झट्ट सुन्दा र कल्पना गर्दा योग भनेको चटकबाज उटपट्याङ्ग गर्ने कुनै ब्यक्तिले शारीरिक हाउभाउबाट शरीरलाई मोड्ने, बटार्ने उधोमुन्टो र खुट्टा माथि ठड्याउने, बलजफ्ती खुट्टा मोडी ढाड सिधापारी बस्नु अथवा टिभीमा देखिने कुनै गेरु वा श्वेत वस्त्रधारीेले जोडजोडले सास भर्ने, फ्ँयाक्ने, पेट हल्लाउने मात्रै भन्ने कुरा अधिकांश नेपालीको मनमा चित्रित हुन्छ। यी त सब हठयोगका प्रथम अङ्ग मात्र हुन।
आयुर्वेद भन्नेबित्तिकै कुनै टर्रा तीता बनस्पतिको जरा, काण्ड, पत्र वा पुष्पको धुलो भन्ने बुझाई मात्र नेपालीको मस्तिष्कमा बाँकी रहेको देखिन्छ। परापूर्वकालदेखि वेदमा उल्लेख स्थान हिमवत्खण्ड, आर्यावर्तान्तगर्त सिन्धुघाँटी सभ्यता क्षेत्रमा पातञ्जल ऋषिले प्राणीहरुको मनमा शुद्धता ल्याउन योग, वाणीमा शुद्धता ल्याउन ब्याकरण र शारीरिक विकृतिको निर्हरण गर्नका लागि वैद्यक शास्त्रको उत्पत्ति भएको कुरा योगवार्तिकमा लेखिएको छ। योगेन चित्तस्य पदेन वाचा मलं शरीरस्य च वैद्यकेन योऽपाकरोत्तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि।। (योगवार्तिक)
यसरी हिमवत्खण्डमा याायावर ऋषिहरुको अथक तद्वितसंभाषा र लामो खोज तथा अनुसन्धानद्वारा स्थापित ज्ञान जसले आजसम्म भारतीय उपमहाद्विप रहेका सम्पूर्ण प्राणी जगतको अस्तित्वलाई जिवित ल्याई पुर्यायो। यस ज्ञानको सतही मूल्याङ्कन गरी यसमा रहेका अपार संभावनालाई उजागर गर्न नसकिएको देखिन्छ।
यसरी एकाध गुरुकुल आश्रममा सिमित रहेको योगाभ्यास शिक्षा पद्दतिलाई विश्व ब्यापीकरण गर्ने सिलसिलामा भारतबाट रामकृष्ण परमहंश मिशन, स्वामी विवेकानन्द, गायत्री परिवार, महर्षि योग, आयङ्गर योग, विहार स्कुल अफ योग,आर्ट अफ लिभिङ्ग्र र बाबा रामदेवको पतञ्जली योग केन्द्रको सह्रानीय पहल कदमी र अग्रणी भूमिका छ। त्यसो त नेपाल र श्रीलंकामा पनि योगका अभियान चलाउने प्रतिष्ठान नभएका होइनन्। समयको माग सँगसँगै यसले आफनो स्वरुपमा पनि परिवर्तन ल्याएको छ।
त्यसो त तीतो सत्य भन्नुपर्छ भारतमा नरेन्द्र मोदी सरकार आएपछि योग तथा आयुर्वेदका क्षेत्रमा पुनर्जागरणका तरङ्गहरु आएका छन्, फलस्वरुप भारतमा योग तथा आयुर्वेदको सर्वांगिण विकासका निम्ति छुट्टै आयुष मन्त्रालयको स्थापना हुनु, योग शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नु, संयुक्त राष्ट्रसंघको साधारणसभामा विश्वमा शान्ति स्थापना र जलवायु परिवर्तनलाई न्युनीकरणका लागि योग तथा नैतिकबलको आवश्यक छ र यसको प्रवद्र्धनका निम्ति अन्र्तराष्ट्रिय योग दिवस मनाइनुपर्छ भन्ने प्रस्ताव ल्यायो जसको पक्ष राष्ट्रकोरुपमा नेपाल उभिने सिवाय आजसम्म केही गर्न सकेन।
