काठमाडौं- नेपाली वैज्ञानिक डा सञ्जीवन गौतम विश्व प्रसिद्ध औषधि कम्पनी एस्ट्राजेनेकाको अन्कोलोजी विभागमा निर्देशक तथा टी मोडुलेसन प्रमुख नियुक्त भएका छन्। उनलाई गत साता उक्त जिम्मेवारी दिइएको हो।
उनले भनेका छन्, 'म आफ्नो नयाँ भूमिका सुरु गर्न पाउँदा उत्साहित छु। प्रतिभाशाली वैज्ञानिकहरू र चिकित्सकहरूसँग मिलेर यस्तो उपचार प्रविधिमा काम गर्न पाउनु, जसले साँच्चिकै परिवर्तन ल्याउँछ, एक सौभाग्यको कुरा हो। पछिल्ला छ वर्षमा तीनवटा नविन औषधिहरूलाई क्लिनिकल अध्ययनतिर लैजानु अत्यन्तै अद्भुत अनुभव रह्यो। मेरो परिवार र मेरा मार्गदर्शकहरूप्रति, उनीहरूको अविचल समर्थनका लागि, म अत्यन्तै आभारी छु!'
एस्ट्राजेनेका विश्वव्यापी बायोफार्मास्युटिकल कम्पनी हो, जसको मुख्यालय इङ्ग्ल्यान्डको क्याम्ब्रिजमा रहेको छ। यो विश्वभर १०० भन्दा बढी देशहरूमा सक्रिय रूपमा काम गरिरहेको छ।
कम्पनी वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन मार्फत नयाँ औषधिहरू विकास गर्नेमा अग्रणी मानिन्छ। क्यान्सर उपचारमा इम्युनोथेरापी, टार्गेटेड थेरापी र सेल मोडुलेसन जस्ता प्रविधि प्रयोग गरी नयाँ किसिमका औषधिहरू ल्याउँदै आएको छ।
डा. संजीवन गौतमले आफ्नो पीएचडी जर्मनीको युनिभर्सिटी अफ फ्रायबर्गबाट इम्युनोलोजी र इम्युनोडिफिसेन्सी विषयमा गरेका हुन्। त्यसपश्चात उनले अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युट , नेशनल इन्स्टिच्युट्स अफ हेल्थबाट पोस्टडोक्टोरल अनुसन्धान पूरा गरे।
पीएचडी गर्नुअघि डा. गौतमले भारतको जवाहरलाल नेहरु विश्वविद्यालय र डेनमार्कको आरहस विश्वविद्यालयमा मोलिक्युलर साइन्सेस र बायोटेक्नोलोजी मा स्नातकोत्तर अध्ययन मागरेका थिए। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट पब्लिक हेल्थको संक्रामक रोग विषयमा पनि स्नातकोत्तर समेत गरेका छन्।