बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रसूति विभागमा कार्यरत असिस्टेन्ट प्रोफेसर डा सूर्यप्रसाद रिमाल (एसपी रिमाल) को कोठाका भित्तामा बाँसुरी, मादल, सारंगी, सहनाई जस्ता बाजा झुन्डिएका छन्।
कोठाको टेबुलमा तबला, गितार, किबोर्ड पनि छन्। चिकित्सा पेसाको व्यस्तताबीच पनि डा रिमाल फुर्सद निकालेर बाँसुरी र मादल बजाउने अभ्यास गरिरहेका हुन्छन्। उनले आफ्नो वाद्यवादन कलालाई कोठामा मात्र सीमित राखेका छैनन्। बिपी प्रतिष्ठानमा हुने सार्वजनिक कार्यक्रमहरुमा समेत उनी बाँसुरीको मिठो धुन सुनाउँछन्।
डा रिमाल र उनका सहकर्मी चिकित्सक तथा विद्यार्थीहरुका लागि उनको कोठा अभ्यास गर्ने ठाउँ जस्तै बनेको छ। डा रिमालसँगै उनका सहकर्मीहरु पनि फुर्सदमा उनकै कोठामा अभ्यास गर्न आइपुग्छन्। प्रतिष्ठानकै मनोरोग विभागमा कार्यरत डा शशांकराज पोखरेल गाउँछन् र गितार बजाउँछन्। एमबिबिएस अध्ययरत आशिष भन्डारी तबला, बाँसुरी, किबोर्ड बजाउँछन्, अनोज तुम्बाहाङ्फे पनि गाउने, संगीत भर्ने, गीतार बजाउने गर्छन् भने प्रतिक शर्मा किबोर्ड बजाउँछन् र गाउँछन् पनि।
कार्यक्रमहरुमा उनीहरुकै समूहका विष्णु पोखरेल भ्वाइलिन बजाउँछन्। रामचन्द्र न्यौपाने मादल बजाउँछन्। पेसागत हिसाबले व्यस्त दैनिकी हुने चिकित्सक र चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुको संगीतमोह गज्जबको छ।
उनीहरुको समूहले धेरै वटा कार्यक्रममा आफ्नो कला प्रदर्शन गरिसकेको छ। उनीहरुले केही धुनहरु युट्युबमा पनि राख्ने गरेका छन्। सन् २०१६ मा प्रतिष्ठानमा नेपाल मेडिकल एसोसिएसनको ‘अल नेपाल मेडिकल कन्फ्रेन्स’ (एनेमेकन) भएको थियो। त्यो कार्यक्रममा हरेक साँझ सांगीतिक कार्यक्रम हुन्थ्यो। त्यसबेला प्रतिष्ठानकै टोलीले पनि प्रस्तुति दिने कुरा उठ्यो। यसमा रुचि भएकाहरुले समूह बनाउन थाले। त्यसै क्रममा बनेको समूहले अहिलेसम्म प्रतिष्ठानमा हुने कार्यक्रमहरुमा सांगीतिक प्रस्तुति दिने गरेको डा रिमाल बताउँछन्।
अहिले यो समूहमा जोडिएका चिकित्साकर्मीका आआफ्नै कथा छन्। डा रिमाल सानैदेखि बाँसुरी बजाउँथे। गाउँतिर लोकदोहोरी सुन्थे, चाडपर्वमा भजन-किर्तनमा पुग्थे। बाँसुरीको धुनले उनलाई लोभ्याउँथ्यो। चिकित्सा पेसामा लागे पनि उनलाई त्यही धुनले छोइरह्यो। धरान आइपुगेपछि धरानका संगीतकर्मीहरुसँग पनि घुलमिल हुन थाले। त्यसपछि बाँसुरीबादक बुद्ध लामासँग बाँसुरीका सेटै किने। अनि यसलाई निरन्तरता दिइरहे। ‘यसो भेटघाट हुने र संगीतको सन्तुष्टि पनि लिइहाल्ने मेलो भएको छ,’ उनी भन्छन्, ‘कामले थाकेका बेला पनि आनन्द आउँछ, रमाइलोका बेला त झनै आनन्द हुन्छ। दुईचार दिन बजाएन भने कस्तोकस्तो लाग्छ। बजाएपछि स्टे«स कम हुन्छ।’
