विश्वभर हरेक वर्ष मार्च २४ तारिखका दिन मनाइने विश्व क्षयरोग दिवस यस वर्ष ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ। विश्वव्यापी नेताहरूले गरेको क्षयरोग नियन्त्रणको प्रतिबद्धता पूरा गर्ने समय घर्किसकेको तथ्यलाई मनन गर्दै क्षयरोग अन्त्य गर्नका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। विशेषतः विश्वभर गत वर्षदेखि फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सन्दर्भमा क्षयरोगको रोकथाम, नियन्त्रणका साथै निर्मूल गर्ने लक्ष्य हासिल गर्न विश्व स्वास्थ्य संगठनको विश्वव्यापी स्वाथ्य कभरेज बढाउन गाह्रो भएको छ। यस वर्षको क्षयरोग दिवसमा विश्व स्वास्थ्य संगठनले क्षयरोग निर्मूल गर्ने लक्ष्य हासिल गर्ने सिलसिलामा यसअघि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने सुनिश्चित गर्न आव्हान गरेको छ।
क्षयरोगबारे जानकारी
क्षयरोग अथवा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट अत्यन्त छिटो सर्ने रोग हो। यो रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ, तर यसले रोगसँग लड्ने क्षमता कम भएकालाई सजिलै आक्रमण गर्दछ र रोगसँग लड्ने क्षमता घटाउँछ। रोगसँग लड्ने क्षमता नष्ट भएपछि जुनसुकै रोगका साथै क्षयरोगसमेत संक्रमण हुन सक्छ। क्षयरोग लागेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि एचआइभीको समेत संक्रमण हुन सक्छ र यसो भएमा निको हुन गाह्रो हुनुका साथै अकाल मृत्यु हुन सक्छ। सन् १८८२ मा डा. रबर्ट कोच नाम गरेका वैज्ञानिकले ‘माइकोब्याक्टेरियम ट्युबरकुल’ नामक किटाणुबाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका हुन्। त्यसकारण माइको ब्याक्टेरियम ट्युबरकुललाई ‘कोच ब्यासिलस’ पनि भनिन्छ।
विश्व क्षयरोग दिवसको उद्देश्य
क्षयरोगको रोकथाम/नियन्त्रण तथा निर्मूलबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी सन् २०२२ सम्ममा क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि सबैतहसम्म भएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो।
क्षयरोगको इतिहास
सन् १९८२ मा क्षयरोग तथा फोक्सोसम्बन्धी रोगविरुद्धको अन्तर्राष्ट्रिय संघको १००औं वर्षगाँठमा रबर्ट कोचको प्रस्तुतीकरणमा हरेक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवसको रूपमा मनाउने औपचारिक घोषणा गरियो। त्यसवर्ष विश्व स्वास्थ्य संगठनद्वारा क्षयरोगलाई अहिलेमात्र नभई सधैंका लागि निर्मूल गर्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाउन थालियो। सन् १९९५ मा विश्व स्वास्थ्य संगठन र रोयल नेदरल्याण्ड क्षयरोग फाउण्डेसनले पहिलो विश्व क्षयरोग दिवस मनाउन योजना तथा पैरवी बैठक गरी नियमित रूपमा विश्व क्षयरोग दिवस मनाउन सघाएको थियो।
क्षयरोगले युरोप एवम् अमेरिकाका सात जनामध्ये एक जनाको मृत्यु गराएकोले क्षयरोगका प्रवर्द्धक रबर्ट कोचले बर्लिन विश्वविद्यालयको शारिरिक सरसफाइ अध्ययन संस्थानमा क्षयरोगको कारण पत्ता लगाएका थिए।