त्यसको मुर्तरुपमा आज हामी प्रथम अन्र्तराष्ट्रिय योग दिवस मनाउदै छौँ। हाम्रै हिमालयखण्डबाट प्रतिपादित बौद्धिक ज्ञान सम्पत्तिलाई जोगाउन सकेनौँ, यसको प्रवद्र्धनमा चासौ देखाएनौ भने राज्यले पहिचान नै गुमाउन सक्छ। अब नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्ध, विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमात्र भनेर होइन योग भूमि र आयुर्वेदको देश भनेर चिनाउने समय आएको छ। वर्तमान समयमा योग तथा आयुर्वेदको एकिकृत विकाश तथा नेपालीकरण गरी हाम्रो देश नेपालले निम्न रुपमा फाइदा लिन सक्छ।
१) द्वन्दोत्तर तथा प्रकोपत्तर तनाव ब्यवस्थापन
गतको दशवर्षे जनयुद्ध होस् वा वैशाख १२ को कहाली लाग्दो महाभूकम्पको असर होस् यसबाट नेपालले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको । भौतिक क्षति त मित्रराष्ट्र र दातृनिकायबाट सहयोग लिई पुनर्संरचना तथा पुनःस्थापना गर्न सकिएला, देखिने ठूलाठूला घाऊ पनि आवश्यक सघन उपचार तथा मल्हमपट्टी गरी निको पार्न सकिन्छ तर नदेखिने भावनात्मक चोटहरुलाई (पोष्ट ट्रयामाटिक स्ट्रेस डिसअर्डर) यति सजिलोसँग सञ्चो पार्न सकिन्न यसका लागि लामो समय र आत्मीय सहयोग जरुरी हुन्छ, जसका लागि योग, ध्यान, सामूहिक सतसङ्ग, प्रवचन, सामूहिक परामर्श र आयुर्वेद निकै प्रभावकारी रहेको छ। मस्तिष्कमा अर्धचेत अवस्थमा रहेका हिंस्रक तथा अमानवीय व्यवहारलाई हटाउन, मनको वृत्ति/वहलाई भुलाउन, रोक्न (योगश्चित्त वृत्तिः निरोधः। योगदर्शन ) र मस्तिष्कका रासायनिक संवादातालाई सन्तुलनमा ( योग : समत्वं उच्यते ) ल्याउन योग प्रभावकारी रहेको कुरा अन्तराष्ट्रिय योग जर्नलमा अनुसन्धान भएर छापिएका छन्।
२) प्राथमिक स्वास्थ्य रक्षा तथा नसर्नेरोग ब्यवस्थापन
श्व स्वास्थ्य सङ्गठनले पनि मानिसले सदियौँदेखि प्रचलनमा आएका आफ्ना मौलिक चिकित्सा पद्धतिहरुलाई आफ्नो प्राथमिक स्वास्थ्य रक्षामा उपयोगमा ल्याउन राज्यले प्रभावकारी कदम चलाउनुपर्दछ भनि बेइजिङ्ग घोषणापत्रमा उल्लेख गरेको छ र सो मुताविक (द युज अफ ट्रेडिस्नल मेडिसिन इन प्राइमरी हेल्थकेयर) निर्देशिकाहरु पनि तयार पारेको सन्दर्भमा हामी चानुमानो लागेर बस्नु अर्थपूर्ण हुदैन जस्तो की हाम्रा सन्ततिहरुलाई स्वस्थ बनाउन अभियानकै रुपमा भएपनि एक घर छ जडीबुटी, लशुन बेसार तुलसी अमला कुरिलो र गुडुची, प्राथमिक स्वास्थ्य रक्षाको औषधी नारामा मात्रै होईन, वास्तवमै उपयोग गरि सामान्य श्वासप्रश्वास, भाइरल ज्वरो, एलर्जी, अम्लपित्त, कब्जियत, दीर्घ इम्युनीटि कमजोरी देखि महिलाको कुपोषण चक्र समेत अन्त्य गर्न सकिन्छ।
हामीलाई थाहा छ हाम्रो देश दुई ढुङ्गा बीचको तरुलमात्र नभई दुई ठुला किङ्गडम अफ डायबेटिज चीन र भारतका बीचमा छौ। परिवर्तित जीवनशैली तथा आयातित संस्कृतिबाट अछुत हुन सकेका छैनौं। त्यसको मारमा आज नेपालमा पनि अस्पतालमा आउने बिरामीको कूल संख्याको ८० प्रतिशत जति बिरामी नसर्नेरोगबाट(मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, मुटुरोग, क्यान्सर तथा दीर्घ श्वासप्रश्वास, अम्लपित्त आदी) प्रभावित छन्। यिनीहरुका लागि प्रमुख उपचार भनेकै पहिला जिवनशैलीको ब्यवस्थापन यानिकी प्राकृतिक जीवनशैली अवलम्बन अर्थात योग तथा आयुर्वेद निर्दिष्ट आहार, विहार तथा औषध उपचार गर्नु हो।