समूहमा रहेका डा शशांकराज पोखरेल त पहिला ब्यान्डमै थिए। धरानमै पढेका उनी सन् २००६ देखि नै गितार बजाउँथे। उनलाई मेटल संगीतमा रुचि थियो। पछि एमबिबिएस पोखरामा पढे। त्यसबेला मेटल मन पराउने साथीहरु भेटेपछि उनीहरुले ब्यान्ड नै स्थापना गरे। ब्यान्डबाट लेकसाइडमा प्रस्तुति पनि गरे। त्यसबेला उनी भोकलमा थिए, गितार पनि बजाउँथे। उनलाई शास्त्रीय संगीत पनि मन पथ्र्याे।
एमबिबिएस सकिएपछि साथीहरु कताकता पुगे, ब्यान्ड पनि रहेन। तर उनलाई संगीतको नशा लागिसकेको थियो। उनी प्रशिक्षक किशोर गुरुङसँग शास्त्रीय संगीत सिक्न थाले। वरिष्ठ संगीतकर्मी अम्बर गुरुङका छोरा किशोरबाट केही समय शास्त्रीय संगीत सिकेपछि उनी आफ्नै चिकित्सा पेसातिर लागे। भन्छन्, ‘प्रोफेसनल्ली त पछि के हुन्छ थाहा छैन तर अहिलेलाई आफ्नै सन्तुष्टिका लागि संगीतमा रमाइरहेको छु।’
प्रतिष्ठानको मानसिक रोग विभागमा उपचार गराउन आउने बिरामीका लागि पनि त्यहाँ संगीतको धुन बजाइएको हुन्छ। बिरामीहरुले पनि गाउने, गीत सुन्ने गर्छन्। उनी मानसिक रोगका बिरामीलाई संगीतको अझै महत्व रहेको बताउँछन्। ‘अहिलेका कति गीतहरु डिप्रेसिभ टाइपका छन्, बिरामीले त्यस्ता गीत सुने भने झन् सुसाइट गर्ने सम्भावना हुन्छ भने पोजिटिभ गीत सुन्दा चाँडो निको हुने हुन्छ।’ उनी सुनाउँछन् ‘ग्लुमी सन्डे जस्ता गीत सुनेर मान्छे मरेका छन्। त्यसैले बिरामीले गीत सुन्दा ध्यान दिनुपर्छ।’
एमबिबिएस पढिरहेका प्रतिक शर्मा यो समूहमा किबोर्ड बजाउँछन्। दार्जिलिङका प्रतिकको माहोल पनि सानैदेखि संगीतमय थियो। उनले करिब २ वर्ष किबोर्ड सिके। बेलाबेला कन्सर्टमा बजाउँथे उनी। कक्षा ११ पढ्न सिलिगुडी पुगेपछि उनले स्कुलकै ब्यान्डमा आबद्ध भएर दुई वर्ष किबोर्ड बजाए।
प्रतिष्ठानमा आएपछि डा रिमाल लगायतको टिमसँग उनको भेट भयो। त्यसपछि यहीँ बजाउन थालेका उनी गाउँछन् पनि। गत वर्ष प्रतिष्ठानका विद्यार्थीबीच भएको गायन प्रतिस्पर्धा ‘भ्वाइस अफ बिपीकेआइएचएस’ मा उनी प्रथम भए। उनले आफ्ना संगीत शिक्षकको निधन भएपछि उनैलाई समर्पण गर्दै गीत पनि बनाए। अहिले पनि उनलाई कभर गीतहरु गर्न रुचि छ। भन्छन्, ‘आफ्नो ठाउँको माहोलले संगीतमा आकर्षित भएँ, चिकित्सा पेसासँगै यसलाई पनि निरन्तरता दिन्छु।’