क्षयरोगको वर्तमान अवस्था
क्षयरोग उपचारबाट बच्न सकिने तर मृत्युको मुखसम्म पुर्याउने प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। विश्वभरमा बर्सेनि २८ हजारभन्दा बढी व्यक्ति क्षयरोगबाट संक्रमित भएको पाइएको छ भने चार हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। स्वास्थ्य सेवा विभागको २०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार क्षयरोगबाट ३२ हजारभन्दा बढी संक्रमित व्यक्ति पाइएको छ। तीमध्ये ७१ प्रतिशत फोक्सोका क्षयरोगी पाइएका छन्। ५० प्रतिशत उत्पादनशील समूह (१५–४४) का युवाजनशक्ति क्षयरोगबाट संक्रमित पाइएका छन् भने ५.५ प्रतिशत बालबालिका संक्रमित पाइएका छन्। विश्व स्वास्थ्य संगठनले बर्सेनि ४५ हजार नेपालीको क्षयरोगबाट संक्रमित भएको अनुमान गरेको छ।
क्षयरोगका किसिम
१. पल्मोनरी टिबी फोक्सोमा मात्र लाग्ने क्षयरोग हो, जसमा रोगका किटाणुले फोक्सोमा संक्रमण गरेमा पल्मोनरी अथवा फोक्सोको क्षयरोग हुन्छ।
२. एक्स्ट्रा पल्मोनरी टिबी फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग हो, जसमा मष्तिष्क, मृगौला, हाड, जोर्नी, मुत्र प्रणाली, रगत, जनेन्द्रीय प्रणालीमा लाग्ने क्षयरोग इत्यादि पर्दछन्।
क्षयरोग सर्ने तरिका
क्षयरोग लागेका व्यक्तिसँग लामो समयसम्म सँगै बस्दा श्वासप्रश्वास गर्दा, खोक्दा, हाँच्छ्यु गर्दा, बोलचाल गर्दा हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा क्षयरोग सर्दछ। क्षयरोगबाट संक्रमित व्यक्तिले श्वास फेर्दा क्षयरोगका किटाणु हावामा फैलिन्छन् र स्वस्थ्य व्यक्तिका शरीरमा प्रवेश गरेमा क्षयरोग सर्न सक्दछ।
चिन्ह र लक्षणहरू
निम्न प्रमुख चिन्ह तथा लक्षणहरूबाट क्षयरोगको संक्रमण भएको शंका गर्नु पर्दछ। तर एक्स रे, छालामा गरिने क्षयरोग परीक्षण (मन्टु टेस्ट), खकार तथा रगत परीक्षण नगरी क्षयरोग ठहर्याउन सकिँदैन। वास्तवमा रगत, खकार परीक्षण नै क्षयरोगको प्रभावकारी निदानको उपाय हो।
- दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु।
- ज्वरो (साँझपख बढी) आउनु।
- खकारमा रगत वा रगतका छिटा निस्कनु।
- खान मन नलाग्नु, बिनाकारण शरीरको तौल घट्नु।
- कमजोरी हुनु।
- रातिको समयमा पसिना आउनु।
- छाती दुख्नु।
- परीक्षणमा क्षयरोगका किटाणु पत्ता लाग्नु।
- उपचार नभए मृत्युसमेत हुनु।
रोकथाम/नियन्त्रण
बालबालिकादेखि सबै उमेरकालाई, घरमा, स्कूलमा, काम गर्ने कार्यालय, अन्य कार्यस्थलमा र भीडभाड हुने स्थानमा क्षयरोगको सजिलै संक्रमण हुनसक्छ। तथापि, तलका उपाय अपनाएमा यसलाई सजिलै रोकथाम÷नियन्त्रण गर्न सकिन्छः
- कुनै पनि सुर्तीजन्य पदार्थ, हानिकारक मदिरा, लागुपदार्थ सेवन नगर्ने र सुरू गरेको भए तुरून्तै छोड्ने।
- शिशु जन्मनासाथ सकेसम्म चाँडै (एक वर्षभित्रै) बिसिजी खोप दिने।