यी कुराहरुको कसी लगाउने काम रिभर्सिङ्ग हार्ट डिजिज का लेखक तथा प्रसिद्ध मुटुरोग विशेषज्ञ डा.डिन अर्निश, र योगा इन सिनर्जी विथ मेडिकल साईन्स पुस्तकका लेखक स्वामी बाबा रामदेव तथा आचार्य बालकृष्णद्वारा भएको छ।
३) राज्यमा शान्ति स्थापना तथा सुशासन कायम
आम समुदायमा बढ्दो घुस लिने र दिने प्रकृया, भ्रष्टचार तथा अपारदर्शिता,आम नैराश्यता हडकाउ भडकाउ आयातित कुसंस्कृति,लैङ्कितामा आधारित हिंसा,लागुपदार्थ दुब्र्यसन लाई सकारात्मक सोचँबाट परिवर्तन गराउन,प्रकृयामुखी प्रशासन लाई नतिजामुखी, उपलब्धमुखी तथा जनमुखी बनाउन राष्ट्रसेवक कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्न आन्तरिक तथा बाह्य शौचद्धारा मन,वचन र कर्ममा शुद्धता ल्याई न्यायोचित ब्यवहार, हाँसो दाँतबाट मात्र नभई मनदेखि ल्याउन, समावेशी कार्यान्वयनका लागि नैतिकबल आवश्यकता पर्दछ।
त्यो योग ध्यान विपश्यना तथा नैतिक शिक्षाबाट पाईन्छ। (योगः कर्मशु कौशलम्।गीता ) हामीले केहिमहिना अघि सञ्चारमाध्याम मार्फत सुनेको अधिकृत ध्यान,यसलाई त्यो वर्गमा मात्र सिमित राख्नुहुन्न। यो प्रत्येक राष्ट्रसेवक कर्मचारीको तहतप्कामा दिनु जरुरी छ,तबमात्र हामीले चाहेको भ्रष्टचारमुक्त, सुशासनयुक्त, भय, रोग र भोकमुक्त आदर्शराज्यको स्थापना हुन्छ।
४) सामाजिक तथा आर्थिक स्तरोन्नती
आज विश्वका बौद्धिक वर्ग, कर्मचारी, ब्यापारी तथा विभिन्न पेशाकर्मी मात्र नभई संसार भरी मन बहकलाउन, क्षणिक आनन्दका लागि गाँजा, चरेश र चुरोट खादै हिड्ने, रिट्रिट सेन्टर चहार्दै हिड्ने युवा समूह, हिप्पिहरु दीगो मानसिक शान्तिका लागि आज विभिन्न योशशिविर, आश्रममा प्रवेश गरी योगको फाईदा लिइरहेका छन्।
विश्वभरिका मानिसहरु आज योग तथा आयुर्वेद अध्ययन गर्न तथा उपचार लिन आतुर रहेको कुरा भारतीय तथा नेपाली उपचार केन्द्रको तथ्याङ्कले जनाउछ। यसरी त्यस्तो जनसंख्यालाई लक्षित गरी हिमालको काखमा पाईने जडीबुटीबाट निर्मित औषधी र हिमालकै मनोरम काखमा योगकेन्द्र,आयुर्वेद तथा योग चिकित्सा अध्ययनका लागि उच्चस्तरीय विश्वविद्यालय खोली अदक्ष जनशक्ति हौईन, नेपालले आफ्नो मौलिक चिकित्सामा दक्ष जनशक्ति योगशिक्षक, हर्बालिष्ट, आयुर्वेद चिकित्सक, योग चिकित्सक लाई निर्यात गरी विश्वसामु अलग पहिचान कायम गरी विदशी डलर भित्र्याउन सकिन्छ। खाली नेपाली पैसालाई डलरमा रुपान्तरण गरी नेपाली विद्यार्थीलाई मात्र विदेशीने बनाउने होइन, नेपाललाई योग तथा आयुर्वेद, जडीबुटीको हबका रुपमा विकाश गरी विदेशी विद्यार्थीलाई आकर्षित गरी मनग्य आम्दानी बढाउन सकिन्छ।
