जनस्वास्थ्य नीति निर्माण प्रक्रियामा जनस्वास्थ्यका व्यापक आयाम तथा ती आयामसंग सम्बन्धित अरु विविध आयाममाथि सुक्ष्म ढंगले विश्लेषण गर्दै जनस्वास्थ्यसंग सम्बन्धित विविध समस्याका विविध सम्भाव्य समाधानका उपायहरु माथि व्यापक अध्यन अनुसन्धानमा जोड दिनु पर्दछ। यस अर्थमा जनस्वास्थ्य नीति निर्माण प्रक्रियामा धेरै भन्दा धेरै विषय विज्ञको संलग्नता हुनु अपरिहार्य हुन्छ। यस आलेखको प्रमुख उदेश्य कोभिड-१९को दोश्रो लहरलाई हामीले किन ससक्त ढंगले नियन्त्रण गर्न सकिरहेका छैनौं भन्ने विषय र यसकै सेरोफेरोमाथि रहेर ससक्त बहसको सिर्जना गर्नु हो।
कोभिड-१९ एक प्रमुख सरुवा रोग हो। सरुवा रोग भन्ने बित्तिकै एक व्यक्ति अथवा प्राणीबाट अर्को व्यक्ति अथवा प्राणीमा कुनै माध्यम बाट सर्ने रोग हो। व्यक्ति व्यक्ति मिलेर समाज बन्दछ। जब कुनै रोग व्यक्ति बाट समाजमा फैलन्छ,तब उक्त रोग नियन्त्रण प्रक्रिया जटिल बन्न पुग्दछ र नियन्त्रणका लागि धेरै भन्दा धेरै साधन, श्रोत तथा विषयको ज्ञान र विषय विज्ञको आवश्यकता पर्दछ, जस्तै : स्वास्थ्यकर्मी, सरुवारोग विशेषज्ञ, सरुवारोग इपिडिएमोलोजिस्ट,स्वास्थ्य समाजशास्त्री, स्वास्थ्य मानवशास्त्री, स्वास्थ्य अर्थशास्त्री, स्वास्थ्य तथ्यांकशास्त्री, स्वास्थ्य गणितशास्त्री, स्वास्थ्य पत्रकार, स्वास्थ्य शिक्षाविद्, स्वास्थ्य व्यवस्थापन विज्ञ, स्वास्थ्य दर्सनशास्त्री, स्वास्थ्य राजनीतिशास्त्री र ती सबैलाइ संयोजन गर्ने निकाय। हाम्रो देशमा कोभिड-१९ को दोश्रो लहरको गम्भीर असर देखिन थालेको छ र यसले आगामी दिनमा धेरैनै क्षति गर्ने देखिएको छ। यो क्षति गत बर्षको भन्दा बढीनै हुने सम्भावना प्रबल छ र यसमा हाम्रै कमीकमजोरी प्रमुख कारक तत्व हो भन्नेमा दुईमत छैन।
गत एक वर्षमा सरकारले सरुवारोग नीति निर्माण प्रक्रियामा माथि उल्लेखित सबै प्रकारका विषयविज्ञलाई समेटेर नीति निर्माण गर्न सक्यो त? सम्बन्धित निकायले माथि उल्लेखित कति जना विषय बस्तुका विज्ञलाइ आफ्नो नियमित सेवामा समेट्न सक्यो? कति जनालाई तालिम दियो? यी लगायत अरु धेरै गम्भीर प्रस्नका उत्तर सरकार र सम्बन्धित निकायले गम्भीर भएर सोच्ने बेला आएको छ। सम्बन्धित निकायले गत एक वर्षमा कति जना माथि उल्लेखित विषय विज्ञ तयार पार्न सक्यो त? के गत एक वर्षको स्वदेश तथा विदेशको अनुभवलाई सरकारले ससक्त ढंगले उपयोग गर्न सकेको छ त? किन आज पनि हिजोकै प्राबिधिक,प्रसासनिक तथा व्यवस्थापकीय समस्यामा नै सरकार रुमल्लिएको छ ? प्रस्नहरु जटिल छन् र उत्तर सरकार तथा सम्बन्धित निकायले जनस्वास्थ्यको दर्सनशास्त्रीय विधिको आधारमा खोज्ने बेला आएको छ।