प्रतिष्ठानमै एमबिबिएस पढिरहेका आशिष भन्डारी तबला, बाँसुरी, किबोर्ड बजाउँछन्। काठमाडौं, बुढानिलकन्ठका आशिषले सानैदेखि सांगीतिक माहोल पाए। उनका गणित शिक्षक तलबा बजाउँथे, शास्त्रीय संगीत सिकेका थिए। उनले विद्यार्थीहरुलाई पनि सिकाइदिन्थे। त्यहीँदेखि प्रभावित थिए आशिष। बाँसुरीबादक उमेश पन्डितको घर आशिषको नजिकै थियो। उनको बाँसुरीको धुन सुनेपछि आशिष मन्त्रमुग्ध हुन्थे। त्यसले पनि उनलाई यो क्षेत्रमा झनै आकर्षण ग¥यो। उनी ८ कक्षा पढ्दा नै तबला बजाउन थाले। ‘परीक्षा दिन त सकिनँ तर आत्मसन्तुष्टि चाहिँ पाएको छु,’ उनी भन्छन् ‘यहाँ आएपछि उस्तै रुचि भएकाहरुसँग भेट भयो। समय मिल्दा अभ्यास गर्ने, गाउने, बजाउने गरिरहेका छौं।’
प्रतिष्ठानमै एमबिबिएस पढिरहेका अनोज तुम्बाहाङ्फे पनि गाउने र गितार बजाउने गर्छन्। मोरङ, उर्लाबारीका उनी सानैदेखि स्कुलमा गाउने, नाच्ने गर्थे। गीत सुनेर उनका साथीहरुले हौस्याउँथे। कक्षा ६ मा पढ्दा उनले स्टेजमा अनिल सिंहको गीत गाए। अग्रजहरुले पनि उनको गीत मन पराएर हौसला दिए। त्यसपछि त अग्रज दाइहरुले विभिन्न सांगीतिक प्रतियोगितामा भिड्न पठाउँथे। सात आठ कक्षामा पढ्दा साथीभाइबीच उनी ‘राम्रो गायक’ का रुपमा परिचित भइसकेका थिए। साथीहरुसँग मिलेर ब्यान्ड पनि बनाए। उनी सुनाउँछन्, ‘म भोकलमा थिएँ। उर्लाबारीतिर लाग्ने मेलामा गाएर चार÷पाँच हजार पाउँथ्यौं।’
गीत लेख्ने, संगीत गर्ने र गाउने अनोजको एसएलसी सकेपछि काठमाडौं गएर एल्बम निकाल्ने सपना थियो। सात÷आठ वटा गीत पनि तयार थिए। तर समय सोचे जस्तो भएन। ‘अहिलेको मुख्य काम त पढ्ने नै हो तर बेलाबेला गाउने, बजाउने गरिन्छ,’ उनी भन्छन् ‘अझै पनि कुनै बेला एउटा एल्बम निकाल्ने कि भन्ने सोच छ।’
पेसा र अध्ययनले जुटेको यो समूहले कहिलेसम्म सामूहिक रुपमा गाउने, बजाउने थाहा छैन तर जो जहाँ पुगे पनि निरन्तरता दिन उनीहरु प्रतिबद्ध छन्। संगीतकर्मले बिरामीसँग घुलमिल हुन र कुरा गर्न पनि सहज भएको उनीहरुको अनुभव छ। डा रिमाल भन्छन्, ‘आफैंलाई अरु मान्छेसँग छिटो घुलमिल हुने, कुरा गर्ने र सुन्ने बानी बसेको छ, यो कला संगीतकै कारण हो जस्तो लाग्छ।’