वातावरणमा भएको शुद्ध हावा मानिसको बाँच्ने आधार हो। तर, हावा प्रदूषित भएमा दैनिक जीवनमा कठिनाई हुनुका साथै स्वास्थ्य समस्या र मृत्युको कारण पनि बन्न सक्छ। मृत्यु गराउने कारणमा वायु प्रदूषण नसर्ने रोगहरूमध्ये दोस्रो ठूलो कारण हो। वायुमण्डलमा देखा परेको अस्वाभाविक परिस्थितिले स्वास्थ्यमा पर्नसक्ने खराब परिस्थितिलाई मनन् गरि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारि गरि २०७७ चैत्र २० गतेसम्मका लागि शिक्षण संस्था बिदा दिने जानकारी गरायो। तर, देशभरका सम्पूर्ण शिक्षण संस्थाहरू भने बन्द भएका छैनन्। हावाको प्रदूषण स्तरको कारणले गर्दा शिक्षण संस्थाहरू कतै खुला छन् भने कतै बन्द भएका छन्।
वायु प्रदूषणले केवल विद्यार्थीहरूलाई मात्र असर गर्दैन, यसले जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने भएकोले हामी सबै सचेत भई यसको बारेमा बुझ्नु आवश्यक छ।
हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २० प्रतिशत अक्सिजन र २ प्रतिशत अन्य ग्याँसहरू मिसिएर रहेको हुन्छ। हावामा सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, क्लोरोफ्लोरो कार्बनमोनोअक्साड लगायत अन्य कणहरूको मात्रा बढी भएमा त्यस्लाई नै वायु प्रदूषण भनिन्छ। प्रदूषित हावामा अस्वाभाकिक रूपमा हानिकारक ग्याँसहरू मिसिएका हुन्छन् भने अन्य ग्याँस कति मात्रामा मिसिएको छ भनि मापन गर्ने कार्य एयर क्यावालिटी इन्डेक्सले गर्दछ। यसले हावाको शुद्धतालाई मापन गर्छ। एयर क्वालिटी इन्डेक्स अनुसार २०७७/१२/ १८ गते, विहान १० बजेर ४० मिनेटमा २३५ अंकसहित नेपालको काठमाडौं शहर वायु प्रदूषणमा अग्र स्थानमा रहेको देखिन्छ।
एयर क्वालिटी इन्डेक्सको तह अनुसार ५० भन्दा कम भएमा हानिकारक हुँदैन। यस्तो हावा स्वास्थ्यको लागि राम्रो हुन्छ। २०१ भन्दा माथि भएमा धेरै हानिकारक हुन्छ भने ३०१ देखि ५०० भएमा आपतकालीन स्थिति मानिन्छ। यस्तो बेलामा आम मानिसले विशेष सावधानीपूर्वक बस्नुपर्ने हुन्छ भने राज्यले पनि विशेष कदम चाल्नुपर्ने हुन्छ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण करिब ७ लाख मानिसले वार्षिक रूपमा ज्यान गुमाइरहेका छन्। अविकसित तथा आर्थिक अवस्था कमजोर भएका मुलुकहरूमा १० जनामध्ये ९ जनाले दूषित हावा लिने गर्दछन्। यस्तो प्रदूषित हावाले स्वास्थ्य समस्या निम्त्याउने गर्दछ।
वायु प्रदूषणले तुरुन्त देखिने स्वास्थ्य समस्याहरू :
छाला चिलाउने, घाँटी खसखस हुने, आँखा चिलाउने, आँखा रातो हुने, आँखामा घाउ हुने, आँखा पोल्ने, सुख्खा खोकी हुने, टाउको दुख्ने, स्वास फेर्न कठिनाइ हुने आदि समस्याहरू देखिन सक्छन्।
वायु प्रदुशणले ढिलो देखिने स्वास्थ्य समस्याहरू :
दम, फोक्सोको क्यान्सर, नर्भ तन्तुको क्षति, मानशिक असन्तुलन, प्रजनन स्वास्थ्यमा असर, कम तौलको बच्चा जन्मिने आदी जस्ता समस्याहरू देखिन सक्छन्।
वायु प्रदूषणलाई न्यूनीकरण गर्ने उपायहरू :
१. वायु प्रदूषणबारे जानकारी पाउने बित्तिकै सकभर घरबाहिर नजाने, जानैै परेको खण्डमा विशेष सावधानीका साथ जाने।
२. घर, संघसस्था, अस्पताल तथा सार्वजनिकस्थलहरूमा उत्पन्न भएको फोहोरमैलालाई वैैज्ञानिक तवरले छुट्याई बिसर्जन गर्ने। सकभर सड्ने किसिमका फोहोरमैलालाई नजलाइकन अन्य उपायबाट बिसर्जन गर्ने।
३. धुवा–धुँलो उत्पन्न गराउने उद्योगहरूलाई आधुनिक विधिद्वारा धुवाँरहित वा कम धुवाँ निष्काशन हुने प्रविधिको प्रयोग गर्ने।
४. पुराना यातायातका साधनहरूलाई बन्देज लगाउनुका साथै चलायमान यातायातका साधनलाई समेत राम्रो अवस्थामा राख्ने।
५. खेतबारीमा रहेका बालिनालीका डाँटहरूलाई नजलाइकन प्राङ्गारिक मल बनाउने।
६. अनावश्यक रूपमा यातायातका साधनहरूको प्रयोग नगर्ने।
७. घरमा जडान गरिएको एयर कन्डिसन अनावश्यक रूपमा नचलाउने।
८. वन, जंगल जाँदा आगलागी हुन सक्ने जोखिमपूर्ण कार्यहरू नगर्ने। र, भइरहेको छ भने यथाशीघ्र आगो निभाउने उपायहरू अपनाउने।
९. धुलोयुक्त बाटो छ भने पानीले भिजाई धुलो उड्नबाट बचाउने वा शीघ्र मर्मत गर्ने।
१०. धुवाँ–धुलो फाल्ने पुराना उपकरणहरूको प्रयोगको साटो आधुनिक विद्युतीय उपकरणमा जोड दिने।
११. समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने।
१२. प्रत्येक स्थानीय निकायमा ग्रीन बेल्टको स्थापना गर्ने।
१३. सरकारले चाहेको खण्डमा वायु प्रदूषण न्यूनीकरण गर्नका लागि कृतिम वर्षा गराउने।
वायु प्रदूषण रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या हो। यसका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाउनु आवश्यक देखिन्छ। स्थानीय, प्रदेश, विभिन्न संघ/संस्था र संघीय सरकार मिलि वायु प्रदूषण कम गर्नका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नु आवश्यक देखिन्छ। वायु प्रदूषण केवल नेपालको मात्र समस्या भने होइन। यो विश्वकै प्रमुख जनस्वास्थ्य समस्या भएकोले यसलाई न्यूनीकरण गर्नका लागि विकसित र विकासशील देश एकजुट हुनु आवश्यक छ। हावालाई प्रदूषित बनाउने ग्याँस उत्पादन गर्ने कलकारखानालाई सुधार गरि कडा नीति, नियमकासाथ लागू गर्ने हो भने वायु प्रदूषणलाई धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ। वायु प्रदूषणलाई कम गर्न सके अल्पायुमै प्रदूषित हावाको कारणले मृत्यु हुने संख्यालाई कम गर्न सकिन्छ।
-(सूर्य नारायण चौधरी, कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, विराटनगर)