आज पनि छापामा उही समाचार छन् जुन गत वर्षका थिए। संस्थामा अनावश्यक कर्मचारी कटौती, तलब कटौती,कर्मचारी तथा स्वास्थ्यकर्मीको अभाव, अस्पतालमा शय्याको अभाव, अस्पतालका कर्मचारीको उही पुरानै समस्याहरु, जस्तै जोखिम भत्ता नपाएको इत्यादी। गत सालको एक प्रमुख समस्याहरु मध्ये एक समस्या थियो महामारीको बिचमा सेवा प्रदान गर्ने सम्पुर्ण पेशाकर्मीको उचित मुल्यांकन नहुनु नै यसपालि पनि दोहोरिरहेको छ। उनीहरुको मनोबल उच्च राख्ने कार्यमा सरकार, तथा सम्बन्धित सम्पूर्ण निकाय यस पालि पनी चुकिरहेको छ।बिबिध स्वास्थ्यकर्मी माथि हुने चरम भेदभाव र उनीहरुकै बिचमा हुने विरोधाभासपूर्ण सम्बन्ध अर्को डरलाग्दो समस्या हो जसको प्रतक्ष असर महामारी नियन्त्रणमा पर्ने नै छ। यस्ता समस्याहरुको समाधानकोलागि स्वास्थ्य प्रदायक संस्थाहरुले टोटल क्वालिटी मेनेजमेन्टका आधारमा समस्याका समाधान खोज्नु पर्दछ। यी तमाम समस्यालाइ नजरअन्दाज गर्दै राजनैतिक खिचातानी बढी रहेको छ। यो बेला सरकार बनाउने र ढाल्ने क्रियामा हाम्रा राजनैतिक दल कदापी लाग्नु हुदैन। यो समय सरकार परिबर्तन गर्ने समय होइन, सरकारलाइ खबरदारी गर्ने समय भने पक्कै हो। सरकारका एक एक कमी कमजोरीलाइ उदांगो पार्दै, सरकालाई बाटो देखाउने समय हो यो। यो समयमा सत्ता पक्षले पनि चुनाबीकालको झैँ आक्रमक तथा सस्ता नारा लगाउने कार्य कदापी गर्नु हुदैन। सरकार तथा प्रतिपक्षले अर्को साल यो भन्दा डरलाग्दो महामारी आउने सम्भावना छ भन्ने परिकल्पनालाइ आत्मासाथ गर्दै राजनैतिक इमान्दारिता देखाउन जरुरत छ। आफ्ना मन्त्री नियुक्त देखि कुनै पनि राजनैतिक कार्य गर्दा जनताको मनोभावनाको उच्च कदर गर्नु पर्दछ। महामारीसंग जुधीरहेका जनताको मनोभावना उच्च राख्ने कार्यमा सरकार तथा राजनैतिक पार्टी लाग्नु पर्दछ।
सरकार तथा सम्बन्धित निकाय जस्तै मन्त्रालय, विभाग, विश्वविद्यालय, अस्पतालले आफ्ना जनस्वास्थ्य नीति माथि गम्भीर भै सोच्ने बेला आएको छ र आवधिक नीति माथि सुक्ष्म ढंगले विश्लेषण गर्दै संरचनागत त्रुटी हटाउदै ति त्रुटी तथा समस्यालाई उचित सम्बोधन गर्नु पर्ने समय आएको छ। स्वास्थ्य विज्ञान पठन पाठन हुने विद्यालयले आफ्ना जनस्वास्थ तथा सामुदायीक स्वास्थ्य विभागमा अध्यापन हुँदै आएका बिषयको विस्तार तथा ति विभागमा आबद्ध प्राध्यापक,विद्यार्थी तथा अनुसन्धानकर्ताको विषयको दायरा फराकिलो बनाउनु पर्ने नीतिगत अनिवार्यता अपरिहार्य देखिएको छ। रोग तथा महामारी माथिको नियन्त्रणमा बहुआयमिक पद्धतिको विकाश तथा विकाश भइसकेका पद्धतिको प्रयोग नहुन्जेल हामीले रोग तथा महामारी माथिको नियन्त्रणमा उल्लेखनिय सफलता हासिल गर्न नसक्ने कार्य बिगतको रोग तथा महामारीको विश्वको इतिहासले प्रमाणित गरि सकेको छ र हामीले इतिहासबाट शिक्षा लिन नसकेको खण्डमा भविष्यमा पछुताउनुको विकल्प केहि पनि हुने छैन।