काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध मुद्दा दर्ता हुने अख्तियारले बताएपछि उनलाई मन्त्री बनाइएको थिएन।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले डा मिश्राविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मेमोग्राम मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो।
उनीसहित १४ जनालाई मुद्दा दर्ता गरेको हो।
अख्तियारले डा मिश्रा विरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय विगो माग गर्दै मुद्दा हालेको छ।
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा भ्रष्टाचार भएको देखिएको हो।
आयोगको अनुसन्धानअनुसार सम्झौता बमोजिम सम्पूर्ण सामग्री नआउँदै गलत Post Shipment Inspection Report, Acceptance Letter, र झुट्टा बिल बिजक तयार गरी रु.१३ करोड ३७ लाख ८३ हजारको भुक्तानी गरिएको थियो। सामग्री प्राप्त नहुँदै भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले जनाएअनुसार उक्त खरिदमा करिब रु.१४ करोड ६ लाख ८५ हजार ५०० बराबरको सरकारी हानी भएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
आरोपपत्रमा महानिर्देशक डा मिश्रासहित विभागका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, डा. विवेक कुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पध्मा मिश्रसहित १४ जनालाई प्रतिवादी बनाइएको छ।
अख्तियारले स्वास्थ्य सेवा विभागले लागत अनुमान अस्वाभाविक रूपमा बढाएको, सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन गरी ठेक्का छनोट गरेको र सरकारी सम्पत्तिलाई हानी पुर्याउने उद्देश्यले योजनाबद्ध रूपमा मिलेमतो गरेको प्रमाण पाएको जनाएको छ।