- दुई हप्ताभन्दा लामो समयसम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गरी उपचार गर्ने। र, स्वास्थ्यकर्मीको परामर्शमा नियमितरूपमा नबिराइकन ६ देखि ८ महिनासम्म निःशुल्क नियमित रूपमा उपचार गर्ने।
- औषधि सेवन सुरू गरेपछि पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्ने।
- स्वस्थ जीवनका लागि क्षयरोगीले अनिवार्यरूपमा एचआइभी परीक्षण गर्ने र एचआइभी संक्रमितले अनिवार्यरूपमा क्षयरोगको परीक्षण गर्ने।
- क्षयरोगका बिरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसँग स्याहार, माया–ममता र सरसफाइमा ध्यान दिने।
क्षयरोगको उपचार
- क्षयरोग लागेको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार/रगत परीक्षण गर्ने।
- स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) पद्घतिमा रहेका औषधि सेवन गर्न सुरू गर्ने। नियमितरूपमा बीचमा नछुटाइकन ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्णरूपमा निको हुन्छ। घरबाट टाढा जानु परेमा पनि औषधि लिएर गई सेवन सुरू गरेपछि बिरामीलाई आराम हुँदै जान्छ, तर निको भयो भनी औषधि खान छोड्नु हुँदैन।
- स्वास्थ्यकर्मीको सल्लाहअनुसार क्षयरोगको औषधिसँगै अन्य रोगका औषधि सेवन गर्न सकिन्छ।
क्षयरोग नियन्त्रणमा समस्या
नेपालमा देखिने सरुवारोगमध्ये क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। विश्वभरमा बर्सेनि २८ हजारभन्दा बढी व्यक्ति क्षयरोगद्वारा संक्रमित भएको पाइएका छन् भने चार हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। नेपालका प्रजनन् उमेर (१५–४४ वर्ष) का ५० प्रतिशत युवा जनशक्ति क्षयरोग संक्रमित छन्। सन् २०२० मा विश्व स्वास्थ्य संगठनले गरेको क्षयरोग निर्मूलको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन। स्वास्थ्य सेवा विभागको २०७५/७६ को प्रतिवेदनअनुसार क्षयरोगबाट ३२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको पाइएको छ।
विश्व स्वास्थ्य संगठनले भने नेपालमा बर्सेनि ४५ हजारभन्दा बढी व्यक्ति क्षयरोगबाट संक्रमित हुने अनुमान गरेको छ। सन् २०१६ सम्ममा क्षयरोगबाट झण्डै ६ हजार जति बिरामीको मृत्यु भएको छ। बर्सेनि एक हजार ५०० जति बहुऔषधिप्रतिरोधी क्षयरोग (मल्टिड्रग रेसिस्टेण्ट टिबी)का बिरामी छन्। देशभर २० वटा केन्द्र र ८६ वटा उपकेन्द्रबाट बहुऔषधिप्रतिरोध क्षयरोग (मल्टिड्रग रेसिस्टेण्ट टिबी) को उपचार गरिन्छ। क्षयरोग नियन्त्रण कार्यक्रमका दक्ष सम्पर्क व्यक्तिको अभाव छ। बिरामीमैत्री क्षयरोग उपचार केन्द्रको अभाव छ। शंकास्पद क्षयरोगीको निदान र उपचारमा पनि सीमित सेवा केन्द्र स्थापना गरिएको छ। स्वास्थ्यकर्मीहरूलाई क्षयरोग व्यवस्थापन तालिमको खाँचो छ। क्षयरोगको परीक्षण र उपचारबारे समुदायस्तरसम्म स्वास्थ्य जनचेतना जगाउन सकिएको छैन। क्षेत्रीय एवं प्रादेशिक अस्पतालबीच समन्वयको अभाव छ। अझै पनि सामाजिक अपहेलनाको डरले क्षयरोगको समयमा परीक्षण गराउँदैनन्। सन् २००१ देखि देशभर प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स) प्रणाली लागू भइसके पनि क्षयरोगका बिरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमजोरी देखिन्छ।
