इशा कार्की
स्वास्थ्यको एउटा अत्यावश्यक अंश हो, मानसिक स्वास्थ्य। हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ, जसको उद्देश्य मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक स्वास्थ्यको समर्थनमा प्रयास परिचालन गर्नु हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका चारमध्ये एक व्यक्ति आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक वा न्युरोलोजिकल डिसअर्डरबाट प्रभावित हुन्छन्। विश्वमा करिब ४५ करोड मानिस अहिले यस्तो अवस्थाबाट ग्रस्त छन्। हरेक ४० सेकेन्डमा कुनै एक व्यक्ति मानसिक समस्याबाट ग्रसित भएर आफ्नो जीवन गुमाउँछन् । यस वर्ष कोभिड-१९ महामारीको कारण मानसिक स्वास्थ्य समस्या बढ्दो गतिमा छ।
नेपालमा पहिलो मनोचिकित्सक बिरामी विभाग सेवा सन् १९६१ मा पहिलो मनोचिकित्सक डा विष्णुप्रसाद शर्माले सुरु गर्नुभएको थियो । सन् १९८४ मा स्थापित लगनखेल मानसिक अस्पताल नेपालको सबभन्दा पुरानो मानसिक अस्पताल हो। मानसिक स्वास्थ्य सम्बन्धी नीति नेपालमा सन् १९९७ देखि लागू भएको छ, तर नीतिगत ढाँचा कार्यान्वयन हुन बाँकी नै छ।
नेपालको करिब ३० प्रतिशत जनसंख्या मानसिक समस्याबाट ग्रस्त छ। मानसिक स्वास्थ्य सेवाहरू प्राय: ठूला सहरहरूमा केन्द्रित रहेका छन्। अनि हरेक १००,००० जनसंख्यामा ०.२२ प्रतिशत मनोचिकित्सक र ०.०६ प्रतिशत मनोवैज्ञानिक मात्रै विभाजित हुन जान्छन्।
एक सामान्य मानिससँग धेरै भावना हुन्छन्। जस्तै: खुसी, उदासी, क्रोध, डर, शोक, आश्चर्य, लाज आदि। जो सधैं खुसी रहन्छ, उसलाई मानसिक रुपमा स्वस्थ ठान्न नमिले जस्तै, जो सधैं दु:खी हुन्छ, उसलाई मानसिक रूपमा अस्वस्थ्य व्यक्ति ठान्न पनि सकिँदैन। मानसिक रूपले स्वस्थ व्यक्तिहरू व्यक्तिगत विकासको भावना राख्छन्, समस्या समाधान गर्ने क्षमता हुन्छ, प्रेम दिन र स्वीकार गर्न सक्छन्, आफ्नो पहिचानको खोजी गर्छन्, आशावादी, रचनात्मक, सकारात्मक सोच राख्छन्, विभिन्न कुरामा रुचि राख्छन् र निर्णय लिनको लागि सक्षम हुन्छन्।
हालको महामारीले विश्वव्यापी आर्थिक संकट उत्पन्न गराएसँगै मानिसमा मानसिक स्वास्थ्य समस्याको वृद्धि पनि गराइरहेको कुरा स्पष्ट छ। नेपाल प्रहरीका अनुसार राष्ट्रव्यापी लकडाउनको पहिलो ७४ दिनमा १२२७ जनाले आफ्नो जीवन अन्त्य गरेका छन्। लकडाउनदेखि यता आत्महत्याका घटनाको संख्या २५ प्रतिशतले वृद्धि भएको छ। प्रतिदिन २० व्यक्तिले लकडाउनको दौरान आत्महत्या गरेका छन् जुन लकडाउन अघि १५ व्यक्ति प्रतिदिन थियो।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार किशोर-किशोरीहरूमा (१३-१७ वर्ष) मानसिक असन्तुलन ५.२ प्रतिशत रहेको पाइएको थियो। आत्मघाती विचारहरु ३.९ प्रतिशतलाई र आजीवन आत्महत्याको प्रयास ०.७ प्रतिशतमा पाइएको थियो। वयस्कहरूमा (१८ वर्ष र माथिका) १० प्रतिशतलाई आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक असन्तुलन भएको थियो र वर्तमान स्थितिमा ४.३ प्रतिशतलाई मानसिक असन्तुलन रहेको छ र तीमध्ये आत्मघाती विचारहरु ७.२ प्रतिशतमा रहेको पाइएको छ।
मानसिक स्वास्थ्य एक दिनमै बिग्रिने कुरा होइन। यसका विभिन्न कारण छन्। जस्तै: सामाजिक-आर्थिक स्थिति, व्यक्तिगत जीवन परिस्थिति, वातावरण, गम्भीर वा दीर्घकालीन तनाव, नजिकको कसैको मृत्युको शोक, एक दीर्घकालीन शारीरिक स्वास्थ्य अवस्था, पारिवारिक असमर्थन, साथीहरूबीच सम्बन्ध र अन्य रहेका छन्। कुनै पनि उमेरका व्यक्ति मानसिक स्वास्थ्य समस्याहरूको खतरामा पर्न सक्छन्।
मानसिक रोग भनेको एक अस्वस्थता हो र कुनै लज्जास्पद कुरा होइन। एक मानसिक बिरामी व्यक्तिले आफूबाट अपेक्षा गरेको र समाजले उसको लागि गरेको माग अनुसार प्रतिक्रिया गर्ने आफ्नो क्षमता गुमाउँछ। मानसिक रोग भएका एक व्यक्तिमा डिप्रेसन (निराशा, असहायता र लाचारी) का लक्षण, चिन्ताको भावना, कुनै जैविक कारण बिना शारीरिक गुनासो र व्यवहार वा मुडमा अचानक परिवर्तन देखा पर्ने गर्छन्।
