रोडमा ३३४ दर्ता गरिएको थियो।
सीपीसीबीका अनुसार, ३०० देखि ४०० बीचको एक्युआई लाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ। दिल्लीसँगै जोडिएका नोएडा र गुडगाउँमा पनि हावाको स्थिति यस्तै रहेको छ।
नोएडा सेक्टर–६२ मा एक्युआई ३०७ र गुडगाउँ सेक्टर–५१ मा ३४६ मापन गरिएको छ।
विशेषज्ञहरूका अनुसार, पटाका, सवारी धुवाँ, र मौसमीय कारणले गर्दा प्रदूषणको स्तरमा रातारात वृद्धि भएको हो।