- संंगठनात्मक संरचना र कार्यक्रमः नेपालमा क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने ६०० जति क्षयरोग निदान केन्द्र छन्। दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठनस्तरीय क्षयरोग नियन्त्रणमा काम गरे पनि शंकास्पद बिरामीको गुणस्तरीय परीक्षण तथा पूर्णउपचारको कमी नै देखिन्छ।
- क्षयरोग नियन्त्रणमा जनचेतनाको कमीः देशका विभिन्न तहका अधिकांश नागरिकलाई शंकास्पद बिरामीले निशुल्क परीक्षण तथा उपचार सुविधा कहाँ र कसरी पाउन सकिन्छ भन्ने जानकारी नै छैन। क्षयरोगबारे स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रममार्फत व्यापक जनचेतना पुग्न सकेको छैन।
- क्षयरोगका बिरामीलाई सुविधाको कमीः भौगोलिक रूपमा दुर्गम स्थानका क्षयरोगीमैत्री डट्स उपचार केन्द्रको कमी छ, यसले गर्दा बिरामीलाई धेरै टाढा–टाढा पुगेपछि मात्र परीक्षण तथा उपचार पाइने हुनाले पनि पूर्णरूपले उपचार गर्न अप्ठ्यारो भएको छ।
- क्षयरोगका किटाणुले औषधिमाथि शक्ति बढाउने (मल्टिड्रग रेसिस्टेण्ट टिबी)ः क्षयरोग नियन्त्रणमा मल्टिड्रग रेसिस्टेण्ट क्षयरोग हुनु ठूलो चुनौती हो। किनभने, बर्सेनि एक हजार ५०० भन्दा बढी बहुऔषधिप्रतिरोधक क्षयरोगी पाइएका छन्। यसको उपचारमा दिइने रिफाम्पिसिन, आइसोनियाजाइड, पाइरिजिनामाइड र इथाम्बुटोल गरी चार किसिमका औषधिमध्ये रिफाम्पिसिन र आइसोनियाजाइड कम्तीमा दुई किसिमका औषधिमाथि क्षयरोगका किटाणुले प्रतिरोध शक्ति पैदा गरेमा त्यसलाई ‘मल्टिड्रग रेसिस्टेण्ट क्षयरोग’ भनिन्छ र निको पार्न मुस्किल पर्छ। नेपालमा यस्तो खतरनाक मल्टिड्रग रेसिस्टेण्ट टिबीको समस्या बढ्दै गइरहेको छ।
- क्षयरोग र एचआइभी सहसंक्रमणः नेपालमा क्षयरोग र एचआइभी सँगसँगै संक्रमण समस्या बढ्दै गइरहेको छ। क्षयरोग र एचआइभी संक्रमितमा रोगसँग लड्नसक्ने क्षमता घट्दै जान्छ र जुनसुकै रोगले पनि सजिलै संक्रमण गर्न सक्दछ। त्यसकारण क्षयरोगीलाई एचआइभी संक्रमण हुन गएमा र एचआइभी संक्रमितलाई क्षयरोगको संक्रमण भएमा व्यक्तिको शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक अवस्थासमेत नाजुक बन्न सक्छ। अचेल एचआइभी संक्रमित व्यक्तिमा क्षयरोगको संक्रमणसमेत बढेको छ र क्षयरोग÷एचआइभी संक्रमणका कारणले मृत्यु हुनेको संख्या पनि बढेकाले मुलुककै सामाजिक तथा आर्थिक अवस्थामा नकारात्मक असर परेको छ। एचआइभी संक्रमित व्यक्तिहरूमा क्षयरोगको संक्रमण हुने दर १० प्रतिशतभन्दा बढी हुन्छ।