नेपाल अझै पनि मानसिक रोगको विषयमा खुल्न संघर्ष गरिरहेको छ। व्यक्तिहरू सोच्छन् कि, मानसिक रोग पूर्ण रूपमा निको हुन सक्दैन र यसले मृत्यु निम्त्याउँदैन। त्यसैले तिनीहरू उपचार खोज्न ढिलाइ गर्छन् र यदि खोजेछन् भने पनि परम्परागत उपचार (धाँमी, झाँक्री) गर्नेसँग परामर्श लिने गर्छन्। व्यक्तिहरूले सोच्छन् कि, विवाहले मानसिक रोगलाई ठिक गर्छ, जुन गलत विश्वास हो। 'बहुला' र 'पागल' प्रायः स्किजोफ्रेनिया, साइकोसिस जस्ता मानसिक समस्या भएका व्यक्तिहरूका लागि सामान्य मानिसले प्रयोग गर्दै आएका शब्द हुन्।
सबै मानसिक बिरामी पागल हुँदैनन्। तीमध्ये ९५ प्रतिशत सामान्य स्वास्थ्य भएका मानिसजस्तै पूर्ण रूपमा ठिक देखिन्छन्। एक मानसिक रोग भएकासँग बौद्धिकताको कमी हुन्छ भन्ने हुँदैन र बौद्धिकताको मानसिक रोग वा दिमागी विकारसँग केही सम्बन्ध छैन। यस्ता सोचाइहरूको कारण र जागरूकताको अभावले मानिसहरू उचित मानसिक स्वास्थ्य उपचारको लागि अगाडि आउन हिच्किचाउँछन्। करिब ९० प्रतिशतभन्दा बढी नेपालीको स्वास्थ्य सेवामा पहुँच नै छैन।
यो विषम परिस्थितिमा हामीले हाम्रो मानसिक साथै शारीरिक स्वास्थ्यको पनि हेरचाह गर्नु महत्त्वपूर्ण छ। कोभिड-१९ को कारण मानिसले आफ्नो जागिर गुमाएका छन्, हरेक दिन कोही भोको पेट भर्न संघर्ष गरिरहेका छन्। साथै तनाव र चिन्ता हरेक व्यक्तिको मानसपटलमा भौँतारिदै छन्। जीवनशैली परिवर्तन हुँदैछ र हरेक दिन विभिन्न समाचारले त्रास फैलाउँदै छ। हामी सबैका लागि यस समय चुनौतीपूर्ण बन्दै गइरहेको छ।
हामीले आफ्नो मानसिक स्थिति स्वस्थ राख्न धेरै उपाय गर्न सक्छौं। यसका लागि आफ्ना प्रियजनहरूसँग नियमित सम्पर्कमा रहने जसका लागि टेलिफोन, इमेल, सोसल मिडिया वा भिडियो कन्फरेन्सका माध्यम छान्न सकिन्छ। खाने, सुत्ने, व्यायाम गर्ने र अन्य स्वास्थ्य गतिविधिहरूका लागि सकेसम्म नियमित समय तालिका बनाउने। केही मानसिक स्वास्थ्य सम्बन्धी समस्या महसुस हुँदा आफ्नो नजिकका व्यक्तिसामु भावना साटासाट गर्ने। दैनिक रूपमा हामीले कोभिड-१९ को बारेमा समाचारहरू पाइराखेका छौं जसले तनाव झन् थपिदिएको छ। सोसल मिडियाको प्रयोग पनि कम गर्ने र परिवारका सदस्यसँग समय बिताउनाले मानसिक तनावहरू कम गर्न सकिन्छ।
कोभिड-१९ ले भविष्यमा मानिसको मानसिक स्वास्थ्य स्थितिमा पक्कै पनि प्रभाव पार्नेछ। मानसिक समस्या बारेमा अझै पनि मानिसमा सचेतनाको अभाव छ। कतै हामी सबै जनाले संस्कृति र समाजको नाममा हाम्रो विचार र अभिव्यक्ति बाँधेका त छैनौं। हामी समाजले ‘डरपोक’, ‘कमजोर’, ‘पागल’ जस्ता नामबाट परिभाषित गर्लाकी भन्ने डर पालिराखेका छौं। एक जनाले सबैलाई सहयोग गर्न नसके पनि नजिकका एक व्यक्तिलाई भने अवश्य सक्छौं। हामी प्रायः मानिसमा व्यवहार परिवर्तन भइरहेको पनि देखिरहेका हुन्छौं, तर हामी उसको समस्या सोध्ने कर्तव्य वहन गर्न चाहँदैनौ। यस्ता स्वभाव तपाईं र म जस्ता थुप्रैमा हुन्छन्। चोट लाग्दा मात्रै पीडाको अनुभव हुनु स्वभाविक हो।
मानसिक स्वास्थ्य समस्याहरू सामान्य बनाउन अझै लामो बाटो बाँकी नै छ। तर हामी हाम्रो तर्फबाट प्रयास भने गर्न सक्छौं । मानसिक स्वास्थ्यका मुद्दाहरू सम्बोधन गर्न आवश्यक छ। अधिकांश व्यक्तिले आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धित चुनौतीहरूको अनुभव गर्ने गर्छन्। हामी सबै यसका जोखिममा छौं र मानसिक स्वास्थ्य अवस्थाको बारेमा खुला र इमान्दार कुराकानी पनि हुनुपर्छ र उपचार विकल्पहरू उपलब्ध छन् भनेर पनि थाहा पाउनुपर्छ।