काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव भएको छ। संक्रमितको उपचारमा समस्या देखिने खतरा बढेपछि ट्रमाले सहयोगको अपिल गरेको छ।
ट्रमाका निमित्त निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा भर्ना भएका १०५ जना कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि रातभर अक्सिजनको खोजिमा बिताएको जानकारी दिए।
ट्रमालाई कोभिड अस्पताल बनाएपछि संक्रमितको चाप बढ्दै गएको तर अक्सिजनको कोटा भने थोरै तोकिएका कारण समस्या थपिएको उनले बताए।
‘हामीलाई दैनिक तीन सयदेखि ३५० वटा सम्म सिलिण्डर आवश्यक छ। सरकारले अस्पतालमा बिरामीको चाप नहेरी तोकिदिएको सिलिण्डरले पुग्दैन। यता सिलिण्डरको पालो कुर्दाकुर्दै बिरामीको ज्यान जाने खतरा भयो। साह्रै अप्ठेरो अवस्थामा पुगेका छौँ’ उनले भने।
उनले कोभिड अस्पताल संचालन गनुपूर्व अक्सिजन सप्लार्यससँग सम्झौता गरेको तर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा सिस्टम तोकेपछि थप समस्या भएको बताए।
‘सबैलाई एकै तरीकाले कोटा तोक्दा समस्या भयो। अहिले पनि अक्सिजनको लागि सप्लायर्सको ढोका गएर कुर्नपर्ने अवस्था छ,’ उनले भने।
उनले घरघरमा व्यक्तिहरुले जगेडा राखेको अक्सिजन निकाल्ने हो भने धेरै बिरामीलाई राहत मिल्ने पनि बताए।
उनले भने,‘हिजो अस्पतालमा अक्सिजन सकिन लागेको जानकारी बिरामीलाई गराउँदै थियौँ, ९,१० जना बिरामीका आफन्तले एकाएका सिलिण्डर बोकेर आउनु भयो।यो एउटा उहाहरण हो। घरमा अक्सिजन छ, अस्पतालमा अक्सिजन अभावमा बिरामीको ज्यान गएको छ।’
नेपालमा अक्सिजनको अभावसँगै धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने विज्ञप्ति निकालिरहेका छन्। सरकारले तोकेको कोटा प्रणाली पनि वैज्ञानिक नभएको उनीहरुको दावि छ। पछिल्लो समय संक्रमितको संख्या बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दो छ। जसका कारण मृत्यु दर पनि ह्वात्तै बढाएको छ।