- क्षयरोगको सर्वेक्षणः क्षयरोगका नयाँ बिरामीको पहिचान गर्न, उपचार सुरू गरी नियमित गर्न र उपचारमा रहेका बिरामीलाई पूरा औषधि सेवनमा परामर्श दिनु नै क्षयरोग नियन्त्रणको महत्त्वपूर्ण कदम हो। तर, मुलुकभरका सबै क्षयरोगीको पहिचान, परीक्षण गरी उपचार गर्न सकिएको छैन भने पहिचान गरिएका बिरामीको ८५ प्रतिशतमात्र सफल उपचार हुने, साथै १७ हजारभन्दा बढी नयाँ र छिपेर बसेका क्षयरोगीको खोजपडताल भएको छैन।
- क्षयरोगको सफल उपचारः नेपाल सरकारले निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेको खण्डमा मात्र क्षयरोगको उपचार सफल मानिन्छ। तर, ९१ प्रतिशतमात्र भएको क्षयरोगको सफल उपचार दर भएकोले र मल्टिड्रग रेसिस्टेण्ट क्षयरोगीका कारणले पनि उपचारमा समस्या छ।
- क्षयरोगीको व्यवस्थापनः मुलुकमा क्षयरोगको नियमित र पूर्णरूपमा परीक्षण, परामर्श र उपचार गर्न चार हजारजति उपचार केन्द्र, २० वटा मल्टिड्रग रेसिस्टेण्ट टिबी उपचार केन्द्र र ८६ वटा उपकेन्द्रसमेत सञ्चालित छन्। ती केन्द्रबाट क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घरबाहिर कतै जानुपर्दा औषधि लिएर जानुपर्ने, पोषिलो खानेकुरा खानेजस्ता कुरामा राम्ररी परामर्श दिइएको पाइँदैन। क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य सञ्जाललगायत समुदायस्तरसम्म अभिमुखीकरण÷तालिम, शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा कमी देखिन्छ।
- सुपरीवेक्षण तथा अनुगमनः क्षयरोग नियन्त्रण कार्यक्रममा सवै सरोकारवालालाई अभिमुखीकरण, आधारभूत÷पुनर्ताजगी तालिम दिइएको छैन। खोजपडताल, परामर्श, परीक्षण र उपचार गुणस्तरीय बन्न सकेको छैन। सुधारमुखी सुपरीवेक्षण तथा अनुगमन अत्यन्त फितलो देखिन्छ।
क्षयरोग नियन्त्रणमा स्वास्थ्य प्रवर्द्धन
- दुई हप्तासम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्न जाने।
- क्षयरोग जटिल सरुवारोग भए पनि स्वास्थ्यकर्मीको परामर्शमा निःशुल्क पाइने परीक्षण, परामर्श र औषधि नियमितरूपमा पूरा समय (६ देखि ८ महिना)सम्म सेवन गरेमा निको हुन्छ।
- कुनै पनि सुर्तीजन्य पदार्थ, लागुपदार्थ वा मादकपदार्थ सेवन नगर्ने, यदि सेवन गरेको भएमा तुरुन्तै छोडिदिने।
- घरबाट टाढा जानुपरेमा पनि साथमा औषधि लगी नछुटाइकन खानुपर्छ। तर, बीचैमा औषधि खान छोडेमा मल्टिड्रग रेसिस्टेण्ट टिबी हुनसक्छ, यो अत्यन्त जटिल अवस्था हो।
- सधैँ खाने खानेकुरा, गेडागुडीको रस, दूध, अण्डा, नजिकै पाइने र मौसमअनुसारका फलफूल खाने।
- क्षयरोगीले अनिवार्यरूपमा एचआइभी परीक्षण गर्नु पर्दछ र एचआइभी संक्रमितले अनिवार्य रूपमा क्षयरोगको परीक्षण गर्नु पर्दछ। यदि, एचआइभी संक्रमण भएको यकिन भए एचआइभी÷एड्स र क्षयरोगको औषधि सँगसँगै खान सकिन्छ।
- समयमै परीक्षण, परामर्श र औषधि सेवन गरी ‘क्षयरोगलाई अन्त्य गरौं, समयले पर्खंदैन’।
याद गरौंः दुई हप्तासम्म खोकी लागेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण, परामर्श र औषधि पाइन्छ।
(अर्याल जनस्वास्थ्य प्रवर्द्धन विज्ञ हुन्)