उदाहरणकै रुपमा हेर्दा छिमेकी देश भारतमा रहेको पतञ्जलीले आ.व सन् २०१३ २०१४ एफएमसीजी उत्पादनलेमात्र १२०० करोड भारु को कारोबार गर्याे जुन अघिल्लो आ.व को ४१.१७% ले बृद्धि हो। उसले आ.व २०१५२०१६ मा २००० करोड भारुको लक्ष्य लिएको छ जुन अघिल्लो आ.व को तुलनामा ६७% ले वृद्धि हुन जान्छ भन्ने कुरा ईकोनोमिक्स टाईम्स ईन्डिया उद्घृत गर्दछ। एक प्रतिष्ठित भारतीय संस्था आई ओ एस आर जर्नल अफ बिजनेश एण्ड म्यानेजमेन्टमा (आई ओ एस आर– जे बि एम) अ योगिक बिजनेश रिभो लुशन ब्याक टु फ्युचर भन्ने शिर्षकमा विश्वमा योग तथा आयुर्वेदको ब्यापारलाई प्रा. हरिश लगायतको टोलीले बडो अनुसन्धनात्मकढङ्गबाट आशातित कार्यपत्र प्रस्तुत गर्नुभएको छ।
आज जसरी पतञ्जली आयुर्वेद उत्पादनले भारतीय अर्थतन्त्रमा आफ्नो हिस्सा मजबुत बनाएको छ र जुन किसिमको राष्ट्रिय योगदान छ। त्यस्तै श्रीलंकाले आज आयुर्वेदसँग पर्यटनलाई जोडी आर्थिक बृद्धि गरेको छ। यसरी हामीले पनि योग तथा आयुर्वेद माध्यमको प्रयोग गरी समृद्ध नेपाल बनाउन सक्छौ।
५)वातावरणीय स्वास्थ्य प्रवद्र्धन
भारतमा नर्मदा बचाऔ अभियान,गंगा वृक्षारोपण अभियानको प्रारुपको सुरुआत गर्ने पहिला योगप्रमी महान समुदाय नै थिए न कि कुनै अधिकारवादी संस्था थियो। प्रत्येक टोलटोलमा ठुला बहुवर्षीय बर, पीपल, शमी लगायत वृक्ष, पाटी, पौवा चौपारी, कुवा, ईनार र पोखरी निर्माण गर्ने संस्कार हामीले यौगिक बलयुक्त परम्परागत नैतिक शिक्षाबाट दीक्षित समुदायबाट भएको थियो। हामीलाई सर्वविदित छ नेपालमा सुरुआत भएको बाग्मती सरसफाई अभियान पनि गायत्री परिवार ऋषिकेशको अगुवाईमा भएको थियो र पछि मात्र सबै लागेका हौ।
यो सबैको तात्पर्य के हो भने योग शिक्षाले हामीलाई आकाश,वायु,तेज,जल र पृथ्विबाट सभ्यताको सुरुआत भएको हो यी पञ्चतत्व (पर्यावरण) प्रकृतीस्थ(स्वच्छ) भएमा मात्र हामी स्वस्थ हुन्छौ भन्ने सिकाउछ।(पुरुषोऽयं लोकसम्मितः।) योगशिक्षाले बसुधैव कुटुम्बकम्, सर्वजनहिताय, नैतिक सिद्धान्तबाट प्राकृतिक स्रोतको तात्कालिक दोहन होईन दीर्घकालिक उपयोग गर्न सिकाउँछ। जसले गर्दामात्र हामी जलवायु परिवर्तनलाई न्युनीकरण गर्न सक्छौ र त्यसबाट मानव लगायत सम्पुर्ण सजीवहरुको (स्थलचर,जलचर आदि)स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई कम गर्न सक्छौ। यसलाई स्कुलको पाठ्यक्रममा राख्न सक्यौँ भने सबभन्दा ठुलो नैतिकबलको सिर्जना योगशिक्षाबाट हुन्छ। जगजाहेर कुरा के हो भने नैतिकबल कानुनीबलभन्दा बलियो, भरपर्दो र टिकाउ हुन्छ। तबमात्र राज्यले अख्तियार गरेको वातावरणमैत्री स्थानीय शासन लागु भई प्रकृतिमैत्री आहार, विहार गरी स्वस्थ राज्यका समृद्ध नागरिक बन्न सक्छौँ।
(लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्क अर्घाखाँचीका प्रमुख हुन् )